दुर्घटनाको पीडा : छोराको विवाह गर्ने धोको अधुरै
बझाङ – सोमबार दिउँसो मष्टा गाउँपालिका वडा नम्बर १ को डौठी भन्ने ठाउँमा से १ ज १०७२ नम्बरको जीप दुर्घटना भयो । दुर्घटनामा १० जनाले घटनास्थलमै ज्यान गुमाए भने ५ जना गम्भीर घाइते भए ।ज्यान गुमाउनेमध्ये तीनजना एकै परिवारका थिए । मष्टा गाउँपालिका वडा नम्बर १ का ४० वर्षीय कलक खड्का, उहाँकी श्रीमती अन्दाजी ३८ वर्षकी जुनधारा र कान्छा छोरा १२ वर्षका सरोज खड्काको दुर्घटनामा ज्यान गएको हो । १५ वर्षीया छोरी संगिता घाइते भएकी छिन् ।
दुर्घटनामा उनीहरुका आफन्त पर्ने ८ वर्षीया विपना खड्काको समेत ज्यान गयो । मृतक कलक खड्का भारतको केदारनाथ भन्ने ठाउँमा मजदुरी गरेर फर्किएको ४ दिन मात्रै भएको थियो ।वैशाख महिनाको पहिलो हप्ता मजदुरी गर्न भारत गएका खड्का जेठ ३२ गते घर फर्किनुभएको थियो । उहाँका जेठा छोरा सन्देश खड्काको असार ५ गते विवाह गर्ने निधो भएको थियो । छोराको बिहेकै लागि उहाँ हतारहतार घर फर्किनुभएको थियो ।जेठ ३२ गते घर पुगेका खड्का घरमा तयारी सकेर गरगहना किन्न सोमबार सदरमुकाम चैनपुर जानुभएको थियो । साथमा श्रीमती जुनधारा, कान्छा छोरा सरोज र आफन्त पर्ने ८ वर्षीया विपना खड्का पनि थिए । उनीहरुले सदरमुकाम चैनपुरमा रहेको लक्ष्मी विकास बैङ्कबाट १ लाख ५० हजार कर्जा लिएको छिमेकी बसन्त खड्काले बताउनुभयो ।
आफूलाई साक्षी राखेर छोराको विवाहका लागि भन्दै कलकले १ लाख ५० हजार रुपैयाँ ऋण निकालेर गरगहना तथा अरु सरसामान पनि किनेको बसन्त बताउनुहुन्छ । तर गरगहना र बिहेका अरु सरसामान घर पुर्याउन नपाउँदै उनीहरु दुर्घटनामा परे । छोरोको बिहेको लागि किनमेलसँगै गाउँघर र आफन्तलाई निम्तो पनि पठाइसकिएको थियो । तर छोराको बिहे गर्ने धोको अधुरै रह्यो ।
कान्छा छोरालाई पैसा पठाउन र माइलालाई लिन गएकी आमाको मृत्यु : दुर्घटनामा मष्टा गाउँपालिका वडा नम्बर १ कै ५२ वर्षीया धौलीदेवी खड्का र उहाँकी माइलो छोरा १९ वर्षका हिक्मत खड्काको पनि ज्यान गएको छ । धौलीका कान्छा छोरा पढाइको सिलसिलामा धनगढीमा छन् । उनलाई पैसा पठाउन सदरमुकाम चैनपुर पुगेकी धौलीको जीप दुर्घटनामा ज्यान गएको हो । माइलो छोरा हिक्मतचाहिँ लोकसेवाको तयारीका लागि भन्दै वैशाख पहिलो हप्ता काठमाण्डौ जानुभएको थियो । लोकसेवाको परीक्षा हुने, नहुने अन्यौल भएपछि उहाँ घर फर्कनुभएको थियो ।
माइलो छोरो काठमाण्डौ आउँदै गरेको थाहा पाएपछि आमा धौली उनलाई लिन र कान्छोलाई पैसा पठाउन भन्दै चैनपुर पुग्नुभएको थियो । काठमाण्डौबाट फर्किएका माइलो छोरोसँग चैनपुरमा भेट भएपछि कान्छो छोरोलाई पैसा पठाएर फर्कंदै गर्दा आमाछोराकै ज्यान गएको हो ।यस्तै घरमा नुनतेल, चिनी चियापत्ती लिनका लागि घरको काम छोडेर सदरमुकाम चैनपुर बजारमा पुग्नुभएकी ७२ वर्षीया जुना खड्काको समेत दुर्घटनामा ज्यान गयो । उहाँको नाति गणेश खड्का गम्भीर घाइते भएका छन् । उहाँका छोराहरु रोजगारीका लागि भारतमा छन् । सोमबारको दुर्घटनामा एकै वडाका १० जनाको निधन भएपछि गाउँ नै शोकमा डुबेको छ ।
June 19, 2019 12:04 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता