Monday 25th November 2024

चीनको बीआरआईबाट क–कसलाई फाइदा हुनेछ ?

6 years अगाडी

एजेन्सी । यो साता चीनमा आयोजना भएको ‘बेल्ड एण्ड रोड इनिसिएटिभ’ सम्बन्धी एक महत्त्वपूर्ण सम्मेलनमा, चीनको प्रमुख ध्यान त्यसमाथि रहेका आशंका निवारण गर्ने थियो ।परियोजनालाई लिएर रहेका चिन्तालाई सम्बोधन गर्ने प्रयास गर्दै राष्ट्रपति सीले अन्तराष्ट्रिय सहकार्य र दीगो पूर्वाधारको फाइदाबारे बताए ।‘बेल्ट एण्ड रोड इनिसिएटिभ’को दोस्रो शिखर सम्मेलनको आकार र आयातनबाट चीनले यो योजना कति महत्त्व दिएको छ भन्ने देखाउँछ । मुख्य सम्मेलनको र त्यसको साइडमा भएका सयौँ भेटघाट र उत्तिकै संख्याका सम्झौतामा सीले बारम्बार ‘उच्चस्तरीय, दीगो, जोखिममुक्त, उचित मूल्य र समावेशी पूर्वाधार’ निर्माणपछाडि असल नियत कुरामा जोड दिए ।

उनले बीआरआई चीनको प्रभाव र रकम बढाउने औजार हो भन्ने डर गलत भएको पनि बताए । सम्मेलनमा भाग लिन आएका विश्व नेताको गोलमेच बैठक तथा पत्रकार भेटवार्तामा सी उही कुरा दोहो¥याए ।सीले सम्मेलनको समयमा कुल ६४ अर्ब अमेरिकी डलर बराबरको सम्झौता भएको बताए । तर उनले कुन राष्ट्रसँग कति रकमको सम्झौता भयो भन्नेबारेमा केही बताएनन् ।सन् २०१३ मा सुरु गरिएको सो पहदकदमी समय सान्दर्भिक भएको र यसप्रति व्यापक समर्थन रहेको कुरामा उनले धेरै पटक जोड दिए ।

‘ऋण पासो’बारे चिन्ता

‘योजना सुरु भएको ६ वर्ष मात्र भयो । यो जस्तो दीर्घकालिन कार्यक्रमको लागि यो सुरुवाती चरण हो,’ हारवार्ड विश्वविद्यालयमा रुस र चीनको अर्थ–राजनीतिका प्राद्यापक ब्रुनो सर्गेले भने ।आजको दिनसम्म, बीआरआई अन्तर्गतका विभिन्न परियोजनामा ९० अर्ब अमेरिकी डलर लगानी भइसक्यो । तर थप सयौँ अर्ब अमेरिकी डलर अस्पष्ट ढङ्गमा प्रतिबद्धता भइसकेका छन् । यी सबै पुँजी लगानी हुन वर्षौँ लाग्नेछ ।

सुरुदेखि यस योजनाले धेरैको ध्यान तान्यो । यस योजनामा १२५ देशले हस्ताक्षर पनि गरिसकेका छन् । मार्चमा यस योजनामा हस्ताक्षर गरेर इटाली बीआरआईमा सहभागी हुने प्रमुख युरोपेली अर्थतन्त्र बन्यो । युरोपको चौथो ठूलो अर्थतन्त्र भएको राष्ट्र चिनियाँ योजनामा सहभागी हुनुलाई चीनको लागि ठूलो सफलताको रुपमा हेरिएको छ ।

