Thursday 25th April 2024

एनआरएनए सुधारको लागि मेरो अपिल

4 years अगाडी

आदरणीय गैर आवासीय नेपाली आमा, बुबा, दाजुभाइ तथा दिदीबहिनीहरु सम्पूर्णमा नमस्कार ।सर्वप्रथम नयाँ बर्ष २०२० को अवसरमा तपाई सम्पूर्णलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । सँगसँगै नेपाल भ्रमण वर्ष २०२० को सफलताको समेत कामना गर्दछु ।

तपाई हामी सबैलाई थाहा नै छ गत अक्टुबर महिनाको १५ देखि १७ सम्म नेपालमा गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलन सम्पन्न भएको थियो । काठमाण्डौंमा भएको सो सम्मेलनका क्रममा भएका कतिपय गतिविधिले तपाईं हामी गैर आवासीय नेपालीलाई हिनताबोध गरायो । नेतृत्व पंक्तिको कमजोरी र व्यवस्थापकीय त्रुटिका कारण घटेका केही घटनाले गैर आवासीय नेपालीलाई हेर्ने नजरमा नै असर पर्न गयो । नवौं विश्व सम्मेलनमा भएका कतिपय उच्श्रृखंल गतिविधि सांच्चिकै दु:खदायी थियो ।

सम्मेलनमा आफ्नो जीत सुनिश्चित गराउनका लागि भए गरेका गलत कार्यहरूको फेहरिस्त नै छन् । नेतृत्व हात पार्नका लागि प्रतिनिधि छान्ने प्रक्रियादेखि प्रतिनिधि पास उपलब्ध गराउने कार्यमा के कस्ता गलत कार्यहरु भएका थिए भन्ने कुरा सम्मेलनमा सहभागी जो कसैलाई पनि थाहा भएकै कुरा हो । प्रतिनिधिको संख्यामा कसरी गोलमटोल गरिएको थियो त्यो पनि थाहा भएकै हो । विभिन्न नाममा के कसरी पासहरु वितरण भएका थिए, निर्वाचन प्रक्रियाको अपारदर्शिता र निर्वाचन कसरी गरिएको थियो, त्यो जगजाहेर नै छ । र नतिजा कस्तो निकालिदैंछ भन्ने कुरा पनि लुकेको थिएन । यी सबैका बीच पनि संस्थालाई सर्वोपरी ठानी संस्थाको हितका निम्ति एकताबद्ध एनआरएनए बनाउनको लागि जानाजान प्रक्रियामा सहभागी भएका थियौं । र म पनि उपाध्यक्षको उम्मेद्वार भएको थिए । प्रक्रियामा सहभागी भएपछि त्यसको नतिजालाई स्वीकार गरी प्रजातान्त्रिक पद्दतीको सम्मान गरिएको हो । संस्थाको निम्ति राम्रो काम गर्न जो आउँदा पनि हुन्छ भन्ने कुरामा विश्वास राख्दै निर्वाचन समितिले चुनेको समितिलाई मैले बधाई तथा शुभकामना दिनुका साथै सहयोग गर्ने वचन समेत दिएको थिए । र, फेरि पनि यो समितिलाई राम्रो कार्य गर्न सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

