Sunday 12th May 2024

के बाबुरामलाई मात्रै बोल्नुपर्छ ?

5 years अगाडी

सामान्य गोठाले पारिवारिक वातावरणमा हुर्केका मान्छे हुन डा. बाबुराम भट्टराई । उनले स्कुल जीवनमा जहिले पनि अग्रस्थानमा रहे र सफलता पाए । एसएलसीमा बोर्ड फस्ट भएपछि बाबुरामबारे एउटा भनाई नै बन्यो, ‘बाबुराम नेभर सेकन्ड । त्यसैले म पनि एक विषेश अस्तित्व बोकेको नेपाली नागरिक हुँ भन्ने चेतना स्थापित गराउने, सम्भ्रान्त वर्गको बीचमा आफ्नो अधिकार प्राप्तिको लागि निडर भएर प्रस्तुत हुन प्रतिनिधित्वको भूमिका निर्वाह गर्ने ब्यक्ति भएर नै म बाबुरामको सबैभन्दा ठूलो प्रशंसक हुँ ।

बाबुराम हिजोका उत्पीडित समुदाय मधेसी, जनजाति, दलित, महिला, मुस्लिम, सांस्कृतिक तथा भाषिक आन्दोलनका प्रमुख अभियन्ताको हैसियतले राष्ट्रिय/अन्तराष्ट्रिय प्रतिकुलता र भ्रमहरुलाई छिचोल्दै अत्यन्त सुझ-बुझपूर्ण र साहसिक निर्णय गर्दै देशको सबैभन्दा ठूलो कार्यकारी पद प्रधानमन्त्री भइसकेको मान्छे बाबुराम तुलनात्मकरूपमा अरु भन्दा एक कदम अगाडि छन् ।

मार्क्सवादी दर्शनका अध्येता बाबुराम भौतिकवादी दार्शनिकले चेतना भौतिक जगतबाट पैदा हुन्छ भने द्वन्द्ववादी दार्शनिक चेतनाले चेतना–वस्तु निरन्तर गतिशील हुन्छ र आफैँभित्रका विपरीत घर्षणले एकले अर्कालाई निषेध र रूपान्तरण गर्दै नयाँ-नयाँ चेतना–वस्तु पैदा हुँदै जान्छ ।
सामूहिकरूपमा उत्पादन प्रणालीलाई फेरेपछि व्यक्ति, समाज पनि फेरिन्छ भन्ने मार्क्सको सिद्धान्तको मूल पक्ष ग्रहण गर्दै सामाजिक वर्गबीचको संघर्षले समाज रूपान्तरित हुँदै समाजवाद/साम्यवादमा पुगिन्छ भन्ने मार्गदर्शन लिएर हिंडेको व्यक्ति बाबुराम ।

हिजो/आज पनि बाबुरामले जातिय राज्यको कुरा गरे भनी गलत प्रचार गरिँदैछ । राज्य पुनर्संरचना समिति र आयोगको प्रतिवेदन जातिय नभएर भाषिक र सांस्कृतिक हो भनेर बुझाउन नसस्क्दा, जनताको प्रत्यक्ष लोकतान्त्रिक अधिकारको मुद्दा, उत्पीडित जाति, क्षेत्र, लिङ्गसहितको समावेशी समानुपातिक प्रतिनिधित्व र सुशासन र सदाचार अनि इन्द्रधनुषी राष्ट्रिता, यिनै मुद्दामा अडिग देखिन्छन् बाबुराम ।

