Thursday 18th April 2024

महारानी एलिजाबेथ : ७० वर्षसम्म शासनमा, दुईपटक नेपाल भ्रमण

2 years अगाडी

बेलायती महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा गएराति निधन भएको छ । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिनुभएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष हुनुहुन्छ । एलिजाबेथ सन् १९५२ मा बेलायतको महारानी बन्नुभयो । उहाँले ७० वर्षसम्म शासन गर्नुभयो । उहाँको निधनपछि जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बन्नुभएको छ ।

चार्ल्स तृतीयले आमाको निधन एउटा ठूलो दुःखको क्षण भएको बताउनुभएको छ । साथै विश्वभरबाट शोक व्यक्त गरिएको छ । यसअघि हिजो उहाँको स्वास्थ्यमा समस्या देखिएपछि बाल्मोरलमा डाक्टरको निगरानीमा राखिएको थियो । नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले ट्वीट गर्दै बकिङ्घम प्यालेसबाट महारानीका बारेमा आएको खबरले सम्पूर्ण देश नै चिन्तित भएको बताउनुभएको थियो ।

महारानी एलिजाबेथ द्वितीयको शासनकालमा बेलायतमा विन्स्टन चर्चीलदेखि लिज ट्रससम्म १५ जना प्रधानमन्त्री भएका छन् । एलिजाबेथ द्वितीयको लामो शासन कालमा जिम्मेवारीबोधको गहिरो बुझाइ तथा राजगद्दी र नागरिकप्रति जीवन अर्पण गर्ने प्रतिबद्धता झल्किएको विश्लेषकहरु बताउँछन् ।

शासनमा बेलायतको प्रभाव कम हुँदै गएको, समाज बदलिएको र राजतन्त्रकै भूमिकामाथि प्रश्न उठ्ने गरी तीव्र रूपमा बदलिएको विश्वमा उहाँ धेरैका लागि एउटा स्थायी बिन्दु बन्न सफल हुनुभयो । अत्यन्तै कठिन घडीमा समेत राजतन्त्र कायमै राख्न हासिल गरेको सफलता अझ उल्लेखनीय छ । त्यसमाथि एजिलाबेथ जन्मेको बेला उहाँको भाग्य राजगद्दीसँग जोडिएला भनेर शायदै कसैले सोचेका थिए होलान् । उहाँ जोर्ज पाँचौँका दोस्रो छोरा अर्थात ड्युक अफ योर्क अल्बर्ट र पत्नी एलिजाबेथ बाउज लायोनकी पहिलो सन्तान हुनुहुन्छ । उहाँको शिक्षादिक्षा घरमै भएको थियो । विद्यालय नगए पनि एलिजाबेथले भाषाहरूमा दक्षता राख्नुभयो र संवैधानिक इतिहासको विस्तृत अध्ययन गर्नुभएको थियो।

नेपाल सम्बन्ध

सन् १८१६ देखि बेलायतीको सुरक्षामा नेपाली गोर्खाले सहयोग गर्दै आइरहेको छ । एलिजाबेथ पनि गोर्खा सेनाकै सुरक्षामा हुर्कनुभयो । बेलायतमा गोर्खा सेनालाई निकै महत्त्व दिने गरिन्छ । दोस्रो विश्वयुद्धपछि बेलायत साम्राज्यको धमाधम अन्त्य भयो । एलिजाबेथ सन् १९५२ मा महारानी बनेलगत्तै विभिन्न देशको भ्रमण थालनी भयो ।

नयाँ महारानी सन् १९५३ नोभेम्बरमा विभिन्न देशहरुको भ्रमणमा निस्कने बेलासम्ममा बेलायतको नियन्त्रणमा रहेका भारतसहितका धेरै देशले स्वतन्त्रता प्राप्त गरिसकेका थिए । एलिजाबेथ अष्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने पहिलो बहालवाला महारानी हुनुभयो ।

आफ्नो शासनकालमा उहाँले नेपालसहित विश्वका १ सय १७ देशको भ्रमण गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका अनुसार महारानी एलिजाबेथले सन् १९६० र १९८६ (विक्रम सम्वत् २०१८ र २०४४) मा नेपाल भ्रमण गर्नुभएको थियो । दुई देशबीचको उच्चस्तरीय भ्रमणको सुरुवात तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको सन् १९५० को बेलायत भ्रमणदेखि सुरु भएको थियो । उज्यालो

          September 9, 2022 1:31 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...