

श्रीमान श्रीमतीको माया यस्तो पो हुनुपर्छ ! श्रीमानको कमाएको घर खर्च श्रीमतीको आम्दनीलाई बचत !

प्रत्येक दिन बिहान ४ बजे घडीको ‘टिरिङ–टिरिङ’ आवाजले गंगालाई निद्राबाट ब्यूँझाउँछ। उनी हतारहतार उठ्छिन्, र नानीबाबुहरुलाई खाजा तयार गर्नतिर लाग्छिन्। ७ बजेभित्र बिहानको खाना तयार गरिसक्नुपर्छ उनले। सारा घरधन्दा बिहान ७ बज्न नपाउँदै सकेर उनी गाडीको चाबी लिएर बाहिर निस्कन्छिन्।अघिल्लो दिन बेलुकै तयार पारेर राखेका खुद्रा सामान बिक्रीका लागि गाडी लिएर कुश्माबजार निस्केकी उनी ९ बजे स्थानीय व्यापार सकेर घर फर्किन्छिन् र आफ्ना नानीबाबुहरुलाई खाना खुवाएर विद्यालय पठाउन भ्याउँछिन्।
फेरि ११ बजेसम्म खानपिन लगायतका काम सकेर उनी बेलुका ४ बजेसम्मका लागि घरबाट निस्किन्छिन्। गाडी लिएर छिमेकी बजारहरु पातिचौर, डिमुवा, नयाँपुल, बागलुङ, मिलनचोक र कहिलेकाहीँ बेनीसम्म सामान बिक्री गर्न पुग्छिन् उनी। पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं. ५ बाजुङ निवासी गंगा सुवेदीको दैनिकी हो यो। उनले यसरी कार्गो भ्यानको स्टेयरिङ समाउन थालेको ८ महिना बढी भइसक्यो। महिलाहरुलाई घरभित्र सीमित ठान्नेहरुका लागि गंगा एक उदाहरण बनेकी छन्। परिवारको हातमुख जोड्नैका उनी स्टेयरिङ घुमाउँछिन्। यस्तो काम गर्ने उनी जिल्लामा पहिलो महिला हुन्।
यसअघि सदरमुकाम कुश्माबजारकै एक महिलाले हाते ट्याक्टर चलाएर जीविकोपार्जन गर्दै आइरहेकी थिइन्। बिहान चुलोचौकोबाट सुरु भएको गंगाको दैनिकी बेलुकाका भाँडा मस्काउनेदेखि स्टेयरिङ घुमाउनेसम्मको कामले थकित हुन्छ।‘गाडीको यात्रा त्यसैमाथि दिनभरी बिक्री गरेका सामानको हिसाबकिताब राख्नुपर्ने भएको हुँदा मानसिक बोझ समेत प्रशस्त हुने गरेको छ,’ गंगाले भनिन्। उसो त उनका श्रीमान्ले समेत गाडीको स्टेयरिङ समाएरै उनीहरुको दैनिकी धान्दै आएका थिए। श्रीमान्ले परिवारलाई स्टेयरिङकै भरमा पालेकाले उनी समेत सोही पेसामा लाग्न प्रेरित भएको उनको भनाइ छ।
हाल दुवैले बजारका व्यापारीहरुबाट सामान उठाएर आफ्नै गाडीमा बेच्ने गर्छन्। बैंकबाट ऋण लिएर २ वटा गाडी खरिद गरेका छन् उनीहरुले। श्रीमान् अर्जुन सुवेदी श्रीमतीको कामबाट खुसी छन्। उनले श्रीमतीको साहसकै कारण आफूले ठूलो ऋण लिएर काम गर्ने हिम्मत आएको बताए। गंगाका श्रीमानले मिनी ट्रकमा सामान बेच्छन् भने गंगाले कार्गो भ्यानमा सामान बेच्छिन्।‘दिनभरी दुवैको दैनिक उही र उस्तै हुन्छ, बेलुकी म भान्छामा व्यस्त हुन्छु भने उहाँ आम्दानीको हरहिसाब राख्न व्यस्त हुनुहुन्छ,’ उनले भनिन्, ‘साहुको सामान बिक्री गर्छौँ, आएको मुनाफाबाट बैंकको ऋण तिर्ने र परिवार पाल्ने काम गरिरहेका छौं।’
गंगाको दम्पत्तीले स्टेयरिङ समाएकै भरमा हालसालै कुश्माबजारमा ओतलाग्ने घर जोहो गर्न सफल भएको छ। उनीहरुले आफ्ना छोराछोरीलाई सदरमुकामको अंग्रेजी माध्यमको स्कूलमा पढाउन पनि भ्याइरहेका छन्।‘उहाँले ड्राइभिङ गरेर कमाएको धनले सिंगो परिवार पाल्न अलिक धौ–धौ भएकाले ममा पनि केही गर्नुपर्छ भन्ने सोच पलायो। उहाँले गर्न सक्ने काम मैले किन सक्दिनँ? म आफैले आफैलाई निक्कै पटक प्रश्न गरेँ र उहाँकै बाटो पछ्याउने निधो गरेँ।’ उनले भनिन्–‘अब त दुवैको पेशा र बाटो एउटै भएको छ।’ ‘श्रीमानले कमाएको आम्दानी घरव्यवहारमा खर्चिएपनि मैले कमाएको आम्दानी बचत हुने गरेको छ। दिनभरी श्रम गरेरै भएपनि जिन्दगी जसोतसो काटिरहेकै छौँ। सँगै छौं, खुसी छौं, यसैमा दिनभरीको थकान बिर्सिएकी छु,’ उनले स्टेयरिङमा कुहिनो टेकाउँदै भनिन्।
August 30, 2018 1:46 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

