Friday 3rd May 2024

वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन पालिकाहरुको निकै ठूलो भूमिका हुने रहेछ’

2 years अगाडी

वैदेशिक रोजगारीमा जानेहरुले श्रम स्वीकृति लिने व्यवस्था सरकारले कडाईका साथ लागू गरे पनि आफ्नो पालिकाबाट को कहाँ गयो भन्ने कुरा पालिकालाई नै थाहा हुँदैन । तर समस्या पर्‍यो भने सबैभन्दा पहिले पालिकामा गुनासो पुग्छ । त्यसैले, पछिल्लो समय केही पालिकाहरुले आफ्नो पालिकाबाट नै काम गर्न विदेश जाने र गएकाहरुबारे चासो राख्न थालेका छन् । जानेहरुलाई सही सूचना दिने, वैदेशिक रोजगारीमा गएका र फर्किएकाहरुको तथ्याँक संकलन गर्ने, उनीहरुका लागि वार्षिक रुपमा बजेट बिनियोजन गर्ने, परदेशीका परिवारलाई सीप तालिम सिकाउने, मनोसामाजिक समस्या भएकालाई परामर्श र औषधि उपचारको व्यवस्था गर्ने काम पनि पालिकाहरुले गर्न थालेका छन् । कतिपय पालिकाले त कार्यविधि नै बनाएर नीतिगत रुपमा नै वैदेशिक रोजगारीको विषयलाई अघि बढाएका छन् । हामीले यस्तो काम गरिरहेका दाङका केही पालिकाहरुसँग कुराकानी गरेका छौँ ।

नरुलाल चौधरी
मेयर, घोराही उपमहानगरपालिका

घोराही उपमाहानगरपालिकाले सकेसम्म कुनै पनि युवायुवती रोजगारीको लागि विदेश जानुहुन्न भन्ने कुरालाई पहिलो प्राथमिकता दिन्छ । त्यसको लागि हामी परामर्श दिन्छौँ । यदि जानै पर्ने भए वैधानिक तवरले, श्रम स्वीकृति लिएर मात्रै जानुस् भन्ने कुरामा हामी जोड दिँदै आएका छौँ । यसमा हामीलाई सुरक्षित आप्रवासन परियोजना सामीले सहयोग गर्दै आएको छ । सकेसम्म सीप सिकेर जानुस्, सीपको मूल्य पाइन्छ व्यक्तिको होइन भन्ने कुरा हामीले सिकाउँदै आएका छौँ ।

वैदेशिक रोजगारीमा ज्यान गएमा शव नेपाल ल्याउन समस्या हुन्छ । यसमा सामी परियोजनाले निकै सजिलो बनाइदिएको छ । यस्तै विदेश जाने क्रममा वा त्यहाँ गएर ठगी हुँदा त्यस्ताहरुलाई न्याय दिन पनि सामी परियोजनाले निकै महत्वपूर्ण काम गरेको छ । सुरुमा हामीहरुलाई सामी परियोजनाले के गर्छ भन्ने बुझ्नै गाह्रो भयो । गर्दै जाँदा थाहा भयो, यो कार्यक्रम त निकै महत्वपूर्ण रहेछ भनेर । वैदेशिक रोजगारीमा समस्या हुँदा त्यसले परिवारमा थुपारेको चिन्ताबाट कसरी मुक्त हुने, विदेशमा कमाएको पैसालाई वित्तीय साक्षरता मार्फत कहाँ कसरी सदुपयोग गर्ने लगायत धेरै कुरा सिकाउन सामी परियोजनाले निकै राम्रो काम गरेको छ । त्यसैले यो सामी परियोजनालाई डोनरले रोके पनि पालिका आफैले जारी राख्नुपर्छ भनेर हामी योजना बनाइरहेका छौँ । यस्ता महत्वपूर्ण काम गर्दै आएकाले हामीले यस कार्यक्रममा प्रत्येक वर्ष दश लाख रुपैयाँ छुट्याएका छौँ ।