तर पछिल्ला वर्षमा योजनाको आलोचना पनि बढेको छ । केही देश चीनले ‘ऋण जालो’मा धकेलिरहेको छ कि भनेर चिन्तित छन् । केही प्राज्ञले यस योजनामा ‘नव–औपनिवेशिक चरित्र’ रहेको भन्दै तिनका चिन्तालाई बल दिइरहेका छन् । बीआरआई अन्तर्गत परियोजनाहरुमा व्यापक भ्रष्ट्रचारका खबरबीच मलेसियाले परियोजनानै रद्द गर्यो । ऋण पासो कुटनीतिको डरलाई उल्लेख गर्दै टर्की यस योजनाबाट पन्छियो । बीआर परियोजना रहेको मोन्टेनेग्रोको राष्ट्रिय ऋणमा उलेख्य वृद्धि भयो ।

सीले सम्मेलनमार्फत यीनै चिन्तालाई सम्बोधन गर्ने प्रयास गरे । उनले सम्मेलनमा बारम्बार परियोजनाहरुका वातावरणीय र वित्तिय दीगोपन सुनिश्चितता गरिने प्रतिबद्धता जाहेर गरे ।तर, ‘बीआरआई’ यही नै हो र यसका फाइदा यी–यी हुन् भनेर यकिन गर्न अझै कठिन छ । योजनाले समेटेको व्यापक परियाजनाले गर्दा यस्तो अवस्था सिर्जना भएको हो ।

सम्मेलनमा सीले बीआरआईलाई ‘मानवताले सामना गरिरहेको चुनौती र जोखिम विरुद्ध’को सम्पर्क र सहकार्य भने । उनका अनुसार यसले विश्वव्यापी आर्थिक वृद्धि, अन्तराष्ट्रिय व्यापार र लगानी, शासन, बहुपक्षिय सहयोग, हरित विकास र नविन आविष्कारलाई सघाउनेछ ।दीर्घकालिन दृष्टिकोण बीआरआई सुरुमा पूर्वाधारको लागि लगानी र दाता कार्यक्रमको रुपमा सुरु भएको थियो । तर अहिले बीआरआई चीनले विदेशमा गरिरहेका सबै लगानीलाई जोड्ने साझा कार्यक्रमको रुपमा विकास भएको छ । यसले गर्दा यसमा चीनको आर्थिक, राजनीतिक र सैन्य कार्यक्रमबीच रहेका विभाजन रेखा मेटिँदै गएको छ ।

‘समयसँगै बीआरआई चीनका सबै कार्यक्रमको एकमुष्ट नाम भएको छ ,’ बीआरई परियोजनालाई सुरुदेखि पछ्याइरहेका युनिभर्सिटी अफ टेक्सास–अस्टिनका सह–प्रद्यापक तथा चीन विज्ञ जोशुआ आइसेम्यानले भने, ‘त्यसैले जब मानिस ‘बीआरआईले काम गर्छ त ?’ भनेर सोध्छन् तिनले खासमा ‘के सी जिनपिङको विदेश नीतिले काम गर्छ ?’ भनेर सोधिरहेका हुन्छन् ।’

तथापि चीनले उदाउँदो राष्ट्रमा रहेको लगानीको खाडललाई पुर्ने काम भने गरिरहेको छ । केही सन्दर्भमा ती राष्ट्रले आफूले लिएका ऋण धान्न नसक्ने अवस्था आउन सक्छ तर केही वर्षसम्म अरु ठूला अर्थतन्त्र यो खाडल भर्ने पक्षमा नरहेकाले पैसा लिने विकल्प कठिन छ । ‘जब मानिससँग पैसा लिने कि नलिने दुई विकल्प बाँकी रहन्छन् तब मानिसले सधैं पैसा लिने विकल्प रोज्छन्,’ आईजेनम्यानले भने ।‘यसका सम्पूर्ण फाइदा–बेफाइदाका बावजुद बीआरआई नयाँ खालको राष्ट्रिय उद्यमशीलता विकास गर्न प्रयोग हुनसक्छ ,’सर्गेले भने ।तर विज्ञले यो योजना सफल हुनको लागि चीनमात्रै प्रभावकारी भएर नहुने योसँग जोडिएका सबै पक्ष नै प्रभावशाली हुनुपर्ने सुझाव दिएका छन् ।

          April 28, 2019 12:27 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...