ad
ad

निजी विद्यालयलाई विद्यार्थी रोक्न धाै धाै परेकाे ताप्लेजुङको नमूना सामुदायिक विद्यालय भानुजन

 साउन ७, २०७९ शनिबार १९:३:३९ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको फुङलिङ नगरपालिका – ४ अम्बिटारमा रहेकाे भानुजन माध्यमिक विद्यालयको भौतिक संरचना र विद्यार्थी आउने क्रम देख्दा सबै दङ्ग हुने गरेका छन् । केही विद्यालयमा विद्यार्थी नभएर समस्या भएको बेला भानुजन माविमा भने भर्ना अभियान १५ दिनमा नै रोकिन्छ ।

यो सामुदायिक विद्यालय राजधानीमा रहेको सुविधा सम्पन्न निजी विद्यालयभन्दा कम देखिँदैन । भानुजन माविमा सुविधा सम्पन्न भव्य भवनहरू निर्माण भएका छन् । कक्षाकोठा, खेलमैदान र शौचालय व्यवस्थित तथा आकर्षित छन् ।

प्रयोगात्मक शिक्षण सिकाइका लागि प्रयोगशाला स्थापना गरिएको छ । सामूहिक इच्छाशक्ति भएमा सामुदायिक विद्यालय पनि भौतिक संरचना र शैक्षिक गुणस्तरमा निजी विद्यालयहरू भन्दा कम हुँदैनन् भन्ने उदाहरण हो भानुजन मावि । स्थानीयवासी तथा नेपाल सरकारको सहयोगमा विभिन्न संस्थाको लगानीमा सुविधा सम्पन्न भवनसहितको विद्यालय निर्माण भएको छ ।

स्थानीय समुदाय, प्रधानाध्यापक, शिक्षक, अभिभावक र व्यवस्थापन समितिको कुशल नेतृत्वदायी भूमिकाका कारण विद्यालयले भौतिक पूर्वाधार निर्माण गर्न सफल भएको व्यवस्थापन समितिका अध्यक्ष सागर मादेनले बताउनुभयो ।

सुविधासम्पन्न भवन बनेसँगै पठनपाठन सहज भएको छ । सदरमुकाम आसपास रहेको यस भानुजन माविमा निजी विद्यालयहरुबाट विद्यार्थी जान थालेपछि निजी विद्यालयहरुलाई विद्यार्थी रोक्न हम्मे हम्मे परेको छ ।

साधारणतर्फ कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा सिभिल इन्जिनियरिङ, कम्प्युटर साइन्स, विज्ञान, पर्यटन तथा पर्वतारोहण, शिक्षा, संगीत र व्यवस्थापन विषयको पठनपाठन हुन्छ ।

अंग्रेजी तथा नेपाली माध्यममा कक्षा १२ सम्म नै पढाइ हुने यस विद्यालयमा २ हजार ४ सय विद्यार्थी रहेका छन् । अझै भन्नु पर्दा यस विद्यालयमा अंग्रेजी माध्यमको पढाइका लागि १५ दिन मात्र भर्ना खोलिने गरेको प्रधानाध्यापक किशोर राईले बताउनुभयो ।

विद्यालयमा पछिल्ला ६ वर्ष यता सरकारी, गैरसरकारी र नेपाल सरकारको  सहयोग जुटाएर करिब २० करोड रुपैयाँकाे लागतमा विभिन्न भवन, पर्खाल, इन्जिनियरीङ उपकरण, कम्प्युटर तथा आइसिटी उपकरण, वाद्यवादन सामग्रीहरुसहित सुरक्षित भवन निर्माण भएको प्रधानाध्यापक राईले बताउनुभयो । समुदायको एकता र सरोकारवाला निकायको निरन्तर सहयोगका कारण विद्यालय यो स्थानमा आइपुगेको उहाँले  बताउनु भयो  ।

ह्युमेन प्रक्टिस फाउण्डेशन नेपाल, भारतीय राजदूतावास, गोर्खा वेलफेयर ट्रष्ट ताप्लेजुङ, वन मन्त्रालय, उद्योग तथा वातावरण मन्त्रालय, पर्यटन तथा नागरिक मन्त्रालय, शिक्षा तथा सामाजिक मन्त्रालय, युवा तथा रोजगार मन्त्रालय, एनसेल नेपाललगायतका सरकारी तथा गैर सरकारी संघ संस्थाहरुबाट भौतिक तथा शैक्षिक क्षेत्रमा सहयोग भइरहेको प्रधानाध्यापक राईको कथन छ ।

