

आगलागीका घटना बर्सेनि बढ्दै : १० वर्षमा ७ सय ६९ जनाले ज्यान गुमाए

काठमाण्डाै – नेपालमा बर्सेनि आगलागीका घटना बढ्दै गएका छन् । आगलागीका घटना बढ्न थालेसँगै जनधनको क्षति पनि बढेको छ । आगलागीबाट गएको १० वर्षमा ७ सय ६९ जनाले ज्यान गुमाएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
२०७० साल वैशाखदेखि अहिलेसम्म १८ हजार ७ सय ९१ वटा आगलागीका घटनामा ७ सय ६९ जनाको ज्यान गएको तथ्याङ्क छ । प्राधिकरणको तथ्याङ्कअनुसार यो अवधिमा २२ अर्ब २३ करोड रुपैयाँभन्दा धेरै आर्थिक क्षति भएको छ । डढेलोबाट काठपात, जङ्गली जनावर, जडीबुटीसहित ठूलो पर्यावरणीय क्षति हुने गरेको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार विगत १० वर्षमा आगलागीका घटना तेब्बरले वृद्धि भएका छन् । आउँदा दिनमा क्षति न्यूनीकरण तथा व्यवस्थापनका लागि संरचनागत सुधार, उपकरण हस्तान्तरण, सूचना प्रणालीको विकास, प्रभावकारी सञ्चार, तहगत प्रशिक्षणसहितका पहल गरिरहेको उहाँले बताउनुभयो ।
प्राधिकरणले आगलागी, वन डढेलो, चट्याङलगायत सबै प्रकारका विपद् जोखिमको जानकारी प्राप्त गरी त्यसअनुसार न्यूनीकरण तथा व्यवस्थापनका कार्य सञ्चालन गर्न सबै जानकारी एउटै पोर्टलमा व्यवस्थित गर्ने प्रणाली सुरु गरेको छ ।
प्राधिकरणका उपसचिव तथा डढेलो विज्ञ सुन्दरप्रसाद शर्माले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा वन डढेलो तथा आगलागीका घटना अझ बढ्न सक्ने भएकाले त्यसतर्फ राज्यका सम्बन्धित सबै निकाय र उपभोक्ता पनि सचेत हुनुपर्नेमा जोड दिनुभएको छ ।
प्राधिकरणले इलाम, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, सल्यान, सुर्खेत, बाँके, बर्दिया, अछाम, कैलाली, डोटी, डडेलधुरा र कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयमा त्यससम्बन्धी आवश्यक उपकरण वितरण गरिएको जनाएको छ ।
वितरण गरिएका उपकरणका सेटमा पम्पका अलवा फायर स्वाटर, फायर र्याक, फायर एक्स हो, प्राथमिक उपचारका सामान, फायर फाइटिङ जम्प सुट, फायर बुट, हेल्मेट, ब्याक प्याक जम्प, हेड टर्च, बेल्चालगायत छन् ।
आगलागी तथा वन डढेलोसहित सबै खालका विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यमा संस्थागत रुपमै स्वयम्सेवक परिचालन गर्नका लागि प्राधिकरणले सूचना प्रणाली तयार गरेको छ । अघिल्लो वर्ष माघमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १२औँ बैठकले ‘विपद् व्यवस्थापन स्वयंसेवक ब्युरो गठन तथा परिचालन कार्यविधि–२०७८ पारित गरेपछि रोकथाम र नियन्त्रणका थप काम सुरु भएको हो ।
प्राधिकरणले अब प्रि– मनसुनमा हुन सक्ने आगलागी, हुरी–बतास, चट्याङलगायतका विपद्जन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी तीव्र पारेको पनि जनाएको छ । उज्यालो
March 24, 2023 8:26 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

भारतविरुद्ध जवाफी कारबाही सुरु गरेको पाकिस्तानी सेनाको दाबी

भारतमा रहेका नेपालीलाई सुरक्षासम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह

भारत–पाकिस्तान तनाव बढेपछि नेपालका सीमा क्षेत्रमा उच्च सतर्कता

जीप भासिएको ठाउँमा भूगर्भविद्को टोलीले अध्ययन राेक्याे

ओमानमा भिसाविहीन श्रमिकलाई आममाफी, तीन महिनाभित्र स्वदेश फर्कनुपर्ने

लखन थापामगर गोल्ड कपको पाँचौं संस्करण २५ जुलाई २०२५ मा आयोजना हुँदै