अहिले विदेश गएकाहरुलाई अप्ठेरो पर्ने छैन भन्ने कुरा वैदेशिक रोजगारीमा गएकाहरुलाई र उनका परिवार सबैले महसुस गर्नुभएको छ । घोराहीका धेरै युवायुवतीले न्याय पाउनुभएको छ । सीप सिक्न पाउनुभएको छ । सामी परियोजना कार्यक्रमले वैदेशिक रोजगारीका कारण सिर्जित मानसिक समस्या न्युनीकरण गर्नमा निकै सहयोग गरेको छ । त्यसैले पनि हामी सामी परियोजनालाई आगामी दिनहरुमा पनि बढाउन चाहन्छौँ । पहिले यही कार्यक्रम दातृ निकायमार्फत सञ्चालित हुँदै आएको थियो । अहिले पालिकाले नै अपनत्व लिएर यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसले पहिलेको भन्दा झन् सकारात्मक प्रभाव पारेको छ । यद्यपि संघसंस्थाहरुले पनि राम्रै काम गर्नुभएको थियो । अब डोनरले यो कार्यक्रम बन्द गरे पनि यस्तै प्रकारको कार्यक्रम पालिकाले नै बजेट छुट्याएर गर्नुपर्छ भन्ने हामीलाई लागेको छ । हामीले सामी परियोजनालाई संस्थाको हिसाबले नलिइ पालिकाकै एक शाखाको हिसाबले लिएका छौँ । त्यही खालको योजना र कार्यविधि बनाएर अगाडि बढाउन चाहेका छौँ ।

घोराही उपमहानगरपालिकाले कोरोनाका कारण उब्जेको परिस्थिति व्यवस्थित गरि विदेशमा रोजगारी गुमाएकाहरुलाई रोजगारीमा लगाउने, व्यवसाय तथा उद्यममा लाग्नेहरुलाई सहयोग गरेको छ । वैदेशिक रोजगारीबाट फर्केकालाई संगठित गरेका छौँ । उहाँहरुलाई आफ्नै ठाउँमा व्यवसायमा लाग्न हौसला दिँदै आएका छौँ, आवश्यक सहयोग गर्दै आएका छौँ  । अहिले हामीहरुले को कुन देशमा गएका छन्, के सीप सिकेर आए लगायतका  कुराहरु जोडेर प्रोफाइल तयार पार्दैछौँ ।

रोजगारीका लागि पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय पुग्नेहरुलाई विदेश जानुभन्दा अगाडि यसबारे कक्षा लिनुपर्छ भनेर हामीसँग जोडिदिने काम जिल्ला प्रशासनले गरेको छ । कक्षा लिएर कतिले देशमै केही गर्ने सोच बनाउनुभयो भने कतिले आफू ठगिन लागेको बारे सचेत हुनुभयो । जिल्ला प्रशासनले पनि हाम्रो कामलाई सकारात्मक ढंगले लिएको छ ।
यो कार्यक्रम यति महत्वपूर्ण छ कि, जुनसुकै जनप्रतिनिधि आए पनि यो कार्यक्रम हटाउनु भनेको जनताको पक्षमा काम नगर्नु हो भन्ने ठहरिन्छ । दाङ जिल्लाका चार ओटा पालिकाले यो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । लमही नगरपालिकाले आफै बजेट छुट्याएर कर्मचारी भर्ति गरेर यो कार्यक्रम चलाइरहेको छ । तुल्सीपरले पनि त्यसैगरि प्रभावकारी बनाइरहेको छ । बबई गाउँपालिकाले पनि यो कार्यक्रम सञ्चालन गरिरहेको छ । सदरमुकाम पनि भएकाले र यहाँ जिल्लाभरिका मानिस आउने भएकाले घोराही नगरपालिकाले सबैभन्दा धेरै काम गरिरहेको छ । हामी यसमा अरु पालिकाहरुलाई पनि जोड्न चाहन्छौँ ।

कुलबहादुर खत्री
मेयर, लमही नगरपालिका

वैदेशिक रोजगारीलाई कसरी सुरक्षित बनाउन सकिन्छ भनेर दाङमा सामी परियोजना अन्तर्गत कार्यक्रम सञ्चालन भएपछि हामीलाई पनि त्यसको महत्व महसुस भयो । वास्तवमा देशको आयआर्जनको प्रमुख स्रोत वैदेशिक रोजगारीको प्रत्यक्ष प्रभाव स्थानीय तहलाई पनि पर्दौ रहेछ । पहिले दाङका धेरै युवाहरु वैदेशिक रोजगारीमा जाने र जाँदाखेरि वैधानिक बाटोबाट मात्र नभइ गलत बाटोबाट पनि जाने भएकाले ठगी हुने, समस्यामा पर्ने, विदेशमा समस्यामा परेका वा त्यहाँ मृत्यु भएकाहरुले कानुनसम्मत ढंगले पाउनुपर्ने क्षतिपूर्ति नपाउने लगायतका यावत् समस्याहरु रहेछन् । तर सामी परियोजना लागू भएपछि ती समस्याहरुको समाधान भएको छ ।