यहाँ पढेर गएका प्राविधिकतर्फका विद्यार्थीहरु सरकारी जागिरे छन् । साथै अन्य विभिन्न निकायमा रोजगार छन् । प्रयोगात्मक विधिद्वारा पढाउने साथै प्राविधिक शिक्षालय पनि सञ्चालन गरिएकोले विद्यार्थीको आकर्षण बढेको प्रधानाध्यापक राईले बताउनुभयो । प्रयोगात्मक विधि अपनाएर विद्यालयले पठनपाठन गर्ने गरेको छ । यो सामुदायिक विद्यालय नमूना विद्यालयका रूपमा स्थापित भइसकेको छ ।

२००६ सालमा स्थापित यस सामुदायिक विद्यालय स्थानीय ओजाहाङ लिम्बु लगायतका एङदेन परिवारले दानमा दिएकाे करिब ४० रोपनी र अन्य १४ रोपनी गरी ५४ रोपनी जमिनमा रहेको छ । गोर्खा वेलफेयर ट्रष्ट ताप्लेजुङले करिब ५० लाख रुपैयाँ दिएर ७ वर्ष अगाडि १० कोठे भवन निर्माण गरिएको प्रधानाध्यापक राईले बताउनु भयो । भवन बनाएर उब्रेको साढे ६ लाख रकम र विद्यालयको केही रकमबाट विद्यालयमा २८ वटा सीसीटीभी जडान गरिएको प्रधानाध्यापक राईले बताउनुभयो ।

ह्युमेन प्रक्टिस फाउण्डेशन नेपालले करिब  १ करोडको लागतमा ८ कोठे भवन तथा शौचालय निर्माण सम्पन्न गरे लगत्तै ५ करोड रूपैयाँको लागतमा आइटी एकेडेमीको भवन निर्माण सुरू गरेको छ । नेपाल सरकारको अनुदानबाट बनेको ६ वटा भवनमा ३० वटा कोठाहरु रहेका छन् ।

अन्य संस्थाहरुको अनुदानमा बनेका ३ वटा भवनहरुमा २२ वटा कोठा गरी विद्यालयमा जम्मा ५२ वटा कोठाहरुमा अध्ययन अध्यापन गरिँदै गरेको प्रधानाध्यापक राईले बताउनुभयो । विद्यालयले कक्षा १२ पूरा गरेका हरेक विद्यार्थीहरुलाई आइटी, टुरिष्ट गाइड, निर्माण कार्यसँग सम्बन्धित जीवन उपयोगी सीपहरु प्रदान गर्दै आएको छ ।

बिदाका दिनमा पनि विद्यालयमा नै भेटिनुहुन्छ प्रधानाध्यापक राई

असारको दोश्रो सातादेखि वर्षे बिदा सुरू भएको छ । तर, भानुजन माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोर राईलाई कहिल्यै बिदा हुँदैन । राई जहिल्यै विद्यालयमा नै भेटिनुहुन्छ । बिदाको दिन शनिवार होस् या सरकारी चाडपर्वको बिदा होस् उहाँ जहिल्यै विद्यालय पुग्रु भएकाे हुन्छ ।

अहिले विद्यालयमा पर्खाल लगाउनेदेखि भवन निर्माणको काम भइरहेको छ त्यसैले रेखदेख गरी रहनु पर्ने कारण पनि विद्यालयमा भेटिनुहुन्छ प्रधानाध्यापक राई ।अरू खासै काम नभए पनि उहाँ विद्यालय परिसरमा भएको फोहोर टिपेरसमेत बसिरहनु हुन्छ ।

उहाँ ७ वर्ष अगाडि प्रधानाध्यपक भएर आउँदा भवनको अभाव थियो । कक्षा कोठा धेरै कम थिए  । उहाँ आएपछि ४ वटा भवनसमेत थपिएको छ । अझै पनि पर्याप्त कोठाहरु नभएकाे राईको भनाइ छ । प्रधानाध्यापक राईको लगनशीलताले पनि विद्यालय यस अवस्थामा आइपुगेको स्थानीयवासी बताउँछन्  ।  उज्यालो