Sunday 19th May 2024

बाघसँग २ मिनेट पौंठेजोरी

5 years अगाडी

बर्दिया — ‘खेतबाट आइतबार साँझ साढे ५ बजे डोको बोकेर घर फर्कंदा बाघले एक्कासि आक्रमण गर्‍यो । रित्तो डोको भएकाले तत्काल बाघको मुखमा पसाउने प्रयास गर्दागर्दै पञ्जाले टाउको र पिठ्युँमा हिर्कायो ।’बढैयाताल गाउँपालिका २, सीतापुरका ३५ वर्षीय विजय बुढाक्षत्रीले बाघसँग प्रतिकार गरी जीवन जोगाउँदाको अनुभव सुनाए । तर, त्यही बाघकै आक्रमणमा परेर अर्का ७१ वर्षीय चन्द्रबहादुर शाहीले ज्यान गुमाए ।

उनले झन्डै २ मिनेट बाघसँग आमनेसामने भएर प्रतिकार गरे । बाघको आक्रमणबाट उनी घाइते छन् । ‘डोको नभए ज्यान जाने थियो,’ उनले भने । पहिलोपटक बाघ देखेको र आक्रमणमा पनि परेको उनले सुनाए । उनी नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचारपछि घर फर्केका छन् । बाघको आक्रमणबाट दाहिने पाखुरा, टाउको र ढाडमा चोट लागेको छ ।

उनी घाइते भएको झन्डै आधा घण्टापछि शाहीलाई पनि बाघले आक्रमण गर्‍यो । उनलाई बारीमा मकै रोप्दै गर्दा आक्रमण गरेको थियो । पाटोको छेउमा गहुँबारीमा बसेको बाघलाई माटोले हानेपछि आक्रमण गरेको शाहीका आफ्न्तफत्तबहादुर शाहीले बताए । चन्द्रबहादुरको टाउको र ढाडमा आक्रमण गरेको थियो ।

उनको उपचारका क्रममा नेपालगन्ज शिक्षण अस्पतालमा आइतबार राति मृत्यु भएको थियो । ‘गाउँले आएर हल्ला गरेपछि बल्ल भाग्यो,’ फत्तबहादुरले सुनाए, ‘नभए अझै कति समय आक्रमण गरिरहन्थ्यो ।’

शाहीका पत्नी, ४ छोरा र १ छोरी छन् । बाघ आक्रमणमा मृत्यु भएकाको शव सोमबार अबेरसम्म घर ल्याइएको छैन । शव परीक्षण र मुचुल्का गरी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । बाघले खेतमा पुगेका आधा दर्जन बढी स्थानीय किसानलाई आक्रमणको प्रयास गरेको सीतापुर २ का जीवन गिरीले बताए । ‘म पनि खेतमा बाघ हेर्न गएको थिएँ,’ उनले भने, ‘बाघले झम्टने प्रयास गर्‍यो जेनतेन फुत्केर भागें । बाघले सुमन बस्नेतलाई पिछा गरेको थियो । उनी भागेर जोगिए । घना बस्तीबीच बाघ आएपछि हेर्न गाउँले ठूलो संख्यामा गहुँबारीमा पुगेका थिए ।

स्थानीयका अनुसार बस्तीनजिक रहेको सिमल सल्ला र सीमावर्ती बाँकेस्थित हरित सिजन सामुदायिक वन भएकाले त्यहाँबाट बाघ आएको अनुमान गरिएको छ । भारतीय सीमावर्ती कतर्नियाघाट वन्यजन्तु आरक्षबाट बाघ आएको आशंका पनि भएको छ । घटनालगतै प्रहरी र सशस्त्र प्रहरी बलले बाघ भएको स्थानमा सुरक्षा दिएका छन् ।

प्रहरीले राति घरबाट बाहिर ननिस्कन सर्वसाधरणलाई माइकिङ गर्दै आग्रह गरिरहेको छ । सीतापुर लगायत आसपासका गाउँ बाघको त्रासले सुनसान छ । अझै पनि डर त्रास रहेको स्थानीय महेन्द्र रेग्मीले बताए । बाघसँग डमरु पनि भएकाले आक्रमण गरेको हुन सक्ने स्थानीयको भनाइ छ ।

          February 6, 2019 12:09 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...