हिजोसम्म परियोजनाले गर्दा वैदेशिक रोजगारीमा भएको समस्याको समाधान गर्ने, उद्धार गर्ने काम भएको थियो । अहिले हामीलाई लाग्यो कि यो परियोजनाले मात्र गर्ने काम होइन । यो वास्तवमा सरकार आफैले गर्ने काम हो भन्ने महसुस भयो । त्यसैले पासपोर्ट बनाउने ठाउँदेखि नै वैदेशिक रोजगारीबारे सचेतना फैलाउन सक्यौँ भने जुन सपना बोकेर वैदेशिक रोजगारीमा गएका हुन्, त्यो पूरा गर्न सक्छन् भन्ने हामीलाई लाग्यो र सुरक्षित आप्रवासन कार्यक्रमलाई हामी आफैले सञ्चान गर्ने काम गरेका छौँ ।

परामर्शको लागि एक जना कर्मचारी भर्ना तथा अफिसजस्तो बनाउनको लागि अहिले १० लाख रुपैयाँ विनियोजन गरेका छौँ । अहिले हामीसँग वित्तीय सहजकर्ता र मनोसामाजिक सहजकर्ता गरेर दुई जना कर्मचारी परिचालन गरेका छौँ । वैदेशिक रोजगारीमा कुन विधिबाट जानुभएको छ, के काम गरिरहनुभएको छ, भिसाको म्याद कति छ, उताबाट पठाएको पैसा सदुपयोग भइरहेको छ कि छैन, वैदेशिक रोजगारीमा गएको कति भयो, घरपरिवारमा सम्पर्क भएको छ कि छैन लगायतका कुराहरु हामीले टोल बस्तीमै गएर सूचना लिने र परामर्श दिने गरिरहेका छौँ ।

पहिले विदेशबाट पठाएको पैसा गलत ठाउँमा प्रयोग हुने, घरबार विहीन हुने अवस्था थियो । अहिले हामीले उनका परिवारलाई पैसाको सदुपयोगबारे सिकाउने, व्यवसायमा लगाउने गरिरहेका छौँ । अहिले वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यहरु सचेत हुनुभएको छ । उहाँहरुलाई हामीले उद्यममा जोडिरहेका छौँ । श्रीमान् विदेश गएका छन् भने श्रीमतीले पनि नेपालमै केही गर्नुपर्छ भनेर हामीले उत्पादनमूलक काममा लगाउने प्रयास गरिरहेका छौँ । त्यसमा नगरपालिकाको कृषि शाखा, पशु शाखाको तर्फबाट पनि सहयोग गरिरहेका छौँ । यसरी वैदेशिक रोजगारीमा गएका परिवारलाई नगरपालिकाका कार्यक्रमसँग जोडेर आयआर्जनमा लगाउने काम पनि गरिरहेका छौँ ।

अहिले हामीसँग भएको जनशक्तिले पूरै नगरपालिकालाई समेट्न सकिरहेका छैनौँ । हामी अझै प्रभावकारी ढंगले काम गर्नको लागि जनशक्ति बढाउने प्रयासमा छौँ । विकास निर्माण तथा यहाँका जनताको जीवनस्तर माथि उठाउने काम जत्तिकै यो कार्यक्रम पनि महत्वपूर्ण छ । वैदेशिक रोजगारीमा हुने ठगीलाई मात्र रोक्न सक्यो भने यसबाट प्राप्त हुने रेमिट्यान्समा ठूलो मात्रामा वृद्धि हुनसक्छ । यसले नगरपालिकाका निम्ति ठूलो सहयोग गर्छ भन्ने यो नगरपालिकाको बुझाइ छ । अहिलेको अहिल्यै हामीले सामी परियोजनालाई शाखाका रुपमा विकास गर्न सकिरहेका छैनौँ तर गर्नुपर्ने आवश्यकता छ । आगामी दिनमा हामी त्यो पनि गर्नेछौँ ।

