Saturday 18th May 2024

नेपालमा सबैभन्दा बढी एक तले घर, झन्डै ६ लाख घर रित्ताे अवस्थामा

7 months अगाडी

काठमाण्डाै – नेपालमा रहेका कुल घरहरूमध्ये सबैभन्दा बढी एक तले रहेकाे पाइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सोमवार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालभर रहेको कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एक तले रहेको पाइएको हो । त्यस्तै दोस्रोमा २८ दशमलव ७८ प्रतिशत दुई तले, ९ दशमलव १७ प्रतिशत तीन तले, १ दशमलव ३ प्रतिशत चार तले, ० दशमलव ६४ प्रतिशत पाँचदेखि सात तले, ० दशमलव ०१ प्रतिशत आठदेखि नाै तले र ० दशमलव ००३ प्रतिशत १० भन्दा बढी तले घरहरू रहेको देखिएको छ ।

तथ्याङ्कअनुसार मधेस प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी अर्थात् ८४ दशमलव ४२ प्रतिशत रहेको छ भने पाँच वा त्याेभन्दा बढी तला भएको घर बाग्मती प्रदेशमा सबैभन्दा बढी २ दशमलव ३४ प्रतिशत रहेको छ ।

यस्तै कुल घरमध्ये सबैभन्दा बढी २७ दशमलव ९५ प्रतिशत घर चार वर्षसम्म पुरानो रहेको छ भने सबैभन्दा कम एक सयभन्दा बढी वर्षका घरहरु ० दशमलव ५ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका उप–प्रमुख तथ्याङ्क अधिकारी डा. हेमराज रेग्मीले बताउनुभयो ।

देशभरका कुल ६६ लाख ६० हजार आठ सय ४१ परिवारमध्ये १० दशमलव २७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिएको छ । सरकारी अनुदान सबैभन्दा बढी बाग्मती प्रदेशमा २६ दशमलव ६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २ दशमलव ९८ प्रतिशत रहेको छ ।

त्यसैगरी देशभरका कुल परिवारमध्ये ४१ लाख २२ हजार छ सय ९० अर्थात् ६१ दशमलव ८९ प्रतिशत परिवारमा कम्तीमा एक जना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिएको छ । कुल दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ जनसङ्ख्यामध्ये ७४ लाख नाै हजार एक सय ८१ जना अर्थात् २५ दशमलव ५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता रहेको पाइएको छ । यसैगरी कुल एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१ जना पुरुषमध्ये २६ दशमलव ४२ प्रतिशत र कुल एक करोड ४९ लाख ११ हजार २७ जना महिलामध्ये २४ दशमलव ७४ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा एउटा खाता रहेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशभरका कुल परिवारमध्ये आठ लाख ३६ हजार एक सय २७ अर्थात् १२ दशमलव ५५ प्रतिशत परिवारमा कम्तीमा एक जना व्यक्तिले प्राविधिक तथा व्यावसायिक शिक्षा वा तालिम लिएको देखिएको छ । जम्मा १० लाख ८१ हजार ६४६ जना व्यक्ति अर्थात् ५ दशमलव ६७ प्रतिशत व्यक्तिले याे तालिम लिएका छन् ।

त्यसैगरी देशभरका कुल परिवारमध्ये २५ दशमलव ५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिएको देखिएको छ । सबैभन्दा बढी मधेस प्रदेशमा २८ दशमलव ८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१ दशमलव ९६ प्रतिशतले ऋण लिएको तथ्याङ्क छ ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका उप–प्रमुख तथ्याङ्क अधिकारी डा. हेमराज रेग्मीले सार्वजनिक गरिएको तथ्याङ्कले हाम्रो वित्तीय पहुँच, सीपयुक्त जनशक्तिको अवस्था, घरको अवस्था कस्तो छ लगायतका विषय समेटिएको बताउनुभयो । उहाँले यो तथ्याङ्कले जनशक्ति योजना निर्माण गर्न र राष्ट्रले निर्माण गर्ने आवास योजना बनाउन सघाउ पुग्ने पनि बताउनुभयो । उहाँले योजना तर्जुमा गर्नका लागि पनि यसको भूमिका हुने उल्लेख गर्नुभयो ।

उप–प्रमुख तथ्याङ्क अधिकारी रेग्मीले झन्डै छ लाखभन्दा बढी घर रित्तो अवस्थामा रहेको पनि बताउनुभयो । उज्यालो

          October 30, 2023 9:12 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...