Friday 29th March 2024

कलाकारको पारिश्रमिकले तर्सिए निर्माता, बनाउनै छोडे चलचित्र

5 years अगाडी

काठमाडौं। गएको वर्ष नेपाली चलचित्रका लागि त्यति सुखद रहेन। तर कलाकारहरुका लागि भने सुखद नै रह्यो। गत वर्ष झण्डै सयवटा चलचित्र प्रदर्शनमा आएका थिए। तर केही चलचित्रले मात्रै व्यापारिक सफलता हात पारे। चलचित्र नचले पनि कलाकारहरुको पारिश्रमिक भने ह्वात्तै बढ्यो।

अहिले नेपाली चलचित्र निर्माणको संख्यामा ह्वात्तै कमी आएको छ। नेपाली चलचित्र छायांकनका लागि वैशाख र जेठ महिना उत्तम मानिन्छ। गएको वर्ष यी दुई महिनामा झण्डै ३ दर्जन चलचित्र छायांकनमा थिए। तर यो वर्ष ४/५ वटा चलचित्र पनि छायांकनमा छैनन्। अहिले कलाकारहरुले लिने महंगो पारिश्रमिकले पनि चलचित्र निर्माणको संख्या घटेको चलचित्र कर्मीहरुमा कुरा उठ्ने गरेको छ।

चलचित्र निर्माता तथा नायक रमेश उप्रेतीले डिसी नेपालसँग भने, ‘कलाकारहरुले लिने महंगो पारिश्रमिकले पनि चलचित्र निर्माताहरु चलचित्रमा लगानी गर्न डराइरहेका छन्। खासमा नेपाली चलचित्र क्षेत्रमा १० लाख भन्दा धेरै पारिश्रमिक लिन मिल्ने कलाकार नै छैनन्।’ उनी थप्छन्, ‘यदि कलाकारहरुले साच्चिकै नेपाली चलचित्रलाई माया गर्ने हो, निर्मातालाई जोगाउने हो, चलचित्र क्षेत्रलाई जोगाउने हो भने १० लाख भन्दा बढी पारिश्रमिख लिनु हुँदैन।’

अहिले कलाकारहरुको महंगो पारिश्रमिकका कारण कतिपय निर्माताहरु म्यूजिक भिडियोतिर लागेका छन्। यस विषयमा हामीले नायिका तथा निर्माता पूजा शर्मासँग कुराकानी गरेका थियौं। उनले आफूले लिने र देखाउने पारिश्रमिक एउटै भएको जानकारी दिइन्। उनले भनिन्, ‘म आफूपनि एउटा निर्माता हो। मलाइ थाहा हुन्छ की निर्मातालाई कत्तिको गाह्रो हुन्छ। अरुको मलाइ थाहा भएन। मैले चाँहि साचो बोल्ने गरेकी छु। मैले लिने र देखाउने पारिश्रमिक एउटै हो।’

अहिले नेपाली चलचित्र निर्माणको संख्यामा ह्वात्तै कमी आएको छ। नेपाली चलचित्र छायांकनका लागि वैशाख र जेठ महिना उत्तम मानिन्छ। गएको वर्ष यी दुई महिनामा झण्डै ३ दर्जन चलचित्र छायांकनमा थिए। तर यो वर्ष ४/५ वटा चलचित्र पनि छायांकनमा छैनन् अहिले कलाकारहरुले लिने महंगो पारिश्रमिकले पनि चलचित्र निर्माणको संख्या घटेको चलचित्र कर्मीहरुमा कुरा उठ्ने गरेको छ।

उनले भर्खरै मात्र दार्जिलिङका निर्माताले बनाउन लागेको एक नयाँ चलचित्रका लागि २० लाख परिश्रमिक लिएकी छिन्। तर लिखित सम्झौता भने हुन बाँकी छ। तर नायक पुष्प खड्काले भने यसमा फरक मत राख्छन्। उनका अनुसार चलचित्र नचल्नुमा कथा र निर्देशनमा प्रमुख समस्या छ।

डिसी नेपालसँगको कुराकानीमा उनले भने, ‘कलाकारको पारिश्रमिकले गर्दा चलचित्र नबनेको हो जस्तो मलाइ लाग्दैन। नेपालमा चलचित्र नचल्नुको मुख्य कारण कथा र निर्देशन गतिलो नहुनु हो। कतिपय राम्रा चलचित्र पनि गतिलो निर्देशन नभएर नचलेको अवस्था छ। तर सबै निर्देशक नराम्रा भन्ने पनि होइन कतिपय निर्देशक राम्रा छन्। जसले निरन्तर राम्रा चलचित्र दिइरहेका छन्।’

अगाडि भन्छन्, ‘गएको वर्ष धेरै चलचित्र निर्माण भए। तर हावाका भरमा चलचित्र सम्बधी नबुझेका मान्छेहरुले चलचित्र निर्माणमा हात हालेर चलचित्र चलेनन्। अहिले चलचित्र थोरै बन्दैछन्। तर चलचित्र धेरै बन्दा चलचित्र क्षेत्रको विकास हुनु र थोरै बन्दैमा विकास नहुनु भन्ने छैन। चलचित्र थोरै बनुन् तर गुणस्तरीय बनुन् त्यो राम्रो कुरा हो।’