शिशिर घिमिरे,शाखा अधिकृत तथा सामी परियोजना फोकल पर्सन,

तुल्सीपुर उपमहानगरपालिका

सामी परियोजना तुल्सीपुर उपमहानगरमा २०७६ सालको माघ महिनादेखि सुरु भएको हो । यो कार्यक्रम सुरु भएको केही समयमै कोरोना महामारीका कारण लकडाउन भयो । पहिलो वर्षको माघ देखि असारसम्मको कार्यक्रम हामीले गर्न सकेनौँ । तर पनि हामीले वित्तीय साक्षरता, मनोसामाजिक परामर्श कार्यक्रम सुरु गर्यौँ । इलाका प्रशासन कार्यालयमा पासपोर्ट बनाउन आउनेहरुलाई वैदेशिक रोजगारीबारे जानकारी दिन एकजना परामर्शकर्ता राख्यौँ । सुरुमा घोराहीमा रहेको अपाङ्ग मानव अधिकार सरोकार मञ्चसँग सम्झौता गरेर यो परियोजना सञ्चालन गरेका थियौँ । यो चालू आर्थिक वर्षदेखि भने तुल्सीपुर उपमहानगरपालिका आफैले उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रमको लागि नेपाल सरकारले २७ लाख रुपैयाँ अनुदान दिएको छ । यस्तै तुल्सीपुर उपमहानगर आफैले १६ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले अनुदान दिएको रकमबाट हामीले ६ जना कर्मचारी राखेका छौँ । विदेशबाट फर्किनुभएकाहरुलाई हामीले रिटर्नी भोलेन्टिएरको रुपमा राखेका हौँ । तीमध्ये तीन जनाले अहिले वैदेशिक रोजगारीमा आबद्ध व्यक्ति तथा उनका परिवारको प्राथमिक तथ्याँक संकलन गर्दै हुनुहुन्छ । कहाँ कसलाई के समस्या परेको छ त्यो बारे जानकारी राख्नुहुन्छ । यस्तै हामीले एक जना मनोसामाजिक परामर्शकर्ता पनि राखेका छौँ । यस्तै वित्तीय साक्षरताको लागि एकजना कर्मचारी राखेका छौँ । विदेशबाट पठाएको रकमको दुरुपयोग नहोस् भनेर उपमहानगरपालिकाले यहाँका ४ वटा वडामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ ।

महामारीको समयमा मनोपरामर्शको कार्यक्रम निकै फलदायी भयो । यस पालिकाका दश ठाउँमा हामीले क्वरेण्टिन बनाएका थियौँ । त्यसमा भारतबाट लगायत विभिन्न देशबाट आउनुभएकाहरुलाई त्यहाँ राखेर मनोपरामर्श दिने काम गर्यौँ  । यसले निकै सकारात्मक प्रभाव पर्यो । दोस्रो लहरमा हामीले तुल्सीपुर मेट्रो हस्पिटल स्थापना गर्यौँ । अहिले अवस्था सामान्य भएसँगै हामीले पूर्ववत् तरिकाले मनो सामाजिक परामर्शको काम गरिरहेका छौँ ।

हामीले सामी परियोजना र रोजगार सेवा केन्द्रलाई जोड्न सकेका भने छैनौँ । तर प्रधानमन्त्री रोजगार कार्यक्रम, रोजगार सेवा केन्द्र तथा सामीलाई जोडेर केही गरौँ भनेर गृहकार्य भने गरिरहेका छौँ । मनोसामाजिक परामर्शलाई केवल वैदेशिक रोजगारीसँग मात्र नजोडेर घरेलु हिंसासँग पनि जोडौँ भनेर यो वर्षदेखि तुल्सीपुर उपमहानगरपालिकाका १९ वटै वडामा एक एक जना कम्युनिटी वर्कर तयार पार्न हामी तालिम सञ्चालन गर्दैछौँ । यो तालिम सञ्चालनबाट प्रशिक्षित व्यक्तिहरुलाई हामी छनौट गर्नेछौँ र उहाँहरुले वैदेशिक रोजगारी तथा घरेलु हिंसाका पीडितहरुलाई परामर्श गर्नुहुनेछ । उज्यालो

          March 15, 2022 2:46 am | बेरोजगार,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...