Friday 12th September 2025

राष्ट्रकवि घिमिरे १०० वर्ष प्रवेश राष्ट्रपति निवासमै पुगिन् जन्मदिनको शुभकामना दिन

7 years अगाडी

काठमाडौँ।  राष्ट्रपति विद्यादेवी भण्डारीले १०० वर्ष प्रवेश गरेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लैनचौरस्थित घिमिरे निवासमा अाइतबार बिहान पुगेर जन्मदिनको शुभकामना दिएकी हुन्। राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिएकी थिइन्।  विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका कविवर घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हुन्।

घिमिरे आइतबार शताब्दी एक सय वर्षमा प्रवेश गरेका छन्। बेलाबेलामा अस्वस्थ्य भए पनि उपचारपछि हाल उनी यो उमेरमा पनि साहित्यिक कर्ममा आफूलाई सामेल गराइरहेका छन्। यतिबेला उनी पछिल्लो महाकाव्य ‘ऋतम्भरा’लाई बिट मार्ने तयारीमा पनि छन्।राष्ट्रिकवि घिमिरेले विसं २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधी र २०७४ मा नेपाली सेनाबाट मानार्थ सहायक रथीको उपाधिलगायत विभिन्न राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेका छन्।

मस्र्याङ्दी वाड्यमय प्रतिष्ठानले यो वर्षभरि जन्म शताब्दी मनाउन उनको दम्पतीसहित रथारोहण र राष्ट्रियस्तरको अभिनन्दनलगायतका कार्यक्रम तय गरेको छ। यही असोज २१ गते काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने सो कार्यक्रमका लागि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्रा डा वासुदेव त्रिपाठीको संयोजकत्वमा समिति गठन गरिएको छ।प्रतिष्ठानका अध्यक्ष डा मुकुन्द पथिकका अनुसार राष्ट्रकविको जन्म शताब्दीका अवसरमा देशभरका विद्यालय र कलेजमा कविता प्रतियोगिता गरी पुरस्कृत गरी साथै उनको जन्मस्थान पुस्तुन र लमजुङको सदरमुकाम बेँसीशहरमा सांस्कृतिक कार्यक्रमसहित सम्मान गरिनेछ।

राष्ट्रिकवि घिमिरेको नाममा हुलाक टिकट प्रकाशन, अभिनन्दन ग्रन्थ प्रकाशन, मातृभाषाबारे विचारगोष्ठी, कविता महोत्सव, वृत्तचित्र निर्माणका योजना पनि प्रतिष्ठानले अघि सारेको छ। राष्ट्रकवि घिमिरे प्रमुख संरक्षक रहनुभएको प्रतिष्ठानले लमजुङ हिमाल हिमालचुलीलाई राष्ट्रकविको नाममा नामकरण गर्न, काठमाडौँ वा लमजुङमा उनको प्रतिमा स्थापना गर्न पहल गरिरहेको छ।

पृथ्वीराजमार्गको डुम्रेदेखि मनाङसम्मको सडकलाई राष्ट्रकविको नाममा नामाकरण गर्न पनि प्रतिष्ठानले नेपाल सरकारसँग माग गरेको छ। संस्थाले घिमिरेको जन्मस्थान लमजुङको भीरपुस्तुन बाहुनडाँडामा राष्ट्रियस्तरको सङ्ग्रहालय निर्माणको योजना पनि अघि सारेको छ भने कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थान कास्कीको अर्चलेबाट आदिकवि भानुभक्तको जन्मस्थान तनहुँ चुँदी हुँदै राष्ट्रकविको जन्मस्थान पुस्तुन बाहुनडाँडासम्मलाई साहित्यिक पर्यटनका रूपमा विकास गराउने घोषणा गरेको छ।

पुस्तुनमा विसं १९७६ असोज ७ गते पिता गौरीशङ्कर र माता द्रौपदीका कोखका जेठा सन्तान घिमिरेकी अर्धाङ्गिनी महाकाली घिमिरे पनि यही असोज १२ गते चौरासी वर्षमा प्रवेश गर्दै छिन्। कविवरको शताब्दी वर्ष र महाकालीको ८४ वर्ष प्रवेशको सुखद् अवसरमा उनको परिवारले आइतबार लैनचौरमा सहस्र चन्द्रर्शनसहित पारिवारिक र शुभेच्छुकसँगको जमघट कार्यक्रम तय गरिएको छ।

घिमिरेको जेठी श्रीमती गौरीको विसं २००४ मा निधनपछि उनले रचेकाे ‘गौरी’ शोककाव्य र अन्य दर्जनौँ काव्य, गीतिनाटक, कथा, यात्रा संस्मरण र अनुवाद विधामा उनका कृतिहरू लोकप्रिय मानिन्छन्। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीले ‘गौरी’ खण्डकाव्य हालै कोरियाली भाषामा अनुवाद भई जन्म शताब्दीका अवसरमा उपहार हुन पुगेको बताउँदै कोरियाका पाठकहरूले उक्त खण्डकाव्य पढेपछि भावुक हुँदै प्रतिक्रिया दिन थालेको बताए।

          September 23, 2018 11:04 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...