Thursday 21st November 2024

जन्म भुमीको याद ( भाग -२)

6 years अगाडी

‘जन्म भुमी, भाग- २

मलाई अझै याद आउछ !!!

त्यो कंचन, पवित्र, शान्त एवं स्वर्गीय ठाँउ,
न कुनै गाडिको कानको जालीनै फुट्ला जस्तो गरि बजाउने चर्को हर्न छ न त कुनै दमकल, एम्बुलेन्सको कोशौं टाढा सुनिने साईरन, न कुनै कलकारखानाहरुबाट निस्केको मानव स्वास्थ्यमा नै गम्भिर असर पार्ने एकोहोरो मसिनहरूको आवाज, न त मानिसहरुको भिडभाड अनि कोलाहल;
एकदमै शान्त,
मात्र आवाज सुनिन्छ त ती चरा चुरून्गिको चिरविर चिरविर । आकाशमा हेलिकप्टर, जहाज आउदा डॉंडा पारी क्षितिज देखि नै गॉंउलाई थर्कमान पारेर आउँथे, खादै गरेको खाना छाडेर होस् या जस्तोसुकै काममा ब्यस्त रहेपनि हवाईजहाज पैसा झारिदे…हवाईजहाज पैसा झारिदे …भनि घरको ऑंगनमा आई आकाशतिर फर्केर चिच्याएको अनि आँखाले भ्याउन्जेल सम्म रूखमा चढी चढी आँखा झिमिक्क नगरी जहाज, हेलिकप्टरलाई हेरेको मलाई अझै याद आउछ…

जति खाए पनि नपुग्ने अनि जे खाए पनि पच्ने त्यो अनौठो स्कूले बिद्यार्थी जीवन, घरबाट खाजाको लागि छुट्टाएकोले कहॉं चित्त बुझ्थियो र स्कूलको टिफिनको समयमा ती चन्चले मन यत्रतत्र डुलिरहन्थे, कहिले कॉंही पँधेर्नी आमैको बारीमा लटरम्म फलेका सम्झिदै मुखबाट पानी आउने ती रसिला अमिलाले हाम्रो मन लोभ्याउथे त कहीले गल्ला डॉंडॉं गौतम कमलदाईकोमा फलेका केही दुरीको बाटो बाटै लटरम्म फलेका देखिने ती स्वादिष्ट आरू अनि आरूबखडाले त झन् मन थाम्नै दिदैनथे;
कॉंईलादाईको वारिका रसिला ती उखुहरूले हामिलाई एक टकले हेरिरहेका हुन्थे; हाम्रै तल्लो बारीको पाटामा मकै भित्र फलेका मादल जत्रा ती हरीया कॉंक्राहरूले हामीलाई नै चिहाईरहेका हुन्थे; भिरमा लटरम्म फलेका जामुन, खिलुवा, खन्यौउ, भर्लाका टाटाहरूले त अझ लोभ्याई भिर पाखा सम्म नै पुर्याएको ती दिनहरुको मलाई अझै झलझलि याद आउँछ ।

मलाई अझै याद आउछ त्यो दिनको जुन अंग्रेजीको कक्षा ४ को ‘Mohan and his Dog’ भन्ने पाठको word-meaning पठ्नु पर्ने दिन हजुरआमाको घरमा गई बसेको र नपढी सिधै स्कुल आएको, अंग्रेजी पहीलो पिरीयड अनि सोधिने पहीलो विद्यार्थी नै म, नजाने पछी अंग्रेजीका गुरू जयप्रकाश सरको गालामा चड्कन अनि कानको कन्सिरी तात्ने गरी पाएको सजाय…

साथीभाईहरू मिलेर रवरको, रवर नभए, तीते पातीका पातको अथवा वनमारा झारको पातको गुच्छाको चुँगि बनाएर कसले धेरै खुट्टाले हान्ने अनि गेमको अन्तिममा Back shot हानेर पाईला गनेर नापी हार जीतको प्रतिशपर्धा…

