Sunday 12th May 2024

नेपालमा धानचामलको कथा : गर्विलो बिगत र अलमलिएको बर्तमान

5 years अगाडी

डा. राजेन्द्र उप्रेती , कृषि ब्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र, झुम्का,सुनसरी दुई हप्ता अगाडी मैलेझापाको धाइजन स्थित सूर्य एग्रोको भ्रमण गर्दा मक्खन ब्रान्डको चामल उत्पादन गर्ने उक्त मिलका भारतबाट आयात भएको “जिरा मसिनो” धान ट्रकबाट मिलको सिस्टममा झर्दे थियो । मेरो भ्रमणको उदेश्य पनि नेपालमा भैरहेको धान चामलको बढदो आयात अवस्थाको भित्रि कथा जान्नु थियो । एकातर्फ हाम्रो कृषि तथा पशुपन्छी बिकास मन्त्रालय धानको रेकर्ड उत्पादन भएको तथ्याङ्क दिन्छ अर्कोतर्फ धानचामलको आयातले पनि अर्को रेकर्ड कायम गर्छ ।

हाम्रो अनुसन्धानहरु र जात उन्मोचन गर्ने निकायहरु नयाँ नयाँ उन्नत धानका जातहरु बिकास र सिफारीस गरीरहेकाछन । तर हाम्रो धान चामलको आयात निर्यात स्थिति सुधारोन्मुख छैन । हामी झनझन धानचामल आयातमा निर्भर हुदै गैरहेका छौ । त्योभन्दा मुख्य कुरा जुन बेला नेपालमा धान भित्रने मुख्य समय हुन्छ तेसै बेला भारतबाट सबै भन्दा धेरै परिमाणमा धान आयात भैरहेकोछ । आखिर किन त ? यो लेख मार्फत मैले हाम्रो यो अवस्था केलाउने प्रयास गरेकोछु ।

बितेको आधा शताब्दी 

हामीसंग संझनको लागि धान उत्पादन र ब्यापारको गर्विलो बिगत रहेको थियो । सन साठीको दशकमा वर्तमानको सबैभन्दा ठूलो धानचामलकोनिर्यातक भारतले चामल आयात गरेर आफनो देशवासीको आवस्यकता पुरा गर्देगर्दा नेपाल चामल निर्यात गर्ने मुख्य देशहरु मध्येमा थियो । सन १९६१ मा भारतले ७ लाख ३६ हजार मेट्रिक टन र बंगलादेशले ४ लाख ९१ हजार मेट्रिक टन धानचामल आयात गरेको बेला नेपालले २ लाख ८९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो । जसको त्यो बेलाको मुल्य ४ करोड ३० लाख अमेरिकी डलर थियो । यो क्रम सन ८५ को मध्यसम्म घटदो क्रममा चलेको थियो । १९८५ मा नेपालले १ करोड ३० लाख अमेरिकी डलर बराबरको ५९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो ।

नब्बेको दशकको सुरुवातसंगै नेपालको धानचामल ब्यापारको नक्सामा परिवर्तन आयो र नेपाल निर्यातक देशबाट आयातकर्ता बन्न पुग्यो । जवकि त्यसको केहि अगाडी देखि भारत र भियतनामलेआफनो अवस्थामा लगातार सुधार गर्दे गएर बर्तमानका पहिलो र तेस्रो ठूला चामल निर्यातक देश बनेकाछन । सन २०१५ मा भारतले६ अर्ब ३८  करोड अमेरिकी डलर बराबरको१ करोड ९ लाख मेट्रिक टन र भियतनामले २ अर्ब ८४ करोड अमेरिकी डलर बराबरको ६८ लाख ३२ हजार मेट्रिक टन चामल निर्यात गरेका छन (चित्र १) ।

भारत र भियतनामको बिचमा दोश्रो स्थानमा थाईलैण्ड रहेको छ उक्त बर्ष उसले ४ अर्ब ५४ करोडको चामल निर्यात गरेको थियो भने नेपालले२१ करोड ५४ लाख डलर बराबरको ५ लाख ३१ हजार मेट्रिक टन धानचामल आयात गरेको थियो । सन असिको दशकसम्म धानचामल निर्यात गर्दे आएको नेपाल नब्बेको दशक पछि पूर्णरुपमा धानचामलको आयातकर्ता बनेकोछ ।

धान भित्रने मुख्य सिजनमै सबै भन्दा धेरै आयात

धानचामलको आयातलाई नजिकबाट केलाउनको लागि नेपालमा धानचामल आयात हुने मुख्य नाकामध्ये एक बिराटनगर भन्सारको तथ्याङ्क हेर्दा गत आर्थिक बर्षमा यो नाका भएर ८९ हजार ७२९ मेट्रिक टन धानचामल आयात भएको देखिन्छ । जसमध्ये ५५.६ प्रतिशत (४९,९११ मेट्रिक टन) दोश्रो चौमासिक अर्थात मंसिर देखि फाल्गुन महिनामा भित्रिएकोछ । धानको मात्र तथ्याङ्क हेर्दा यो समयमा ६१.६ प्रतिशत धान भित्रिएकोछ । पहिलो चौमासिकको परिमण १३.३ प्रतिशत छ भने तेश्रो चौमासिकमा ३१.१ प्रतिशत धानचामल आयात भएकोछ (चित्र २)।

अर्को तर्फ हेर्दा पहिलो र तेश्रो चौमासिकमा आयात हुने धानको भन्दा चामलको परिमाण धेरै छ भने दोश्रो चौमासिकमा धानको परिमाण धेरैछ । जुन समय हाम्रोमा जताततै धानैधान हुन्छ त्यहि समयमा फेरी किन धानचामल भित्रिरहेको छ त ? हामी खाद्यान्नमा आत्मनिर्भर हुने नाममा विभिन्न योजनाहरु बनाईरहेका र सार्वजनिक गरिरहेका छौ तर माथीका तथ्याङ्कले हाम्रा योजनाहरुले सोचे अनुसार काम गरिरहेको देखिदैन ।

कता हराईरहेकाछन हाम्रा योजनाहरु ? कहाँ चुकिरहेकाछौ हामीहरु ? आगामी योजनाहरुमा यस्ता ध्यान नपुगिरहेका कुराहरु केलाउने हो कि ? देशहरुको धानचामल आयात निर्यात रणनिति धानचामलको आयात निर्यात स्थितीलाई केलाउदै जाने हो भने संसारका ठूला चामल निर्यातक देशहरुले पनि केहि मात्रामा चामल आयात गरेको देखिन्छ ।

जस्तै सन २०१६ मा ९८ लाख ६२ हजार टन चामल निर्यात गरेको भारत ले ९९५ टन चामल आयात गरेको छ । यसरी नै ५२ लाख १० हजार टन चामल निर्यात गरेको भियतनामले २६,५९१ टन चामल आयात गरेकोछ । नेपालर बंगलादेशले पनि सानो मात्रामा चामल निर्यात गरेर ठूलो परिमाणमा धानचामल आयात गरेका छन ।

यसरी हुने ब्यापारमा ठूला चामल निर्यातक देशहरुले ठूलो परिमाणको तुलनात्मक सस्तो चामल निर्यात गरेर सानो परिमाणमा उच्च गुणस्तरको महँगो चामल आयात गर्ने गरेको दखिन्छ भने नेपाल बंगलादेश जस्ता देशहरुले ठूलो परिमाणमा सस्तो चामल आयात गरेर सानोपरिमाणको महँगो चामल निर्यात गरेको देखिन्छ (चित्र ३) । तुलनात्मक रुपमा हेर्दा बिश्व बजारमा भियतनामले सस्तो चामल बेचीरहेको छ भने भारतले महँगो चामल बेचीरहेकोछ ।

हामीले समात्न नसकेका केहि बाटाहरु

धेरै बर्षहरु बिते, पूर्वि नेपालमा हाम्रो अनुसन्धान र प्रसारले किसानहरुको चाहना र उपभोक्ताहरुको माग अनुसारको धानका जातहरु उपलब्ध गराउन सकेको छैनन । केहि बर्ष अगाडीसम्म मसुली एउटा ब्रान्डको रुपमा रहेको थियो उत्पादकहरु र उपभोक्ता दुबैमा । आज पनि त्यो नामको पहिचानसंग जोडेर सोना मसुली, आउ मसुली, कान्छी मसुली आदि नामहरु प्रचलित रहेका छन ।

बितेका दशकहरु बासधान वा कान्छी मसुलीका नाममा रहेको धानले पूर्वि नेपालको दुई तिहाई भन्दा धेरै धान खेती हुने क्षेत्रफल ढाकेको थियो । अहिले रंजित योक्षेत्रमा सबै भन्दा लोकप्रिय जात भएकोछ । यस्ले बासधान वा कान्छीमसुलीलाई प्रतिस्थापित गरेको छ र यस्लाई स्वर्णाले पछयाईरहेकोछ । रंजितले ढाकेको क्षेत्रफल ५० प्रतिशत भन्दा धेरै छ । यी दुबै जातहरु हाम्रो अनुसन्धान र प्रसारले सिफारिस गरेका जातहरु होइनन ।

अब बजारमा पाईने मध्यम गुणस्तरको चामल (जुन केहि बर्ष अगाडीसम्म मसुली थियो) को कुरा गर्ने हो भने त्यो “जिरा मसिनु” होर यहि ब्रान्ड अहिले नेपालमा आयात हुनेधानचामलमा मुख्य हो । यो वास्तविकतालाई हेर्ने हो भने हाम्रा अनुसंन्धान र प्रसार सधै किसानहरु र उपभोक्ताको आवस्यकता र चाहना भन्दा फरक बाटो हिडेछन भन्न हिच्किचाउनु पर्दैन । त्यसैको परिणाम हो हामीले नेपालमा धान भित्राउने बेलामै सबै भन्दा ठूलोमात्रामा धानचामलको आयात हुने गर्छ ।

