जो नेपाली नोटका डिजाइनर थिए
काठमाण्डाै – कलाका शुभचिन्तक विश्वनाथ भेटवाल २०१९ सालतिर पलाञ्चोक भगवती स्कुल काभ्रेमा पढाउनुहुन्थ्यो । नेत्रबहादुर थापाले लेखेको चार कक्षाको भूगोल पुस्तकमा थियो । नेपालको राजधानी काठमाण्डाै उपत्यकाको चित्र ।त्यसमा सलल बग्दै गरेको कर्मनशा, बाग्मती, विष्णुमती नदी प्रष्टै झल्किन्थ्यो । उक्त चित्रमा रहेको फूलचोकी, शिवपूरीको सुन्दर दृश्यले लोभ्याउँथ्यो । त्याे सजिव चित्रमात्रै होइन अहिले चल्तीमा रहेको सुन्दर र आकर्षक देखिने नेपाली नोट होस् या स्वस्थानी व्रतकथाको पुस्तकमा रहेका चित्रहरू नै किन नहुन् ।
नेपाली कला क्षेत्रका मूर्धन्य कलाकार केशव दुवाडीको योगदान राष्ट्रका लागि अतुलनीय छ । विराटनगरमा १९७८ मङ्सिरमा जन्मिइ २०५३ साल पुस १८ गते निधन हुनुभएका दुवाडीको जीवनकाल नै कला साधनामा बितेको थियो । ‘धेरै छ दुवाडीका योगदान, न राज्यले खोज्न सकेको छ, न उहाँका शुभचिन्तकले नै, स्वस्थानीमा हेर्नुहोस्, नेपाली नोट नै भन्नुस्, जीवन्तता केमा कमी छ ? उहाँलाई सम्झनै पुगेन’, भेटवालले उल्लेख गर्नुभयो ।
गम्भीर कथालाई सहजरूपमा चित्रमा उतार्न सफल नेपाली चित्रकला जगत्का ख्यातिप्राप्त कलाकार केशव दुवाडी जुद्धकला पाठशालाका पहिलो हेडमास्टर हुनुहुन्थ्यो । विसं २०२४ ताका ललितकला महाविद्यालयका प्रमुख हुनुहुन्थ्यो । उहाँको बाह्रखरी वर्णमाला, दृष्टान्त चित्र, मुहारचित्रमा ठूलो योगदान छ । उहाँले अहिले चल्तीमा रहेको नेपाली नोट (रु एक, पाँच, १०, ५०, १००, ५०० र एक हजार) को डिजाइन गर्नु भएको थियो । उहाँले भारतबाट ‘फाइन आर्ट’मा स्नातक गर्नुभएको थियो ।
बुबाले कोरेका चित्रहरू हेर्दा आफूलाई पुराना दिनहरू ताजा भएर आउने छोरा प्रदीपकुमारको भनाइ छ । उहाँले बुबा भएर होइन कि एउटा राष्ट्रको कलाकार भएर सोच्दा साँच्चै नै राज्यले सम्झन नसकेको महसुस भएको बताउनुभयो । सम्झना बाँचिरहोस् भनेर तीन वर्षअघि परिवारले ‘केशव दुवाडी स्मृति प्रतिष्ठान’ स्थापना गरी प्रदीपले नेतृत्व गरिरहनु भएको छ । प्रतिष्ठानको कोषमा केही रकम थपिदिए पनि सरकारले योगदान गरेको छ भन्न पाइने उहाँ बताउनुहुन्छ । प्रतिष्ठानले दृश्य चित्र, व्यक्ति (मुहार) चित्र, दृष्टान्तचित्र, स्वस्थानी कथामा आधारित धार्मिक चित्रसहित उहाँका योगदान र जीवनी बुझाउने उद्देश्यले वृत्रचित्र नै तयार पारेको छ । झण्डै आठ महिना लगाएर रु एक लाखको लागतमा वृत्रचित्र निर्माण गरेको लेखक तथा निर्देशक रमेश खनालले बताउनुभयो ।
‘यसले केशव दुवाडी को हो ? भन्ने चिनारी दिन्छ, तर उहाँको योगदानलाई हामीले बिर्सनु भएन, यस्ता कलाकार ओझेलमा छन्, उहाँहरूलाई राज्यले र चेलाहरूले सम्झनु पर्छ’, खनालले थप्नुभयो ।
तत्कालीन अवस्थामा राजा वीरेन्द्र अध्यक्ष हुँदा तत्कालीन ललितकला संस्था (हाल नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान)मा आठ वर्ष उपाध्यक्ष र दुई वर्ष सल्लाहकार भएर काम गर्नु भएको थियो । ग्राफिक्समा दख्खल भएका, धार्मिक सोचका र विचारले प्रष्ट दुवाडीका चित्रहरू ठूलो वर्णमाला, पाठ्यपुस्तकमा धेरै समावेश भएका छन् । विगतमा उहाँको योगदान प्रशंसायोग्य रहेको स्मरण गर्दै वरिष्ठ मूर्तिकार तथा प्रतिष्ठानका पूर्व उपकुलपति ठाकुरप्रसाद मैनालीले दुवाडीको योगदान स्मरण गर्दै भन्नुभयो, ‘राजा वीरेन्द्रको अगाडिसमेत नाईँ भन्न सक्ने मान्छे ।’ उहाँ धेरै काममा दुवाडीसँगै काम गर्नुभएको थियो ।
सुविधा नभएको बेलामा समेत उहाँका प्रष्ट चित्रले धेरैलाई प्रभावित बनाउँथ्यो । काठमाण्डाैकाे गौरीघाटमा उहाँको घरमै ललितकला प्रज्ञा प्रतिष्ठानले सङ्ग्रहालय स्थापना गरेर दुवाडीको योगदानलाई ताजा बनाएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) का कुलपति कान्छाकुमार (केके) कर्माचार्यले उहाँले बनाएको मुहारचित्र सजीव र सुन्दर तथा जीवन्त रहेको स्मरण गर्नुभयो ।
अहिले बनेको वृत्रचित्रले उहाँका कृतित्व र जीवनीलाई उजिल्याउने प्रयास भएको कर्माचार्यको भनाइ छ । ‘दुवाडीको योगदान ओझेलमा छ, नाफाले विगतमा सङ्ग्रहालय बनायो, अब उहाँको जीवनीमा आधारित पुस्तक प्रकाशन गर्ने तयारीमा छौँ, अझै खोज र अनुसन्धान हुनुपर्छ’, कुलपति कर्माचार्यले थप्नुभयो ।
वरिष्ठ कलाकार हरिप्रसाद शर्माले उहाँजस्ता धेरै कलाकारलाई राज्यले सम्झन नसकेको भन्दै दुखेसो गर्नुभयो । दुवाडीले कलाको कक्षा दिँदा आफू दोस्रो समूहमा परेको शर्माको स्मरण छ । उहाँका कलामा भारतीय प्रभाव थियो । शर्माले उहाँको योगदान सम्झँदै भन्नुभयो, ‘राष्ट्रप्रेमी व्यक्ति, उत्कृष्ट चित्रकार हुनुहुन्थ्यो तर राष्ट्रले चिन्न सकेको छैन, चिन्न नसकेका व्यक्तिमा चन्द्रमान मास्केसमेत हुनुहुन्छ ।’ उहाँको जीवनीमा निर्माण भएको ३० मिनेटको वृत्रचित्रले ती विगतका पलहरू ताजा गराएको कलाकारहरूले बताएका छन् ।
June 15, 2019 11:33 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता