भारतीय भन्सारमा रोकिएका ट्याङ्कर नेपाल भित्रिए
बाँके। भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै रुपैडिहामा रोकेका पेट्रोलियम पदार्थ बोकेका १४० ट्याङ्कर नेपाल भित्रिएका छन्। अनलाइनमा समस्या आएपछि ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनसम्म सीमामै रोकिएका थिए।
नेपालगन्ज भन्सार कार्यालयका अधिकृत शरदकुमार केसीका अनुसार पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भारतीय भन्सारमा अनलाइन सेवा सञ्चालन भएपछि बिहीबार राति नेपाल भित्रिएको बताए। भारतले भन्सारमा अनलाइन प्रविधि लागू गरेपछि विभिन्न समयमा नाकामा समस्या हुँदै आएको उनले बताए।
भारतको बहराइच नजिकै अप्टिकल फाइबरमा समस्या आएर अनलाइन दर्ता नभएपछि ट्याङ्करसँगै अन्य मालबाहक ट्रकहरु रुपैडिहामै रोकिएका थिए। रु १० लाखभन्दा बढी ‘इनभ्वाइस’को सामानलाई भन्सार ‘क्लियर’ गराउन भारतीय भन्सारका डेपुटी कमिस्नरको अनुमति लिनुपर्छ।
गए राति मात्रै इन्धन आयात नभएको भए नेपालगञ्ज आसपासको क्षेत्रमा इन्धन अभाव हुनसक्ने देखिएको थियो। नेपाल आयल निगम इन्धन डिपो नेपालगञ्जका प्रमुख अभिषेककुमार ठाकुरले सबै ट्याङ्कर नेपाल भित्रिएकाले इन्धन अभाव नहुने बताए।
यो क्षेत्रमा निगमले डिजेल र पेट्रोल गोन्डाबाट, एटीएफ इलहावाद र एलपी ग्यास मथुराबाट आयात गर्दै आएको छ। डिपो प्रमुख ठाकुरका अनुसार निगमको डिपोमा एक हप्तालाई पुग्ने डिजेल र तीन दिनलाई पुग्ने गरी पेट्रोल भण्डारण क्षमता छ।
सीमामा एक्सरे मेसिन अलपत्र
भन्सार कार्यालयमा सीमाक्षेत्रमा निगरानी राख्न सहयोगी हुने दुई एक्सरे मेसिन एक वर्षदेखि गोदामै थन्किएका छन् । नेपाल प्रवेश गर्ने विन्दुमा सर्वसाधारण आवातजावत गर्दा ल्याउने/लैजाने हरेक सामानको जाँच गर्ने मेसिन प्रयोगविहीन भएका हुन्।
एउटा वाकथ्रु गेट छ भने अर्को लगेज जाँच्ने मेसिन छ। दुवै मेसिन रु एक करोड बढी मूल्यको रहेको भन्सार कर्मचारीले बताएका छन्। ती मेसिन एक वर्षअघि नेपालगञ्ज ल्याइएका थिए। यस्तै प्रकारको मेसिन विराटनगर पनि पठाइएको र त्यहाँ पनि प्रयोग नभएको कर्मचारीको भनाइ छ।
नेपालगञ्ज नाका हुँदै अहिले जोकोहीले चाहेमा जस्तोसुकै सामान लयाउन सक्छन् । त्यसलाई रोक्न प्रहरी, प्रशासन र स्वयं भन्सारका लागि उपयोगी हुने मेसिन भने त्यसै थन्किएको छ । भन्सारले मेसिन राख्ने उपयुक्त ठाउँ खोज्दाखोज्दै एक वर्ष बितेको बताएको छ । नेपाल प्रवेश गर्ने गेट नजिक सबैभन्दा उपयुक्त हुने भए पनि त्यहाँ मन्दिरका सटरहरु छन्।
उक्त सटरमा मेसिन राख्न उपयुक्त हुने भए पनि मन्दिर सञ्चालक गुठीले भन्सारलाई सटर दिन आनाकानी गरेको छ । त्यस्तै भन्सारकै तल्लो क्षेत्रको विन्दुमा अब मेसिन राख्ने तयारी भइरहेको भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले बताए। उनले आफू आउनुअघि नै उक्त मेसिन आएको र जतिसक्यो छिटो मेसिन जडान गर्ने जानकारी दिए। रासस
March 22, 2019 12:25 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग