Monday 10th November 2025

नेपालीकै हत्या गरेका एक नेपालीलाई युएईमा पाँच वर्ष जेल सजाय, ब्लडमनी ६३ लाख तिर्नुपर्ने

7 years अगाडी

युएई – नेपालीकै हत्या गरेका झापाका बिष्णुप्रसाद उप्रेतीलाई यहाँको उच्च अदालतले ५ वर्ष जेल सजायसहित दुई लाख दिर्हाम अथवा झण्डै ६३ लाख रुपैयाँ ब्लडमनी तिर्नुपर्ने फैसला गरेको छ ।  नवलपरासीका रामबहादुर लामाको हत्या अभियोगमा उप्रेतीलाई यो सजाय हुने भएको हो । अदालतले बिष्णुप्रसादका परिवारले गरेको अपिल अस्वीकार गर्दै मे २०१६ मा तल्लो अदालतले गरेको फैसला नै सदर गरेको हो ।

जनवरी पहिलो हप्ता फैसला भएपनि पूर्ण पाठ भने युएईस्थित नेपाली दूतावासमा यही हप्ता मात्रै आएको युएईका लागि नेपाली कार्यवाहक राजदुत सागरप्रसाद फुयाँलले जानकारी दिनुभयो । रामबहादुरकी श्रीमती हरीमाया लामाले अदालतले गरेको फैसलाको पूर्ण पाठ माग गरेकाले अदालतसँगको समन्वयमा आइतबार कन्सुलर विभागमा पठाएको दूतावासले जनाएको छ ।

हरीमायाले श्रीमानको हत्या गर्ने बिष्णुप्रसादलाई युएईको कानुन अनुसार कारबाहीका लागि दूतावासमार्फत यहाँको अदालतमा मुद्दा गर्नुभएको थियो।

मृत्युदण्ड, ब्लडमनी  र आममाफी गरी यहाँको अदालतले हत्या अभियोग लागेका बिष्णुप्रसादलाई कारबाही गर्न तीन वटा विकल्प दिएको थियो । यी विकल्पमध्ये हरीमायाले ब्लडमनी माग्नुभएको थियो ।  अदालतले नेपाली दूतावासमार्फत विकल्पको बारेमा हरीमायासँग तीन पटकसम्म सोधेको थियो । हरीमायाले ब्लडमनीनै मागेपछि उहाँकै पक्षमा अदालतले फैसला गरेको हो ।

विष्णुप्रसादका परिवारको अनुरोध हरीमायाद्वारा अस्वीकार

बिष्णुप्रसाद जेल परेपछि उहाँका बुवा धर्मानन्दले नवलपरासी पुगेर हरीमायासँग माफी दिन बिन्ती गर्नु भएको थियो । तर हरीमायाले धर्मानन्दको बिन्ती भन्दा पनि छोराछोरीका लागि सोचेर ब्लडमनीको माग राखेको बताउनुभयो । ‘पैसा नलिउँ भने आमाले पैसा लिएको भए काम लाग्थ्यो भन्लान छोरीहरुले, बुवा मानेलाई आमाले यसै छाडी भन्लान्,’ हरीमायाले भन्नुभयो । उहाँका दुई छोरीहरु १४ र १२ वर्षका छन् ।

उता जेलमा रहेका बिष्णुप्रसादको परिवारको अवस्था पनि उस्तै छ ।  श्रीमतीसगै १४ वर्षे छोरा र ५ वर्षकी छोरी छन् । बुवा धर्मानन्द मुटुको र आमा मिर्गौला रोगी छन् । आम्दानीको स्रोत छैन । कतै जाँनुपर्दा पनि ऋण खोज्नुपर्ने अवस्था रहेको बिष्णुप्रसादका बुवाले बताउनुभयो ।

दुवै परिवारको विचल्ली

रामबहादुर पहिलोपटक २०५४ सालमा विदेश जानु भएको हो । साउदी र कतारमा काम गरेर फर्किनु भएका रामबहादुरको युएईबाट फर्किएर विदेश नजाने योजना थियो ।

२०६० सालमा रामबहादुरको परिवार देवचुली सरेका थिए । घरको छेउमा १० कट्ठा खेत जोडेर राख्नुभएको थियो । परदेशमा कमाएको पैसाले रामबहादुरलाई विशालटारमा खेत किन्न मन भएपनि हरीमायाले घडेरी किनाैं भनेपछि देवचुलीमा घडेरी किनेका थिए ।

२०६० सालमा एक तले घर बनाए । त्यही एकतले घरमा १० वर्ष बित्यो । छुट्टिमा घर फर्किएर २०७० सालमा युएई आएका रामबहादुरको त्यसपछी राम्रो कमाइ भयो । महिनैपिच्छे ५० हजार देखी एक लाख रुपैयाँसम्म पठाउन थाल्नुभएको थियो ।

रामबहादुरको हत्या गरेको आरोपमा बिष्णुप्रसाद उप्रेती जेल परेपछि श्रीमती उमा उप्रेतीको पनि विचल्ली भएको छ ।

त्यसअघि छुट्टै बस्दै आएकी उमा अहिले सासुससुरासँग बस्न थालनुभएको छ । नवलपरासीका रामबहादुरलाई मारेको आरोपमा बिष्णुप्रसाद जेल परेको खबर आए सँगै उप्रेतीको परिवार शोकमा छ । भएको १५ कट्ठा जग्गामा पनि विरिङ्ग खोला पसेपछि बगर बनेको छ ।

परिवार विदेशको कमाइमा चलिरहेको थियो । पहिले साउदी बसेर फर्किएका बिष्णुप्रसाद २०७० सालमा युएई आएका हुन् ।

कसरी भयो हत्या ?

नवलपरासीका रामबहादुर लामा २०७२ साउन २२ गते राति आबुधाबी मदिनाजायाद ग्यास्को क्याम्पमा मारिएका थिए । त्यस क्याम्प भित्र अहिले पनि १० हजार नेपाली काम गर्छन । रामबहादुर र बिष्णुसँग एउटै कम्पनीमा काम गर्ने साथीहरु अहिले पनि त्यो घटना सम्झेर झसङ्ग हुन्छन् । स्याङ्जाका राजु विश्वकर्माका अनुसार काम गर्ने, एउटै भान्सामा खाना खाने साथी हुन रामबहादुर र बिष्णु । कम्पनीले नै खाना दिने भएकाले पकाउनु पर्दैनथ्यो ।

शुक्रबार छुट्टि भएकाले बिहीबार बेलुकी आफ्नै हातले पकाएको खाने भनेर कोठामा खाना पकाउने चलन थियो । हप्तामा एक दिन हुने छुट्टिमा रमाइलो गरौं भनेर सबैले आफ्नै कोठामा खाना पकाउँथे । बिष्णु र रामबहादुरले मात्र हैन सबैले त्यसै गर्थे । साथीहरुका अनुसार तर त्यो दिन मासु र भातसँगै कोठामा रक्सी पनि छिराएका रहेछन् विष्णु र रामबहादुरले । कोठामै रक्सी खाएर सामान्य विषयमा झगडा भएछ । पछि झगडाले उग्र रुप लियो । त्यसैबेला बिष्णुप्रसादले रामबहादुरलाई चक्कुले हाने । तत्काल मदिनाजायद अस्पताल लगियो । तर रामबहादुर बाँचेनन् ।

          September 11, 2018 6:50 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...