

किशोरावस्थामै पाठेघरविरुद्धकाे खाेप लगाउँदा प्रभावकारी हुन्छ

सरकारले आउँदो माघ २३ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान शुरू गर्दैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीलाई निःशुल्क खोप दिन लागेको हो । १५ दिनसम्म चल्ने खोप अभियानमा देशभरका १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार जनाभन्दा धेरै किशोरी लाभान्वित हुने मन्त्रालयले जनाएको छ । माघ २३ गते क्यान्सर दिवसका अवसरमा देशव्यापी खोप अभियान शुरू हुँदैछ । अहिले नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको मन्त्रालयको तथ्याङ्क छ । किशोरीलाई खोप दिएमा क्यान्सरबाट जोगाउन प्रभावकारी हुने मन्त्रालयको विश्वास छ । यसै विषयमा मल्लिका थापाले स्वास्थ्य मन्त्रालयको बाल स्वास्थ्य तथा खोप महाशाखा प्रमुख अभियान गौतमसँग गरेको संक्षिप्त कुराकानी –
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने तयारी कहाँ पुग्यो ?
हामीले पाठेघरको मुखको क्यान्सरविरुद्धको विद्यालय केन्द्रित एचभीपी खोप अभियान माघ २२ गतेदेखि १५ दिनसम्म देशैभर एकैपटक सञ्चालन गर्दैँछाैँ । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० का छात्रा र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरेर खोप अभियान सञ्चालन गर्न लागिएको हो । झन्डै १६ लाख ८८ हजार ६ सय ७८ जना किशोरीलाई खोप लगाउने लक्ष्य छ । देशैभरि खोप तयारी अवस्थामा रहेको छ । नेपालले पाउनुपर्ने सबै खोप आइसकेको छ । हाम्रो सबै तयारी सकिएकाले अब खोप दिन हाम्रा संयन्त्र तयारी अवस्थामा छन् ।
खोप अभियान किन किशोरी लक्षित चालाउन लागिएको हो ?
अध्ययनहरूले किशोरावस्थामै खोप लागायो भने प्रभावकारी उच्च रहने देखाएका छन् । विश्व स्वास्थ्य सङ्गठनले पनि खोपका लागि १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई सिफारिश गरेको छ । यसमा यो उमेर समूहका किशोरीले एक मात्रा लगाए पुग्छ भनिएको छ । त्यहीअनुसार हामीले काम गरिरहेका छौँ ।
कक्षा ६ देखि १० सम्म पढ्ने किशोरी १४ वर्षभन्दा बढी उमेरको भए के गरिन्छ ?
कक्षा ६ देखि १० सम्म पढ्ने किशोरी १४ वर्षभन्दा बढी उमेरका हुन सक्छन् । धेरैजसाे १० वर्ष उमेरका किशोरी कक्षा ६ मा पढ्ने गरेको देखिएको छ । तर कक्षामा १/२ वर्ष उमेर तलमाथि भयो भने पनि खोप दिन्छौँ ।
अविवाहित किशोरीलाई खोप दिइने भनिएको छ, यदि कुनै कक्षामा विवाहित किशोरी रहेछन् भने के गर्ने ?
कुनै किशोरी विवाहित अथवा गर्भवती भएको हकमा खोप दिँदैनौँ । विवाहित भएका किशोरीलाई खोप दिए पनि कमै मात्रा काम गर्ने हुनाले खोप नदिने भनेका छौँ । ठूलाे सङ्ख्यामा खोप जाने भएकाले गर्भवती नरहेमा खोप पाउँछन् । अध्ययनका अनुसार गर्भवती किशोरीले खाेप लगाउँदा कम प्रभावकारी देखिएको छ । अहिलेको समयमा हेर्दा कतिपय किशोरी विद्यालयमा भर्ना भएको तर नगएको पनि देखिएको छ । ती किशोरीलाई खोप दिने लक्षित समूह मान्दैनौँ ।
विद्यालयस्तरमा गएर किशोरीलाई खोप लगाउने भनिएको छ, सबै विद्यालयमै गएर खोप लगाउने हो ?
हो, हामी सबै विद्यालयमा जान्छौँ । त्यसमा सरकारी, निजी र सामुदायिक गरी सबै खालका विद्यालय पर्छन् ।
विद्यालयबाहिरका किशोरीले कहाँ गएर लगाउने ?
विद्यालयबाहिर रहेका किशोरीलाई दुई वटा ठाउँ दिएका छौँ । उनीहरूले नजिकैको विद्यालय र स्वास्थ्य संस्थामा गएर पनि लगाउन सक्छन् । साथै कुनै समुदाय पाठेघरको क्यान्सरको जोखिममा छ भने हामी त्यहीँ गएर शिविर सञ्चालन गरेर सेवा दिन्छौँ । कोही छुट्यो भने पनि पछि थाहा पाएपछि सम्बन्धित ठाउँमै गएर खोप लगाउने योजना बनाएका छौँ ।
आएको खोपले देशभरका किशोरीलाई पुग्छ ?
राष्ट्रिय जनागणनाअनुसार हामीले १६ लाख ८८ हजार ६ सय ७८ जना किशोरीको तथ्याङ्क लिएका थियौँ । जनगणनाको तथ्याङ्कलाई आधार मानेर खोप मागेका थियौँ । यही सङ्ख्याका किशोरीलाई लगाउनका लागि १७ लाख ७० हजार २० वटा खोप प्राप्त भएका छन् । यी खोप पर्याप्त छन् । एक जना किशोरीले १० देखि १४ वर्षको उमेरमा एक पटक खोप लगाएपछि जीवनभर काम गर्छ ।
किशोर अवस्थामा पाठेघरको क्यान्सरविरुद्धको खोप लगाएपछि ढुक्क हुन सकिन्छ ?
विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचभीपी खोपको प्रभावकारिता ९५ देखि शतप्रतिशत रहेको भनेर अध्ययनहरूले देखाएका छन् । त्योअनुसार एउटा खोप लगाएपछि ती उमेर समूहलाई जीवनभर कम गर्छ भनिएको छ । अहिले किशोरीलाई दिने ‘बायोभ्यालेन्ट खोप’ हो । एचपीभी खोपका विभिन्न प्रजाति हुन्छन् । कोभिडजस्तै एचपीभीको पनि धेरै प्रजातिका भाइरस हुन्छन् । ती प्रजातिमध्ये सबैभन्दा क्यान्सर गराउने भनेको एचपीभी १६ र १८ हुन् । विश्व समुदाय र नेपालमा पनि एचपीभी १६ र १८ भएकाले यसलाई लक्षित गरी खोप लगाउन लागिएको हो । यो खोप लगाएपछि एचपीभी १६ र १८ ले गराउने क्यान्सर लाग्दैन । यद्यपि एचपीभीका अरू प्रजातिले न्यून सङ्ख्यामा क्यान्सर गराउँछन् । तर भविष्यमा किशोरीलाई क्यान्सर हुँदैन भनेर भन्न सकिँदैन । त्यसैले खोप लगाएका ८० प्रतिशतभन्दा बढी कारक देखिएकालाई एचपीभी १६ र १८ बाट बचाउँछ । तर भोलि गएर यसमा अरू कारक हुन सक्छन् । त्यसका लागि नियमित रूपमा परीक्षण गर्नुपर्छ । अहिले किशोरीले खोप लगाए पनि ३० वर्षको उमेर पुगेपछि नियमित रूपमा पाठेघरको मुखको परीक्षण गराउनुपर्छ । अहिले कसैले खोप छुटाए भने पनि नियमित रूपमा परीक्षण गर्ने र लाग्यो भने उपचार गरेर पनि क्यान्सरबाट बच्न सकिन्छ । यसमा खोप, नियमित रूपमा परीक्षण र सफल उपचार गर्नेसहित ३ वटा रणनीति छन् ।
खोप लगाइसकेपछि कस्ता खालका समस्या देखिन सक्छन् ?
खोप लगाइसकेपछि लगाएको ठाउँमा हल्का सुन्निने र दुख्ने हुन सक्छ । कुनै बेला सानो फलामको काँटीले गोप्दा हुने दुखाइजस्तै सामान्य असर हुन सक्छ । त्यसका लागि हामीले किशोरीलाई परामर्श गरिरहेका छौँ । साथै उनीहरूलाई खोप लगाउँदा छुट्टै कक्षामा लगेर लगाउने व्यवस्था मिलाएका छौँ । त्यसैले सामान्य खालका लक्षण मात्र देखिने हुँदा नडराइकन खोप लगाउन आग्रह गर्छु ।
अहिले निःशुल्क खोप चलिरहेको छ, यदि पैसा तिरेर खोप लगाउन पर्यो भने कति पर्छ ?
यो खोपको मूल्य बजारमा विभिन्न खालका छन् । एचपीभी खोपको मूल्य बजारमा ६ हजार ३ सय रुपैयाँभन्दा बढी रहेको छ ।
अहिले पैसा तिरेर कसलाई लगाउन मन लागे नेपालमा उपलब्ध छ कि छैन ?
यो खोपका लागि विभिन्न निजी सङ्घ–संस्थाले काम गरिरहेका छन् । साथै नजिकैको स्वास्थ्य संस्थासँग पनि सम्पर्क गर्न सकिन्छ । तर सरकारले अहिले लक्षित समूहलाई निःशुल्क प्रदान गर्दैछ ।
लक्षित समूहबाहेक कसैलाई खोप लगाउन मन लाग्यो भने कस्तो मानिसले लगाउन सक्छन् ?
अहिले विश्व स्वास्थ्य सङ्गठन अथवा नेपालको राष्ट्रिय खोप सल्लाहकार समितिले एउटा मापदण्ड बनाएको छ । सबैभन्दा बढी प्रभावकारी हुने उमेर समूहलाई खोप दिन लागेका हौँ । यसबाहेक पनि यौन जीवनमा सक्रिय नभएका किशाेरी अथवा महिलालाई खोप दिन सकिने भनेर अध्ययनहरूले देखाएको छ । यद्यपि यसमा पनि उमेर बढी भएकाले लगाउँदा खोपको प्रभावकारिता घट्दै जाने देखिएको छ । यदि लगाउनैपरे खोप लगाउनु पहिले स्वास्थ्य संस्थामा गएर जाँच गरेर मात्र लगाउनुपर्छ ।
पाठेघरको मुखको क्यान्सर खास के कारणले लाग्छ ?
पाठेघरको मुखको क्यान्सरको मुख्य कारक भनेको एचपीभीको सङ्क्रमण हो । महिलाको पाठेघरमा एक पटक वा धेरै पटक सङ्क्रमण भयो भने घाउ हुन्छ । त्यही घाउ पछि गएर क्यान्सरको रूपमा परिणत हुने हो । कति जनालाई लक्षण थाहा हुने गरी क्यान्सर लागिसकेकाे हुन्छ । ढिलो थाहा भएपछि जटिल प्रक्रियामा जान्छ । त्यसैले समयमै जाँच गर्नुपर्छ भनिएकाे हो । योनीबाट नियमित पानी बगिरहेको, यौन सम्पर्कपछि रगत बगिरहेको अथवा गनाउने पानी बगिरहेको, मानिसको तौल घटिरहेको, खान मन नलाग्ने भएको अवस्थामा पाठेघरको मुखको क्यान्सर भइसकेको हुन्छ । यस्तो भएको थाहा पाउनेबित्तिकै स्वास्थ्य संस्थामा गएर जाँच गराइहाल्नुपर्छ ।
यो रोग यौन सम्पर्क गरेपछि नै लाग्ने हो ?
महिला यौन जीवनमा सक्रिय भइसकेको अवस्थामा याे राेग देखिने हो ।
पाठेघरको मुखको क्यान्सरबाट बच्न परीक्षण कति समयमा गर्नुपर्छ ?
महिलाको उमेर ३० वर्ष कटेपछि परीक्षण गर्नुपर्छ । एक पटक परीक्षण गरेपछि हरेक ५/५ वर्षमा परीक्षण गर्दा राम्रो हुन्छ । यदि कोही एचआईभी सङ्क्रमित अथवा रोगसँग लड्ने क्षमता कम छ भने २५ वर्षदेखि हरेक ३/३ वर्षमा परीक्षण गर्नुपर्छ ।
नेपालमा महिलामा पाठेघरको मुखको क्यान्सर बढी देखिन थालेको छ, यसको रोकथाम गर्न के–के गर्न सकिन्छ ?
नेपाल सरकारले ३ वटा लक्ष्य लिएको छ । झन्डै ९० प्रतिशत किशोरीलाई खोप दिने, एचआईपी लागेको खण्डमा २५ वर्ष र अन्य ३० वर्षभन्दा बढी उमेर भएका ९० प्रतिशत महिलालाई नियमित परीक्षण गराउने र क्यान्सर लागेका कम्तीमा ९० प्रतिशत महिलाको सफल उपचार गराउने सरकारको लक्ष्य छ । त्यहीअनुसारको तयारी पनि भइरहेको छ ।
पाठेघरको मुखको क्यान्सर र खोपको सम्बन्धमा अहिले देखिएका भ्रम कस्ता छन् ?
यो खोप सुरक्षित छैन र खोप प्रयाेगका लागि आएको भन्ने सुनिन्छ । आजको दिनसम्म विश्वका १ सय ४५ वटा देशमा एचपीभी खोप सञ्चालन भइरहेको छ । नेपालले भन्दा केही सयम अगाडिदेखि ती देशहरूले सफलतापूर्वक खाेप अभियान सञ्चालन गर्दै आएका छन् । यो खोपलाई विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको छ । साथै नेपालको औषधि व्यवस्था विभागले पनि खोप प्रयोग गर्न मिल्छ भनेर स्वीकृत गरेको छ । त्यसैले यो खोप गुणस्तरीय भएकाले डर नमानेर सुरक्षित तरिकाले लगाउन अनुरोध गर्छु । खोप लगाइसकेपछि केही असरहरू देखिन्छ भन्ने सुनिँदै आएको छ । यसमा सामान्य खालका असर जस्तै– सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, केहीलाई ज्वरो आउने, रिँगटा लागेकाे जस्तो हुन सक्छ । यसअघि पनि नेपालमै यो खोप लगाएर अहिले सक्रिय जीवनयापन गरिरहेकाहरू छन् । धेरै मानिसले किनेर लगाउँछु भन्दा पनि नपाएको यो खोप हो । यो खोप बनाउन पनि गाह्रो र पाउन पनि समय लाग्छ । साथै किनेर लगाउन पनि महँगो पर्छ । अहिले नेपालले निःशुल्क उपलब्ध गराउन थालेको छ । त्यसैले एचपीभी खोप ढुक्क भएर लगाएर मौकाको फाइदा उठाउन अनुरोध गर्छु उज्यालो
January 21, 2025 5:14 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ पुग्यो

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता

दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा भैरहँदा प्रहरीले भन्यो, ‘अहिलेसम्म पक्राउ परेका छैनन्’

थरीथरीका आन्दोलनले काठमाण्डौको जनजीवन प्रभावित, मुख्य सडकमार्गमै हप्तौंदेखि अवरोध