हिजो/आज पनि जनजातिलाई हप्काउँदा सबै चुप लागे बाबुराम बोलिरहेका छन् । मधेसीलाई उपहास गर्दा पहाडीले खुसी मनाए, एक्लै बाबुराम बोलिरहेका देखिन्छन् । आदिवासीलाई होच्याउदा दलित चुप लागे बाबुराम बोलिरहेका छन् । दलितलाई हेप्दा अरू चुप लागे उनी अगाडि सरेर बोलिरहेका देखिन्छन् । संघीयतालाई बुख्याँचा बनाएर उभ्याउँदा कथित राष्ट्रवादीले दिपावाली मनाउँदा, बाबुरामले अन्धकार महसुस गरिरहेका छन् ! आज जब महिलाको अधिकार खोसिँदैछ, अब को बोल्ने ? बाबुराम !!आदिवासी जनजातिका मधेसी थारूको अधिकार खोसिँदा को बोल्यो ? बाबुराम !प्रधानमन्त्री जति–जति अधिनायकवादीको रवाफमा उत्रिँदै जान्छन्, समृद्धिको मार्ग दर्शन देखाउने कसले ? अगाडि आउँछन् बाबुराम !

एउटा भनाई छ नि- गोरु अगाडि कि गाडा अगाडि भनेर । गोरु अगाडि भयो भनेर गाडालाई पछाडिबाट तान्छ, गाडा अगाडि भयो भने चाहिँ गोरुलाई तान्न सक्दैन । माओवादी आन्दोलन भनेको चाहिँ हिजोको कांग्रेस र एमालेभन्दा अगाडि बढेको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीताका मुद्दालाई लिएर बनेको पछिल्लो शक्ति हो । समाजका अन्तरविरोधहरू आकाशबाट झरेका थिएनन् । माओवादीले बाटैमा छाडेको संघीयताको मुद्दालाई मधेसी जनताको बलिदानले अन्तरिम संविधानमा लेखाएको यथार्थ प्रमाण छ । उक्त बिषयको लागि बाबुरामको अग्रणी भूमिका छ परिवर्तनका दस्तावेजमा हस्ताक्षर जसको भएपनि इतिहासले सिकाएको पाठ हो । अहिले बाबुरामको मार्गदर्शन अङ्गालेको समाजवादी पार्टी माओवादीले अघि सारेको मुद्दालाई कार्यान्वयन गर्दै समृद्धिको यात्रामा अग्रसर देखाउने छ ।

लामो संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछिको पहिलो निर्वाचनबाट बनेको सरकारले आगामी केही दशकसम्मका निम्ति देशलाई स्पष्ट दिशा दिन सक्ने कदम चाल्नु पर्ने, संविधानका मूल प्रावधानलाई कार्यान्वयन गर्न महत्त्वपूर्ण भूमिकालगायतका विषयमा जनताको अपेक्षा गर्नु स्वाभाविक थियो । तर, वैचारिक राजनीतिक दिशा र संविधान कार्यान्वयनको प्रश्नमा नेपाल कम्युनिस्ट पार्टी र स्वयम् सरकार दिशाहीन र असक्षमतातर्फ लागेको त होइन ? सोचौं ।

अन्त्यमा,
‘बाबुराम’ भन्ने व्यक्तिको पछि लाग्नु छैन । विज्ञान र समयको सही आवाजको तारिफ गरिन्छ । बाटो बिराएको दिन बाबुरामको पनि विकल्प तयार पार्नुपर्छ । नेपालको परिवेश सुहाउँदो वैकल्पिक राजनीति भिजन/अर्जुनदृष्टिको मार्गचित्र र फरक दिमाग भएको व्यक्तित्वलाई बुझ्न दिमाग पनि फरक नै चाहिन्छ । यसलाई अन्धभक्त भन्छन् । कुनै विमति छैन । म कसैको अरिंगाल पनि होइन । राम्रो काम फत्ते गरेको दिन केपी सर, प्रचण्ड सर र शेरबहादुर सरको समर्थनमा हत्केलामा ठेला उठ्ने गरी ताली पिट्न पनि तयार छन् मेरा हातहरू ।

हाल: आबुधाबी, युएई
सम्पर्क- [email protected]

          May 21, 2019 11:57 am | विचार/ब्लग


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...