युएस-बंगला विमान दुर्घटनाको एक वर्ष, बिर्सिनै नसक्ने क्षण
आर्यन धिमाल
युएस–बंगला विमान दुर्घटना भएको एक वर्ष पुगेको छ। उक्त विमान दुर्घटनामा परी ५१ जना यात्रुले ज्यान गुमाएका थिए। २०७४ साल फागुन २८ गते थियो त्यो दिन। घटना अझै मानसपटलमा ताजै छ। घटनास्थलको त्यो कहाली लाग्दा दृश्यहरु अझैपनि दिमागमा झलझल्ती आइरहन्छन्। त्यो दिन दिउँसो करिब ३ बजिसकेको थियो। त्यति बेला म आफ्नो विहानी कार्य सकाएर अफिसको खाली कोठामै आराम गरिरहेको थिए। थकित भएकै कारण म निदाउन खोजिरहेको थिए। त्यतिकैमा मेरो मोबाइलमा रिङ बज्यो। त्यो सुनेर म झल्याँस्स ब्युझिँए। त्यसपछि आफ्नो मोबाइल हेर्दा अफिसकै नम्बरबाट कल आइरहेको रहेछ र मैल कल उठाए।
त्यतिबेला मैले कल्पना पनि गरेको थिइन् की त्यो कल निकै अप्रिय घटनाको हुनेछ भनेर। मेरो कानमा एक्कासी दुर्घटना भएको समाचारले ठक्कर हान्यो। त्यो कल अफिसकै एक जना सरले गर्नु भएको थियो। उहाँले मलाइ विमान दुर्घटना भयो भन्दै घटना स्थल जानु पर्ने बताउनु भयो। विमान दुर्घटना भएको खबरले म झनै निन्द्राबाट छ्याङ्ग भए।
त्यसपछि मैले आफ्नो क्यामेर ब्याग सबै तयार पारेर अफिसकै सहकर्मीलाई लिएर हामी दुर्घटनास्थल तर्फ लाग्यौं। युएस–बंगला एयरलाइनसको उक्त विमान एक घण्टा पहिले नै करिब सवा दुई बजेतिर दुर्घटना भइसकेको थियो। दुर्घटना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी भेगतिर भएको थियो। त्यसबखत म र मेरा सहकर्मी सिधैं विमानस्थलको पश्चिम तिरको गेटबाट दुर्घटनास्थलसम्म जान खोज्यौं। तर दुर्घटनाकै कारण सुरक्षा व्यवस्था पहिले नै कडा पारिएको थियो। मिडियालाई समेत भित्र जान रोक लगाइएको थियो। दुर्घटना भएको थाहा पाएरै त्यहाँ हेर्न आउने सर्वसाधारणको पनि उत्तिकै भीड देख्न सकिन्थ्यो।
भित्र छिर्न नपाएपछि हामी पुन कोटेश्वर हुँदै विमानस्थलको पूर्वी तर्फ रहेको गेटमा पुग्यौं। जहाँ नेपाल आर्मीका एक जना सैनिक सुरक्षाका निम्ति खटिनु भएको थियो। त्यहाँ पनि हामीलाई पहिल्यै धेरै मिडियाकर्मी गइसक्नु भयो भन्दै रोक लगाइयो। तर हार्मीलाई जसरी भएपनि दुर्घटनास्थलमा गइ त्यहाँको दृश्य कैद गर्नुथियो। त्यतिकैमा अन्य मिडियाका साथीहरु पनि आउनुभयो। उहाँहरुलाई पनि भित्र जान दिइएन। हामीले बल्ल बल्ल सुरक्षामा खटिएका ती सैनिकलाई कन्भिन्स गर्यौं र भित्र छिर्न पायौं।
भित्र छिरीसकेपछि मैले आफ्नो ब्यागबाट क्यामेरा निकालेर हतारहतार घटनास्थलतर्फ अघि बढे। प्लेन दुर्घटना भएको स्थलबाट धुँवा आइरहेको टाढै बाट देख्न सकिन्थ्यो। जति अघि बढ्दै गए त्यति मनलाई स्तब्ध पार्ने दुर्घटनाका ती दृश्यहरु झनै स्पष्ट हुँदै गए। विमान घिस्रदैं दुर्घटना भएको कारण वरपर रहेका घाँसे मैदानमा समेत पुरै आगो लागेर घाँसहरु कालै भएको देख्न सकिन्थ्यो।
त्यहाँ पुग्दा बचाव दलका सुरक्षाकर्मीहरु उद्दारका लागि खटिरहेका थिए भने दमकलबाट विमानमा लागेको आगो निभ्याउने प्रयास भइरहेको थियो। विमान पुरै ध्वस्तै भइसकेको थियो। विमानको त्यस्तो अवस्था देख्दा लाग्थ्यो भित्र रहेका सबै यात्रु अब जिवित रहेनन्।
विमानमा चालक दलका चार जनासहित ७१ यात्रु थिए। जसमध्ये ४९ जनाको घटनास्थलमै मृत्यु भइसकेको थियो भने २२ जनालाई विभिन्न अस्पतालमा उपचारका लागि लगिएको थियो। पछि अन्य थप दुई जनालाई पनि मृत घोषित गरियो। मृत्यु हुनेहरुमा २२ जना नेपाली, २८ जना बङ्गलादेशी र एक चिनियाँ नागरिक थिए। विमानमा ३३ नेपालीसहित अन्यदेशका नागरिक सवार थिए। सुरक्षाकर्मीहरु लाशलाई एकै स्थानमा ल्याउँदै जम्मा गर्न व्यस्त थिए।
आगोमा परेरै होला विमानबाट निकालिएको शवहरु पुरै जलेको अवस्थामा थियो। विमानबाट निकालिएको शव हेर्दा जलेर कालो भएको दाउराका मुढा झै अरठ्ठ परेका थिए। त्यस्तो दृश्य देखेर म एकछिन् स्तब्ध भए। मेरा यी हातका औंलाले क्यामेराको त्यो क्लिक बटम दबाउन समेत सकिरहेको थिएन। भित्री मनबाटै यस्तो दृश्य कैद गर्दिन भन्ने सोच आइरह्यो। तर म पनि पत्रकारिताको धर्ममा बाँधिएको थिए। त्यसपछि मैले आफूलाई जसोतसो सम्हाल्दै त्यहाँको कहाली लाग्दो दृश्यलाई कैद गर्न सुरु गरे। जुन दुर्घटना मैले आफ्नो रिपोटिङका क्रममा देखेको अहिले सम्मकै ठूलो र अविस्मरणीय दुर्घटना थियो। (दुर्घटना सस्मरण)
March 12, 2019 11:14 am | प्रवास