Wednesday 4th December 2024

तिहार ढीलो आएकाले सयपत्री झर्न थाल्यो, भारतबाट ४ लाख माला भित्रिँदै

6 years अगाडी

११ कात्तिक, काठमाडौं । नयाँ बानेश्वर थापागाउँकी उर्मिला पौडेल घरको कौशीमा फूल स्याहार्दै गरेको अवस्थामा भेटिइन् । भाइटीकाका लागि भनेर गमलामा रोपेको सयपत्री फुलेर झर्न थालेपछि उनी चिन्तित देखिन्थिन् ।‘अरु वर्षमा जस्तै असारको अन्तिमतिर रोपेको थिएँ, भाइटीका आएकै छैन, फूल फुलेर झर्न थालिसक्यो, अब भाइलाई बजारकै माला लगाइदिने त होला नि ?’ उनले भनिन् ।काठमाडौंको घट्टेकुलोमा बस्दै आएकी पाँचथर फिदिमकी समीक्षा कट्टेलको व्यथा पनि उस्तै छ । घरबेटीलाई मनाएर उनले कौशीमा सयपत्री रोपेकी छिन् । तर, भाइटीका नआउँदै सयपत्री फूल झर्न थालेपछि उनको मन कुँडिएको छ ।

उर्मिला र समीक्षाजस्तै आफ्नै घरको आँगन, कौशी, आसपासमा दाजुभाइलाई माला लगाइदिन फूल रोप्नेहरु यतिबेला मर्कामा परेका छन् । बजारमा किनेको फूलभन्दा दाजुभाइका लागि आफैले रोपेको फूलको माला लगाइदिन रुचाउनेहरु अन्ततः बजारको ‘रेडिमेड’ र कृत्रिम माला किन्न बाध्य बन्ने गुनासो पोख्छन् ।यस वर्षको भाइटीका केही ढिला परेकाले अघिल्लो वर्षकै समयमा फूल रोप्नेहरु समस्यामा परेका हुन् । पात्रो हेरेर फूल नरोप्नेहरु समस्यामा परेका छन् । सामान्यतः असारको अन्तिमतिर फूल रोप्ने गरिन्छ । तर, यसपालिको भाइटीका अघिल्लो वर्षको भन्दा १९ दिन ढिला भएकाले सयपत्री फुलेर पनि झर्न थालेको छ त्यसो त, शहरमा ठाउँ अभाव हुँदा र व्यस्त दैनिकीले आफैले दुःख गरेर फूल रोप्नुको सट्टा बजारे फूलले नै धेरै तिहारको गर्जो टार्ने गरेको छ ।फ्लोचिकल्चर एशोसिएनसन अन्तर्गतको कट फ्लावर ग्रोवर उपसमितिकी सचिव एवं पुष्प व्यवसायी सुशीला कठायतका अनुसार पात्रो नहेरी व्यवसायिक फूल खेती नगर्ने कतिपय व्यवसायी फूल झर्न थालेपछि चिन्तित छन् ।तर, अभ्यस्त व्यवसायीले भने तिथि हेरेरै तिहारलक्षित फूल खेती गर्ने गरेको उनी बताउँछिन् ।

भारतबाट चार लाख माला : तिहारमा एक करोडको फूल कारोबार हुने गरेकोमा ३० देखि ३५ लाखको माला भारतबाट आउँछ । ९० प्रतिशत आन्तरिक उत्पादनले धाने पनि तिहारमा माग ह्वात्तै बढ्न भएकाले १० प्रतिशत भारतीय बजारबाट ल्याउनै पर्ने बाध्यता छ ।व्यवसायीका अनुसार यसवर्ष मखमली र गोदावरीको फूलको माला आन्तरिक उत्पादनले धान्ने भएकाले नपुगेको सयपत्रीको माला भारतबाट आयात हुनेछ ।काठमाडौं उपत्यकाका हकमा मात्रै तिहारमा १० लाख माला आवश्यक पर्ने फ्लोरीकल्चर एशोसिएनका बरिष्ठ उपाध्यक्ष मीनबहादुर तामाङको भनाइ छ । उपत्यकामा यमपञ्चकको लक्ष्मी पुजाको दिन सबभन्दा बढी माला खपत हुने गरेको उनी बताउँछन् ।

‘काठमाडौंलाई चाहिने १० लाख मध्ये ६ लाख आन्तरिक माला हुन्छ, नपुगेको ४ लाख भारतबाट आउँछ’, उनले भने ।काठमाडौंबाहेक तिहारका बेला पोखरामा पनि मालाको माग धेरै हुने गरेको उनी बताउँछन् । घरमा रोप्नेहरुको सयपत्री फुलेर ढकमक्क भई ओइलिएर झर्न थालेकाले माग पूर्तिका लागि आयात बढाउनुपर्ने अवस्था आउने उनले बताए ।गाउँघरतिर अहिले पनि तिहारका लागि अाफैंले फूल रोप्ने चलन छ । ठाउँ भएका शहरका बासिन्दाले पनि आफूलाई चाहिने जति फूल रोप्ने गर्छन् ।

तर, बजारको मालामा निर्भर रहँदै आएका उपभोक्ताको संख्या ठूलो हुँदा माग पनि बढ्न जान्छ ।मुलुकको कुल खपतलाई हेर्ने हो भने यसवर्ष मालाको खपत पनि केही बढ्ने व्यवसायी बताउँछन् । यसवर्ष अघिल्लो वर्ष २ लाख बढी माला खपत हुने एशोसिएसनका बरिष्ठ उपाध्यक्ष तामाङ बताउँछन् । अघिल्लो वर्ष १५ लाख माला खपत भएको थियो ।सामान्यतः एउटा माला उत्पादन गर्न २५ लाग्ने व्यवसायीको दाबी छ । यस हिसाबले होलसेलमा ४० देखि ५० रुपैयाँ पर्न जाने बरिष्ठ उपाध्यक्ष तामाङको भनाइ छ ।

तर, खुद्रा व्यापारीले तिहारका बेला मालामा मनपरी मूल्य तोक्ने गरेका छन् । अघिल्लो वर्षको बजार हेर्ने हो भने व्यापारीले तिहारका बेला एउटै मालाको १५० देखि २५० रुपैयाँसम्म लिने गरेका छन् ।तिहारको मालाका लागि सयपत्री र मखमली धेरैको रोजाइमा पर्छ । यी दुईबाहेक गोदावरी फूलको पनि माला उन्ने गरिन्छ ।मखमली र गोदावरी उही समयमा फुले पनि सयपत्रीजस्तो चाँडै झरिहाल्दैन । मखमली फूल कहिले नओइलिने भए पनि भाइटीकाका लागि विशेष गरी सयपत्री नै रोप्नेहरु पनि छन् । तर, सयपत्री जोगाउनै मुश्किल पर्न थालेको छ ।

          October 28, 2018 12:14 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...