Saturday 13th September 2025

‘हिमश्रृंखलाबाट बग्ने पानीलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याइने’

7 years अगाडी

पोखरा । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले नेपालका हिमश्रृंखलाबाट बग्ने पानीलाई अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्न सकिने बताएकी छिन्।
पोखरामा वितरित खानेपानीको मर्दी मुहान शुद्धीकरण परियोजनाद्वारा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं ४ सेतीमर्दी दोभानमा निर्मित शवदहन गृहको शनिबार यहाँ आयोजित हस्तान्तरण तथा वृक्षरोपण कार्यक्रममा उनले हिउँ पग्लेर बगेको सिधै पिउन सकिने पानी राम्रो मूल्यमा बिक्री गर्न सकिने बताइन्। मन्त्री मगरले संविधानको मौलिक हकमा व्यवस्था भएअनुरुप जनताको स्वच्छ खानेपानीको अधिकारलाई सुनिश्चित गर्न मन्त्रालयले कार्ययोजना बनाएर अघि बढिरहेको बताउँदै विश्वको दोस्रो जलस्रोतको धनी मुलुक नेपालमा अहिले पनि पानीको सही सदुपयोग हुन नसकेको धारणा व्यक्त गरिन्।

सो अवसरमा मन्त्री मगरले मर्दीखोलास्थित खानेपानीको मुहान निरीक्षण पनि गरेकी थिइन् थियो भने सोही स्थानमा चाँपका बिरुवासमेत रोपेकी थिइन्। परियोजनाअन्तर्गत सेती नदी र मर्दी खोलाको विभिन्न तीन स्थानमा करिब रु ३५ लाखको लागतमा निर्माण सम्पन्न गरिएका शव दाहगृह, शौचालय र प्रतिक्षालयलगायतका संरचना उपभोक्ता समितिलाई हस्तान्तरण पनि गरियो।

कूल लागतको ५० प्रतिशत पोखरा महानगरपालिका, खानेपानी संस्थानको ४० प्रतिशत र पोखरा उद्योग वाणिज्य संघको १० प्रतिशत लगानीमा सम्पन्न भएको कार्यक्रम संयोजक यदु अधिकारीले जानकारी दिए। पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले खानेपानी मुहान शुद्धीकरणको यो प्रयास सराहनीय भएको बताए। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखराको खानेपानी शुद्धीकरणका लागि प्रयास भएको बताउँदै स्वस्थ तथा स्वच्छ खानेपानी आपूर्तिका लागि सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

          August 12, 2018 11:25 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...