हामीले आफुलाई सबैभन्दा पहिला सच्याउनु पर्ने यहि बिन्दुमा हो जुन हामीले सधै नजरअन्दाज गरिरहेका छौ । बजारले खोजेको जातले राम्रो मुल्य पाउछ र त्यो कुरा किसानको मुनाफासंग गएर जोडिएको हुन्छ । त्यसैले बजारको माग अनुसारका जातहरुको पहिचान र बिकास अनि त्यस्को प्रसार हामीले सुरुवातमा गर्नुपर्ने मुख्य कुराहहरु हुन ।

माथी उल्लेख गरिएका अन्य देशहरुले जस्तैधानको उत्पादकत्व बढाएर आफनो मागअनुसारको आपुर्ति गर्ने कुरा हामीले समात्न नसकेको दोश्रो बाटो हो । हाल उपलब्ध प्रविधिहरुको प्रयोग, मलखाद्यको उचित सदुपयोग तथा उपलब्ध जातहरुको प्रयोगबाट नेपालको धानको उत्पादकत्व सहजै हालको ३ मेट्रिक टनबाट ४ देखि ५ मेट्रिक टनमा पु¥याउन सकिन्छ । त्यसको लागि समयमा मल बीउको उपलब्धता, प्रविधि प्रसारमा दक्ष र समर्पित कृषि कार्यकर्ताहरु र यो कार्यलाई अभियानको रुपमा लैजान कृषि कर्मसंग जोडिएका समाजका सबै चेतनसिल नागरिकहरु लाग्नुपर्ने हुनसक्छ ।

धान सिजन नजिक आउदैछ एक पटक यस्तो सामुहिक अभियान श्रृजना गर्ने कि ? उत्पादन पछि हामीले गर्न नसकिरहेका कुराहरु भनेको उत्पादन र बजारसंगको असल समन्वय, भण्डारण र प्रशोधनका सुविधाहरुको बिकास, धान उत्पादन खर्चसंग जोडिएका मजदुर र मेसिनका कुराहरु, धानखेतीको आवस्यकता अनुसारको सिंचाई ब्यवस्थापन आदी हुन ।

माथी उल्लेख गरिएका दुई बाटाहरु समात्न सक्षम हुनेसाथ यहाँ उल्लेख गरिुएका अन्यकुराहरु ब्यवस्थापन गर्न सकिन्छ । बजारले मागेको ब्रान्डको धान स्थानिय रुपमा उत्पादन हुन थालेपछि बेसिजनमा हुने आयातहरु आफै कम हुदै जानेछन । किनकी भारतबाट आयात भैरहेका धानहरु हाम्रो भन्दा सस्तो छैनन । बासमती, ललका बासमती, कालानमक, चनाचुर आदी धानहरु हाम्रो आफनो ब्रान्डकोरुपमा मिलहरुले प्रशोधन गर्ने गरेकाछन र बजारमा आफनै पहिचानमा बिक्रि भैरहेकाछन ।

भारतबाट आयात हुने बासमती र हाम्रा बासमतीहरु लम्बाई, आकार प्रकार र स्वादमा भिन्न छन । भियतनाम, भारत र थाईलैण्ड लगाएतका देशहरुले सस्तो चामल निर्यात गरेर महँगो चामल आयात गरिरहेको अवस्थामा हामीले हाम्रोदेशमा खेती भैरहेका हाम्रा आफनैउच्च गुणस्तरका धान खेती बिस्तार गरेर आफनै ब्रान्डमा बिदेश निर्यात गर्ने कुरा अर्को बाटो हुनसक्छ ।

जसबाट हाम्रा आफना जातहरुको संरक्षण हुनेछ भने खेती गर्ने किसानहरुले कम लगानीमा उच्च मुनाफा पाउन सक्नेछन । हामीसंग गर्व गर्न लाएकको धानसंग जोडिएको बिगत थियो । धेरै संभावनासहितको बर्तमान पनि छ । अर्बाैको आफनैआन्तरिक बजार छ । हाम्रा गुणस्तरिय स्थानिय जातहरुको लागि उच्च मुल्यकोअन्तराष्ट्रिय बजार पनि छ । डेढ दुई दशक अगाडीसम्म हाम्रो जस्तै अवस्था भोगेका देशहरुले लामो फडको मारिसके र उनीहरु आज शिखरमा छन ।त्यो कुरा हामीलेपनि गर्न सक्छौ । तर हामीसंग वास्तविकतामा आधारित योजना छैन र छैन मन, बचन, कर्मले लागि पर्ने तत्परता । नत्र रुपान्तरण गाह्रो छैन हामी हाम्रो ईतिहास दोहो-याउन सक्छौ ।

          May 27, 2019 6:11 pm | विचार/ब्लग


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...