अमलेखगञ्जमा पेट्रोल भण्डारण ‘ट्याङ्क’ निर्माण सुरु
बारा – बिहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइप लाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । दोस्रो चरणको कार्यअन्तर्गत आईओसीको प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह (ट्याङ्क) निर्माण सुरु भएको हो ।
मोतिहारीबाट पाइप लाइनमार्फत डिजल आयात गर्ने पहिलो चरणको परियोजना सम्पन्न भएपछि पाइप लाइनबाट पेट्रोल आयात गर्न दोस्रो चरणको कार्य सुरु भएको नेपाल आयल निगमको अमलेखगञ्ज डिपोले जनाएको छ । मोतिहारीदेखि अमलेखगञ्ज ७६ किमीको दुरी रहेको छ । नेपाल र भारतबीच भएको सम्झौताअनुसार दोस्रो चरणको कार्य इन्डियन आयल कर्पोरेशन (आईओसी)ले गर्ने बताइएको छ ।
याे पूर्वाधार निर्माण गर्न एक अर्ब ३० करोड रुपैयाँ लाग्ने अनुमान रहेको डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिनुभयो । भण्डारण गृह निर्माण नभएका कारण पाइप लाइनबाट पेट्रोल ल्याउन नसकिएको उहाँले भन्नुभयो । याे परियोजनाअन्तर्गत पहिलो चरणको २०७६ भदौ २४ गते सम्पन्न कामबाट पाइप लाइनबाट डिजल आयात गर्न सुरु भएको बताइएको छ ।
दोस्रो चरणअन्तर्गत अमलेखगञ्जमा पेट्रोल भण्डारण गर्न चार हजार एक सय किलोलिटर क्षमताका दुई ट्याङ्की निर्माण भइरहेको छ । साथै डिजल र पेट्रोलको गुणस्तर परीक्षण गर्न प्रयोगशाला र आधुनिक प्रविधिसहित ट्याङ्कर लोड र अनलोड गर्न २४ वटा लोडिङ फिलिङ्गसेट निर्माण गर्न लागिएको हो ।
यो प्रणालीबाट लोड अनलोड गर्दा आगलागीको जोखिम कम हुन्छ । पेट्रोल चोरी र ढुवानीको समस्या हट्ने विश्वास लिइएको छ । त्यस्तै मोतिहारीमा पनि पेट्रोल भण्डारण गृह निर्माण भइरहेको छ । विगतमा रक्सौलबाट अमलेखगञ्जसम्म ३५ किमीको दुरीमा ट्याङ्करमार्फत पेट्रोलियम पदार्थअन्तर्गत पेट्रोल र डिजल आयात भइरहेको थियो । अहिले पाइप लाइनबाट प्रतिघण्टा दुई सय ५० किलोलिटरका दरले डिजल आयात भइरहेको बताइएको छ ।
पहिलो चरणको परियोजनामा पाइप लाइनमार्फत डिजल आयात गर्न नेपाल आयल निगम र आईओसीको संयुक्त लगानीमा मोतिहारीदेखि अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निमार्णको काम दुई अर्ब ७५ करोड भारतीय रुपैयाँमा सम्पन्न भएको थियो । अमलेखगञ्जमा अहिले १९ हजार किलोलिटर क्षमताको डिजल र दुई हजार एक सय किलोलिटर पेट्रोल भण्डारण गर्ने क्षमता छ । बजारको मागअनुसार पाइप लाइनमार्फत डिजल आयात भइरहेको छ । याे पाइपलाइनबाट आयात गरिएको डिजल वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, काठमाण्डाै, पोखरा, चितवनलगायत जिल्लामा बिक्री वितरणका लागि पठाउने गरिएको छ ।
नेपालका तर्फबाट तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा र भारतका तर्फबाट प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानबीच २०७२ भदौ ७ गते पेट्राेलियम पाइप लाइन परियोजना निर्माण गर्नका लागि सम्झौता भएको थियो । आउँदाे सन् २०२४ जनवरीमा पूर्वाधार निर्माण सकेर पाइप लाइनबाट पेट्रोल आयात गर्ने आयल निगमको लक्ष्य रहेको अमलेखगञ्ज डिपोले जनाएको छ । उज्यालो
August 20, 2022 2:41 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता