Tuesday 30th April 2024

तातोपानीको मितेरी पुलको निर्माणकार्य शुरु

5 years अगाडी

चौतारा। विसं २०७२ को भूकम्प र २०७३ असारको बाढी तथा सुख्खा पहिरोले क्षतिग्रस्त नेपाल–चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानीस्थित भोटेकोशी नदीको मितेरी पुलको निर्माणकार्य शुरु भएको छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा साविकै स्थानबाट पुल निर्माणको काम शुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए।

चीनको सरकारी निर्माण कम्पनी टाइन सुन रोड एण्ड ब्रिज कम्पनीले निर्माणकार्य थालनी गरेको सो पुलको २०७६ जेठको दोस्रो सातामा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ। भूकम्पले क्षति पुर्याएको पुलमाथि राखिएको बेलिब्रिजको सामान हटाउने काम भइरहेको र कामदार सबै चिनियाँ रहेको भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए।

बाह्रविसे–तातोपानी २९ किमी सडकखण्ड र लार्चास्थित सुख्खा बन्दरगाहको काम चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी फोर्टिन ब्यूरोले गरिरहेको छ । उक्त दुवै काम पनि आगामी जेठको दोस्रो साता अर्थात् मे २०१९ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । साविक आठ मिटर चौडाइलाई बढाएर सडक तथा पुललाई अब १२ मिटर चौडाइमा विस्तार गरिने भएको छ। सडक र पुलको काम शुरु भएसँगै साढे तीन वर्षदेखि बन्द तातोपानी नाका चाँडै खुल्ने सङ्केत मिलेको छ।

तातोपानी र रसुवागढीको सीमा पुल बनाइ दिने चीन सरकारको प्रस्तावलाई २०७५ जेठ २७ गतेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । चीन सरकारले सन् १९६० मा कोदारी–काठमाडौँ ११४ किमी सडक बनाइदिने सम्झौताअनुसार निर्मित मितेरी पुललाई २०३८ सालको बाढीले बगाएपछि चीनकै सहयोगमा सो पुलको साथै झिर्पू पुलसमेत पुनःनिर्माण भएको थियो।

          December 6, 2018 12:56 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...