Thursday 16th January 2025

विप्लव–सरकार अन्तरद्वन्द्व : कसले कसलाई विश्वास गर्ने?

5 years अगाडी

काठमाडौं। विप्लव समूह आपराधिक संगठन भएको भन्दै गत फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको सरकार र विप्लव समूहबीच यतिबेला वार्ताको चर्चा चलेको छ। सरकारका तर्फबाट तत्कालीन वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेले विप्लव समूहसँग वार्ताको पहल गरिरहेका छन्।पाण्डेले विप्लव समूहका दोस्रो तहका नेतामार्फत वार्ताको पहल गरिरहेका छन्। पाण्डेले औपचारिक र अनौपचारिक रुपमा वार्ताको पलह गरिरहेको बताएका छन्। विप्लव समूहले वार्ताका लागि पक्राउ परेका आफ्ना कार्यकर्ता रिहा गर्नुपर्ने सर्त राखेको छ।

तर सरकारले एकपछि अर्को गर्दै विप्लव समूहका नेता पक्राउ गरिरहेको छ। पछिल्लो समय सरकारले विप्लव समूहलाई गलाउने रणनीति लिएको छ। विप्लव समूहका नेता तथा कार्यकर्ता एकपछि अर्को गर्दै पक्राउ पर्न थालेपछि विप्लव समूह दवाबमा परेको छ।शनिबार राति मात्रै प्रहरीले विप्लव समूहका काठमाडौं उपत्यका इन्चार्ज माइला लामालाई पक्राउ गर्यो। विभिन्न जिल्लामा विप्लव समूहका कार्यकर्ता नेकपामा प्रवेश गर्ने होड चलेको छ। विप्लव समूहले सरकारले वार्ताका नाममा आफ्नो पार्टीलाई सिद्ध्याउन खोजेको आरोप लगाएकोछ।

‘हामी वार्ताका लागि इमान्दार भएर लागिरहेका छौं। तर सरकारले भने एकपछि अर्को गर्दै हाम्रा नेता कार्यकर्ता पक्राउ गरेपछि सरकार दोहोरो रणनीतिमा रहेको स्पष्ट हुन्छ,’ विप्लव समूहका एक नेताले डिसी नेपालसँग भने, ‘पछिल्लो समय सरकारका प्रवक्ताको अभिव्यक्ति त झन सरकार वार्ताप्रति इमान्दार नभएको स्पष्ट हुन्छ।’विप्लव समूह स्रोतका अनुसार पछिल्लो समय सरकार र उक्त समूहबीच विभिन्न चरणमा अनौपचारिक वार्ता भएका थिए। प्रधानमन्त्री केपी ओलीपनि विप्लव समूहसँग वार्ता गरेर निकास निकाल्न चाहन्छन्। तर प्रधानमन्त्री ओली निकटका केही व्यक्ति भने वार्ताको वातावरण विथोल्न चाहन्छन्।

‘हाम्रो जानकारीमा भएसम्म प्रधानमन्त्री वार्ताप्रति सकारात्मक हुनुहुन्छ,’ विप्लव निकट ती नेताले भने, ‘प्रधानमन्त्री वार्ताप्रति सकारात्मक हुने तर उहाँ नजिकका मानिसले नै वार्ता विरोधी अभिव्यक्ति दिँदा सरकारको इमान्दारितामाथि प्रश्न उब्जिएको छ।’पछिल्लो समय सरकारको रवैयाप्रति विप्लव समूहभित्र गम्भीर छलफल हुन थालेको ती नेताले दाबी गरे। ‘सरकारको यस्तै रवैया रहे त्यसको सशक्त प्रतिकार गर्नु बाहेक हामीसँग अर्को विकल्प रहँदैन,’ उनले भने।

विप्लव समूहसँग वार्ताको पहल गरिरहेका नेकपा नेता सोमप्रसाद पाण्डेले भने सरकार विप्लव समूहसँग वार्ता गर्न इमान्दार रहेको दाबी गरे। ‘विप्लव समूहलाई वार्तामार्फत संविधानको परिधिभित्र ल्याउन सरकार प्रयासरत छ,’ पाण्डेले डिसी नेपालसँग भने। तर सरकारी पक्षले विप्लव समूहले सरकारसँग ‘वास्तविक’ रुपमा वार्ता गर्न नचाहेको आरोप लगाएको छ। सरकारले विप्लव समूहले वार्ताका नाममा पक्राउ परेका आफ्ना कार्यकर्ता छुटाउने र शक्ति संचय गर्ने रणनीति लिएको सरकारी बुझाइ छ।

‘यहाँहरु (विप्लव समूह) वार्ताप्रति इमान्दार भएर होइन अहिले आफ्नो शक्ति क्षीण् भएपछि वार्ताको ‘कार्ड’ फाल्नु भएको हो,’ नेकपा एक नेताले भने, ‘उहाँहरु वार्ताप्रति इमान्दार भएको सरकारलाई लागेको दिन उहाँहरुसँग वार्ता हुन्छ।’ सरकार हाल विप्लव समूहलाई गलाउने नीतिमा रहेको उसका पछिल्ला गतिधिले बल पुर्याउँछ। हाल विप्लव समूहका उच्च नेता हेमन्त प्रकाश वली ‘सुदर्शन’ प्रहरीको हिरासतमा छन्। यस्तै उपत्यका इन्चार्ज शनिबारमात्र पक्राउ परे।

वार्ताको अनौपचारिक पहल भइरहेको र पटक पटक छलफल भइसकेको अवस्थामा लामा पक्राउ परेपछि विप्लव समूह बिच्कने अवस्थामा पुगेको छ। विप्लव समूहको दाबीअनुसार हालसम्म सरकारले उसका करिब ५ सय कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।र, विप्लव समूहसँग रुष्ट भएका नेताहरुलाई सत्तारुढ दल नेकपामा भित्र्याउने नीति पनि सरकारले लिएको छ। वार्ता र उसको शक्तिलाई क्षीण बनाउने दोहोरो रणनीति एकैसाथ अगाडि बढाएको सरकारमाथि आरोप लागेको छ।

          July 21, 2019 1:08 pm | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...