तर, विडम्वना, सुरुवातका यी दिनहरु हेर्दा अहिलेको नेतृत्व महत्वपूर्ण विषयहरुप्रति गम्भीर नभएको देखिन्छ । हामी सबैलाई थाहा छ नवौं विश्व सम्मेलनमा कोषाध्यक्षको प्रतिवेदन र महासचिवको प्रतिवेदन पारित भएन । यो दुवै महत्वपूर्ण विषयलाई अर्थहीन जस्तो गराइ चुनाव गराइयो र त्यसवाट चुनिएको अहिलेको समितिले के आधारमा संस्थाको कोष संचालन गरिरहेको छ ? त्यो महत्वपूर्ण प्रश्न बनेर आएको छ । अर्कोतर्फ संस्थाको वार्षिक प्रतिवेदन समेत पास नभएको अवस्थामा अहिलेको समितिले कार्यक्रमहरु कसरी लगिरहेको छ ? यो पनि एउटा महत्वपूर्ण विषयको रुपमा रहेको छ । यो विषयमा यो समितिलाई गम्भीर बन्न म आग्रह गर्न चाहन्छु । र सँगसँगै अहिलेको निर्वाचन प्रक्रियाबाट स्वच्छ निर्वाचनको कल्पना गर्न सकिदैंन । निर्वाचन प्रक्रियालाई वैज्ञानिक र समय सापेक्ष रुपमा सुधार गरी आमूल परिवर्तन गर्नु पर्ने खाँचो रहेको छ । प्रतिनिधि छान्ने प्रक्रियापनि अवैज्ञानिक खालको रहेको छ, यसमा सुधार हुन आवश्यक छ । एउटा व्यक्तिले ठानेको विचारका आधारमा संस्थालाई हिडाउन खोजिएको छ । आफू अनुकूल हुने गरी विधानलाई प्रयोग गर्ने कार्य बढ्दै गइरहेको छ । यसले एनआरएनए संस्थागत हुन सकिरहेको छैन । निर्वाचन प्रक्रियालाई पारदर्शी बनाउनका लागि सम्मेलनमा पुगेर पास पाउने र त्यो पनि कसैको निगाहमा भर पर्नुपर्ने परिपाटीको अन्त्य हुनुपर्दछ ।

प्रतिनिधिको छनौटको काम सम्मेलन हुनुभन्दा कम्तिमा १ महिना अघि हुनुपर्दछ । हामी गैर आवासीय नेपालीले सिकेको सीप, अनुभव र काम गर्दा अपनाइने प्रक्रियागत कार्यलाई नेपालमा स्थानान्तरण गर्ने कुरा गरिरहँदा हाम्रो आफ्््नै संस्था संस्थागत दिशामा अघि बढ्न नसक्नु अत्यन्तै खेदजनक छ । सस्तो लोकप्रियताका लागि बोल्ने, तर गर्न नसक्ने कार्य बढ्दै गएको छ । यसले गैर आवासीय नेपालीप्रति वितृष्णा पैदा भइरहेको छ भने एनआरएनए संस्थाप्रतिको विश्वास र भरोसामा आघात पुगिरहेको छ । आवश्यकता एउटा र काम अर्कै भइरहेको छ । एकप्रकारले भन्दा मनोमानी बढेको छ । यो संस्था विश्वभर रहेका गैर आवासीय नेपालीको पसिनाले सिञ्चित संस्था हो । यसको हेक्का हामी सबैले राख्नैपर्दछ । नयाँ नेतृत्वले नेतृत्वमा आए पश्चात अब सदस्यता शुल्क नलिने जुन घोषणा गरेको थियो, त्यो एकदमै प्रशंसनीय काय हो । यदि त्यो योजनावद्व रुपमा व्यवहारिक पक्षलाई समेत अध्ययन गरी सस्तो लोकप्रियता भन्दा माथि उठेर ल्याइएको हो भने त्यसको सुरुवात तत्काल गर्न पनि म विशेष आग्रह गर्न चाहन्छु ।

अन्त्यमा, अहिले संस्थाभित्र धेरै विषयहरुमा छलफलको आवश्यकता रहेको छ । संस्थालाई विधि संगत ढंगवाट लैजानका लागि निर्वाचन प्रणाली, सदस्यता वितरण र प्रतिनिधि चयनको प्रक्रियामा आमुल परिवर्तन लगायतका कतिपय विषयहरु प्रक्रियागत ढंगवाट सम्बोधन गर्नु पर्नेछ । यसका निम्ति जतिसक्दो चाँडो एक महिनाभित्र विधान संसोधन प्रयोजनको लागि विशेष अधिवेशनको आह्वान गरी ६ महिनाभित्र विशेष अधिवेशन डाकेर संस्थालाई गतिशील र संस्थागत बनाउन म अहिलेको समितिको ध्यानाकर्षण गर्न चाहन्छु । संस्थालाई सबल, सक्षम, एकताबद्ध र संस्थागत बनाउने दिशामा हामी सबै एक हौं, यही अनुरोध पनि गर्न चाहन्छु ।
धन्यवाद । जय एनआरएन । जय एनआरएनए । जय नेपाल ।

डा. केशव पौडेल

          January 16, 2020 4:23 pm | Uncategorized,विचार/ब्लग


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...