हामीले उनलाई कलाकारले लिने र देखाउने पारिश्रमिक एउटै हो? भनेर प्रश्न गर्यौं। उनले उत्तर दिए, ‘मिडियामा यति लिए उती लिए भनेर भन्ने परिश्रमिक एउटै हुँदैन भन्ने मैले पनि सुनेको छु। तर मेरो त्यस्तो छैन। मैले जति लिन्छुु त्यति नै देखाउछु।’

यसै विषयमा रहेर हामीले सदाबहार नायक तथा निर्माता भुवन केसीलाई प्रश्न गरेका थियौं। उनले भने, ‘कलाकारहरुले कति पारिश्रमिक लिन्छन् भन्ने कुरा उनीहरुको हो। तर दिने नदिने निर्माताको हातको कुरा हो। उनीहरुले आफूले कति पारिश्रमिक दिएर कति नाफा कमाउन सकिन्छ भनेर स्टार्डमको आधारमा दिन्छन्।’

नेपाली कलाकारको पारिश्रमिक

अनमोल केसी : अहिलेका नेपाली चलचित्र क्षेत्रमा महंगा र व्यस्त नायक मानिन्छन् अनमोल केसी। उनले नेपाली चलचित्र होस्टेलबाट चलचित्र जगतमा पाइला टेकेका थिए। उनले ‘ब्याचलर बन्टी’ चलचित्रका लागि लिएको ५० लाख पारिश्रमिकले उनमा नेपालकै महंगो नायकको ट्याग लगाएको छ। हालाकी यो उनको लिने पारिश्रमिक हो या देखाउने त्यो त उनलाइ नै थाहा होला। अहिलेसम्म निर्माता मिलन चाम्सले निर्देशन गर्ने भनिएको यो चलचित्र निर्माण भएको छैन।

प्रदिप खड्का : त्यस्तै प्रदिप खड्कालाई अहिले नेपालमा एक सफल चलचित्र दिने नायकका रुपमा हेरिन्छ। उनी आफ्नै निर्माणमा रहेको चलचित्र ‘इस्केप’बाट चलचित्र क्षेत्रमा होमिएका थिए। तर उनको यो चलचित्र त्यति सफल भएन। त्यसपछि ‘प्रेम गीत’ चलचित्रबाट उनले राम्रो सफलता हात पारे। उनले चलचित्र ‘रोजी’का लागि २५ लाख पारिश्रमिक लिएका थिए।

पल शाह : अहिलेका अर्का व्यस्त नायक हुन् पल शाह। उनले म्युजिक भिडियोबाट चलचित्र क्षेत्रमा पाइला राखेका थिए। उनी लामो समय म्युजिक भिडियोको यात्रा पश्चात ‘नाइ नभन्नु ल ४’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरे। उनले चलचित्र ‘हृदय भरी’का लागि २० लाख पारिश्रमिक लिएका थिए।

आकाश श्रेष्ठ : आकाश श्रेष्ठ चर्चित मोडल तथा अभिनेता हुन्। उनले खेलेका नेपाली चलचित्र निकै नै चर्चित छन्। उनले ‘म तीम्रै हुँ’ चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेका थिए। अहिले उनलाई पनि महंगा अभिनेताको रुपमा हेरिन्छ। उनले चलचित्र ‘सम्हालिन्छ कहिले मन’का लागि १८ लाख पारिश्रमिक लिएका थिए।

पुष्प खड्का : पुष्प खड्का अहिले चर्चामा रहेका अभिनेता तथा मोडल हुन्। नेपाली चलचित्रमा उनको लोभलाग्दो डिमाण्ड छ। कलाकारिता क्षेत्रमा म्युजिक भिडियोबाट प्रवेश गरेका पुष्पको पहिलो चलचित्र ‘अझैपनि’ हो। उनी पनि अहिले महंगा कलाकारमा गनीन थालेका छन्। उनले केही समयअघि मात्रै दार्जिलिङका निर्देशकले अफर गरेको एक चलचित्रका लागि ३० लाख मागेका थिए।

विपिन कार्की : विपिन कार्की दमदार अभिनयका कारण चर्चामा हुन्छन् । उनको अभिनय हेर्न मात्रै भएपनि दर्शकहरु हलसम्म जान्छन्। चलचित्र ‘पशुपती प्रसाद’ बाट भष्मे डनका नामले चर्चामा आएका कार्की ‘छड्के’ चलचित्रबाट डेब्यू गरेका हुन्। उनले अहिलेसम्म १८ लाख पारिश्रमिक लिएको चर्चा चल्ने गरेको छ। त्यस्तै चर्चित नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले ‘रातो टिका निधारमा’ चलचित्रका लागि १६ लाख पारिश्रमिक लिएकी छिन्।

          July 25, 2019 12:50 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...