स्कुलको पेटीमा रहेका ढुंगामा कति मेहनतले ढुंगा नै घोटेर गोलाकार गुच्छा वनाई फूर्सदको समयमा क़क्षाकोठा भित्रै खेल्ने गरेको, खेल्दा खेल्दै डिग बहादुर हेड सर आएर गुच्छा जफत गरी अब देखी नखेल्ने कबुल गराई कान समाई १०० पटक उठ बस गराएको…
नेपाली बिषयलाई महत्व नदिएर अनि नपढेर शब्दार्थ सोध्दा नजानेर खाएको कुलानन्द सरको पिटाई तथा गणितका दुना नजानेर शालिकराम सरको पल्लो कक्षा सम्म नै सुनिने गरी हातका पन्जाले ढाडमा हानेको मलाई हिजो जस्तो लाग्छ ।

लेकै फूल्ने लालि गुरॉंस घरबाट लेक तिर ठाडो मुन्टो लगाएर नियाल्दा निकै टाढा फूलै फूलको थुप्रो जस्तो देखीने ती मनमोहक पहाडहरू अनि तिनै लेकमा फूलेका लालीगुरॉंस, बल्ढे़ंगढीको गोरेटो हुँदै हातमा लालिगुराँसका गुच्छा हल्लाउँदै सत्यवती स्कूलमा पढ्न गएर आउने मिना दिदि, धनु दिदि, नारायण दाई भोजराजदाई, जंगे सर लगायतले ल्याईदिएका लालिगुराँसको प्रतिक्षामा घण्टौं सम्म बसेको मलाई याद छ ।

मलाई अझै याद आउछ दशैंको दिन घरमा टिका लगाईसके पछी शिरमा कस्का जमरा धेरै भनि प्रतिशपर्धा गर्दै धेरै घेरै मान्यजनहरू संग टिका थाप्न गएको तथा सेलरोटीको प्रसाद कसले बढी जम्मा गर्ने भनि गरेको तछाड मछाड…आफ्ना प्रतिशप्रधि साथीहरू बिच त्यहि कुरामा भएका बिवादहरू; तीहारमा ८/१० जना जम्मा भई देउसी भैलो खेल्न गाँउभरि धेरै दक्षिणा दिने घर छानि छानि गएको; दिनभरी भैलो खेली सॉंझमा दक्षिणा गनेर बराबर बॉंडी आ-आफ्नो भागमा परेको दक्षिणाको सबै चकलेट बिस्कुट किनेर खाएको ।

त्यो समिको ठूलो रूख;
साना देखी ठूलासम्म, वच्चा देखी बुढा पाका सम्म, वाटो हिड्ने बटुवादेखी गाईबाख्रा चराउने गोठालासम्म सवैको पृय अनि सबैको मानसपटलमा बस्न सकेको , फेदबाटै धेरै हांगा बिगामा फैलिएको, सानासाना बच्चाहरू समेत सजिलै चढ्न सक्ने त्यो लोकपृय रूख हो । यसको लोकपृयताको सबै भन्दा प्रमुख कारण हो हरेक बर्षको तिज र दशैंमा राखीने लूठे पिंग । जव जव तिज अनि दशैं नजिक नजिक आउदछन् तव तव समिको रूखको वरिपरीको रौनक फरक हुने; गाँउभरिका केटाकेटी युवायुवती मिलेर भिर पाखाबाट खर काटी संकलन गरेर स्कूलको ठूलो चउरमा सबै मिली पिंग बाटी त्यही समिको रूखको एउटा हॉंगामा बॉंधेर खेल्ने गरिन्थ्यो । पिंग बॉंधेको दिन देखी नखोल्दा सम्मका दिनहरुमा करिब ५/६ घण्टा उतैतिर बित्ने; पिंग खेल्न पाएपछि खाना खान पनि नपर्ने तथा सबै भोक प्यास मेटीने ती दिनको मलाई अझै याद आउछ !!!

नवीन पौडेल , रैनादेबी छहरा गाउपालिका , पाल्पा – हाल , नेपाल पोलिस मा कार्यरत , पद – इन्स्पेक्टर ।।

          September 15, 2018 12:23 am | साहित्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...