Friday 19th April 2024

दाङमा मेयरसहित ८२ जना जनप्रतिनिधिले दिए राजीनामा

2 years अगाडी

दाङ – वैशाख ३० गते हुने पालिका चुनावमा उम्मेदवारी दिन दाङमा मेयरसहित ८२ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । आसन्न पालिका चुनावमा पुनः उम्मेदवारीको आकाङ्क्षा राख्दै मेयर, वडा अध्यक्षसहित ८२ जना जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।

निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ अनुसार बहालवाला जनप्रतिनिधिले पालिकाको कुनै पनि पारिश्रमिक, सुविधा पाउने गरी लाभको पदमा नरहेको उद्घोष गर्नुपर्ने र उम्मेदवारी दिनुअघि नै राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । त्यही व्यवस्था बमोजिम दाङमा पनि मेयर, वडा अध्यक्ष, सदस्य र जिल्ला समन्वय सदस्य गरी शुक्रवारसम्म ८२ जना जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।

घोराहीमा नगरप्रमुख नरूलाल चौधरीले बिहीवार नै राजीनामा दिएका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रवारसम्म घोराहीमा अरू थप दुईजना वडा सदस्यले राजीनामा दिएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ४ र १७ का वडा सदस्यले आउँदाे नेतृत्वका लागि उम्मेदवारी दिन राजीनामा दिएका छन् ।

यस्तै तुलसीपुरमा शुक्रवारसम्म १० वडा अध्यक्ष र १५ सदस्यले राजीनामा दिएका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले जानकारी दिनुभयाे । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २, ३, ४, ५, ९, १०, १५, १६, १७ र १८ नम्बर वडाका अध्यक्षले हिजाे राजीनामा बुझाएका अधिकृत पौडेलले बताउनुभयो ।

तुलसीपुर–२ का वडा अध्यक्ष राजु आचार्य, वडा नम्बर ३ का अध्यक्ष विजय विक, वडा नम्बर ४ का अध्यक्ष बालकृष्ण राना, वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र कुमार शाह, वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकाल, वडा नम्बर १० का अध्यक्ष कुमार लामिछाने, वडा नम्बर १५ अध्यक्ष लक्ष्मण चौधरी, वडा नम्बर १६ का अध्यक्ष भूपबहादुर केसी, वडा नम्बर १७ का अध्यक्ष थलराज पुरी र १८ का अध्यक्ष माधव वलीले शुक्रवार राजीनामा बुझाएका प्रमुख प्रशासकीय अधिकृत पौडलले जानकारी दिनुभयो ।

त्यस्तै लमही नगरपालिकाका एक वडा अध्यक्ष र दुई सदस्यले राजीनामा दिएका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले जानकारी दिनुभयो । गढवाका वडा अध्यक्ष र सदस्य गरी १९ जना, राप्ती गाउँपालिकाका १८, दङ्गीशरणका ३, शान्तिनगरका १, बबईका ४ र बङ्गलाचुलीका ६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । बबई गाउँपालिकाका तीन जना वडा सदस्य र एकजना जिल्ला समन्वय समितिका सदस्यले राजीनामा दिएका प्रमुख प्रशासकीय अधिकृत भिष्मराज मल्लले जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगर–पालिका वडा नं ५ का सदस्य सुरेश कुमार श्रेष्ठले वडा अध्यक्षमा उम्मेदवारी दिन सदस्यबाट राजीनामा दिनुभएकाे छ । शुक्रवारसम्म राजपुर गाउँपालिकाका कुनै पनि जनप्रतिनिधिले राजीनामा नदिएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिनुभयो।

यस्तै बबई गाउँपालिका वडा नम्बर ७ का तीन जना सदस्य देवी विक, लालबहादुर विक र रूपा रानाले हिजाे राजीनामा बुझाएका अधिकृत मल्लले जानकारी दिनुभयाे। यस्तै जिल्ला समन्वय समितिका सदस्य जुद्धबहादुर बस्नेतले पनि आउँदाे नेतृत्वका लागि उम्मेदवारी दिन हिजाे राजीनामा बुझाएका छन् । उज्यालो

          April 23, 2022 3:02 pm | राजनीति,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...