दोधारा–चादँनी : ‘उहिले विकट, अहिले समृद्ध’
कञ्चनपुर – दोधारा चादँनीका उपमेयर गङ्गादेवी जोशीको परिवार २०२७ सालमा जाजरकोटबाट बसाइँ सरी कञ्चनपुरको दोधारा–चादँनी आयो । कञ्चनपुरको भौगोलिक रूपले विकट महाकाली नदी पारिको दोधारा चादँनीमा जोशी परिवारले त्यो बेला अभावै अभाव झेल्नुपर्यो ।
‘वन्यजन्तुको डरदेखि सदरमुकाम महेन्द्रनगर पुग्नको कठिनाइ विगतमा थिए’, उहाँले भन्नुभयो, ‘अहिलेको विकास हेर्दा सपना जस्तै लाग्छ ।’ कञ्चनपुरको टापुका रूपमा चिनिएको दोधारा चादँनीमा २०२२ सालको सेरोफेरोमा बसोबास थालिए पनि महाकाली नदीमा झोलुङ्गे पुल बनेपछि मात्रै सुखका दिन आएको जोशी बताउनुहुन्छ ।
‘२०५८ सालमा तत्कालीन जनप्रतिनिधिको विशेष पहलमा दोधारा चादँनी जोड्ने झोलुङ्गे पुल बनेपछि हामी सदरमुकाम र मूलधारसित जोडिएका हौँ’, उहाँले भन्नुभयो, ‘त्यसअघिका दोधारा चादँनीवासीको पीडा अहिले शब्दले व्यक्त गर्न सकिँदैन ।’
झोलुङ्गे पुल बन्नुअघि हिउँदमा घण्टौँ बगरमा हिँडेर महेन्द्रनगरलगायतका ठाउँमा आवातजावत गर्नुपरेको थियो । ‘बर्खामा स्याउले हुँदै भारतको वनबासाको पुल भएर नेपाल आउनुपर्ने बाध्यता थियो’, जोशीले भन्नुभयो, ‘वनबासा पुल पुग्नुअघि चोरी डकैतीका साथै जङ्गलमा जनावरको डर हुन्थ्यो ।’
महाकाली नदीमा झोलुङ्गे पुल बनेपछि डुङ्गा र भारतीय भूमिबाट ओहोरदोहोर गर्नुपर्ने बाध्यता हटेको छ । दोधारा चादँनीवासी अहिले ठूला सवारी साधन (गाडी) लिएर निर्माणाधीन चार लेनको पक्की पुलबाट सहजै आवतजावत गरिरहेका छन् । ‘त्यो बेला यहाँ वन फाँडेर खेतीपाती गर्नुपर्ने तर खाद्यान्न लिन भारतकै भर पर्नुपर्ने बाध्यता थियो’, दोधारा चादँनी नगरपालिका १ का राजेन्द्र चन्दले भन्नुभयो, ‘न यहाँ एम्बुलेन्स थिए, न त डाक्टर नै ।’
सडक, स्वास्थ्य र शिक्षाको पहुँचबाट टाढा रहेको यहाँ २०५० सालअघि स्थानीयवासीले धेरै समस्यासित जुध्नुपरेको थियो । ‘अहिले त स्याउलेदेखि कुतियाकवरसम्म पक्की सडकदेखि हरेक खोला नालामा पक्की पुल बनिसके’, चन्दले भन्नुभयो, ‘सुक्खा बन्दरगाह र चार लेनको पक्की पुलले दोधारा चादँनी आर्थिक समृद्धिको हब भइसक्यो ।’
झोलुङ्गे पुल बनेपछि दुःख, कष्ट नै हराएको चन्द बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘चार लेनको पक्की पुल र सुक्खा बन्दगाहले सुदूरपश्चिमकै आर्थिक विकासमा टेवा पुग्ने छ ।’ केही वर्षअघि भारतीय रुपैयाँको कारोबार हुने दोधारा चादँनीमा अहिले त्यो विस्थापित भइसकेको छ ।
‘यहाँ विकासका ठूला आयोजना आउँदा जग्गाको कारोबारसमेत ह्वात्तै बढेको छ’, उहाँले भन्नुभयो, ‘अब दोधारा चादँनी विकट होइन, जिल्लाकै आर्थिक गतिविधिको मुख्य स्थान बन्नेमा हामी आशावादी छौँ ।’ २६ हजार जनाभन्दा बढी मतदाता रहेको दोधारा चादँनी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा पर्छ । दोधारा चादँनी नगरपालिका बन्नुअघि यहाँ दुई वटा गाविस थिए ।
सरकारले नै वन फँडानी गरेर बस्ती बसाउन थालेपछि २०२२ सालयता विभिन्न व्यवसाय तथा रोजगारीका लागि भारत जानेहरू त्यो बेला यहाँ बस्न थालेका हुन् । महाकाली नदीमा आउने बाढी नियन्त्रणका लागि वर्षौँअघि यहाँ नदी क्षेत्रको २२ किलोमिटर तटबन्ध निर्माण भएको थियो । पछिल्ला वर्षहरूमा बाढीले कटान गर्दै बस्ती बस्ने खतरा बढ्न थालेपछि यहाँ तटबन्ध निर्माणमा जोड दिइएको छ ।
बाजुराबाट २०३२ सालमा दोधारा चादँनी सर्नुभएका दोधारा चादँनी नगरपालिका ४ का ७३ वर्षीय भीमबहादुर सिंह आफू यहाँ आउँदा कुवा कोरेर पानी खाएको बताउनुहुन्छ । ‘पिठो पिस्न भारतीय बजार जानुपर्ने बाध्यता थियो’, उहाँले भन्नुभयो, ‘महाकाली तरेर महेन्द्रनगर आउन जोखिम मोल्नुपर्थ्यो ।’ उहाँ २० वर्ष आफैँ डुङ्गा चलाएर वारपार गरेको सुनाउनुहुन्छ । ‘डुङ्गाको सहयोगमा नदी तर्नेहरू प्रतिव्यक्ति पाँच रुपैयाँ तिर्ने गर्दथे, एक पटकमा ४० क्विन्टलसम्म ढुवानी गर्दथ्यौ’, उहाँले भन्नुभयो । पुल बनेपछि मात्र डुङ्गा बन्द भएको हो । उज्यालो
August 23, 2022 5:24 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग