एक वर्षमा आठ गिद्ध मृत भेटिए, संरक्षणको माग
गङ्गा पराजुली
पशुपतिनगर। इलामका जङ्गलमा अतिसङ्कटापन्न सूचीमा परेका गिद्ध पाइने भए पनि संरक्षण नहुँदा थप सङ्कटमा परेका छन्। खुला सीमाका कारण गिद्धको बासस्थान रहेका जङ्गल फडानी हुँदा संरक्षणको सूचीमा रहेको गिद्ध मृतावस्थामा भेटिएका छन्। सन्दकपुर गाउँपालिकाको फेमेगुरु खोल्सीमा एक वर्षअघि आठ गिद्ध मृत भेटिए।
हुल बाँधेर उड्ने गिद्ध मर्नुको कारण हिंस्रक जङ्गली जनावरको आतङ्क रोक्न औषधिसँगै राखिएको सिनो थियो। चेतना अभावमा जङ्गली जनावर चितुवा, बदेल र स्याल मार्न पशुको सिनोमा औषधि लगाएर जङ्गल छेउमा राख्ने गरेकाले त्यही सिनो गिद्धले खाँदा मृतावस्थामा भेटिएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले बताए।
गिद्ध मरेको देखेपछि गाउँपालिकाले सबै वडामार्फत औषधि प्रयोग गरेको सिनो नफ्याँक्न आग्रह गरेपश्चात मृत गिद्ध नदेखिए पनि कम मात्रामा भेटिने गरेको राईले जानकारी दिए।
विश्वमा सङ्कटापन्न अवस्थामा रहेको गिद्ध संरक्षणका लागि सरकारी पहल नहुँदा कसरी संरक्षण गर्ने भन्नेबारे योजना बनाउन नसकिएको सदकपुर–१ का अध्यक्ष नन्द राईले बताए।
दश वर्ष अघिसम्म प्रशस्त मात्रमा भेटिने गिद्ध हराउँदै गएको माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले बताए। राईले भने, “इलामका उत्तरी क्षेत्रमा पहिले प्रशस्त मात्रैमा देखिए पनि अहिले कमै मात्र भेटिन्छ।”
लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको बासस्थान रहेको क्षेत्रमै गिद्धको बासस्थान प्रशस्त भेटिए पनि अहिले कम मात्रामा देखिने गरेको संरक्षणकर्मी धनबहादुर खाम्दाकले बताए। खाम्दाकले भने, “जङ्गल तीव्र फडानीले बासस्थान नासिनु, प्रतिबन्धित औषधि डाइक्लोफेनेकको पशुहरुमा अझै प्रयोग हुनु र गिद्धको महत्वबारे स्थानीयस्तरमा जनचेतना नहुँदा बासस्थानसँगै गिद्ध मासिदै गएको हो।”
इलामको सन्दकपुर, माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको २५ सय मिटरमाथि गिद्ध बेलाबेला देखापर्ने गरेको छ। बेलाबेला देखिने गिद्धको बासस्थान, खानपान र संरक्षणबारे अहिलेसम्म कुनै कार्यक्रम इलाममा भएका छैनन्।
नेपालमा सानो खैरो, डङ्गर, लामो ठुँडे, सुन गिद्ध र सेतो गिद्ध पाइने गरे पनि इलाममा पाइने गिद्ध कुन प्रजातिको हो भन्नेबारे यकिनसमेत भएको छैन।
प्रकृतिको कुचिकारको उपमा पाएको गिद्ध संरक्षणका लागि राष्ट्रिय निकुञ्ज नभएका जिल्लामा जिल्ला वन कार्यालयलाई संरक्षणको जिम्मा दिए पनि वार्षिक कार्यक्रम नभएको डिभिजन वन कार्यालय इलामका प्रमुख श्रीप्रसाद बरालले बताए। बरालको अनुसार पछिल्लो १० वर्षमा गिद्धको सङ्ख्या अत्यधिक कम भएको छ।
गिद्ध नासिने मुख्य कारण डाइक्लोफेनेक औषधि प्रयोग भएको पशुहरुको सिनो खाने मुख्य कारण रहेको बरालको भनाइ छ। उनले भने, “सरकारले डाइक्लोफेनेकको प्रयोगमा रोक लगाए पनि खुला सिमानाका कारण किसानले प्रयोग गर्ने गरेको पाइएकाले पनि गिद्धको सङ्ख्यामा कमी आएको डिभिजन वन कार्यालयलले जनाएको छ।” डिभिजन वन कार्यालयमा संरक्षणसम्बन्धी कार्यक्रम नभए पनि स्थानीय तह र संरक्षणकर्मीसँग मिलेर चेतनामूलक काम गर्ने प्रमुख श्रीप्रसाद बरालले बताए।
संरक्षणकर्मीका अनुसार नेपालमा लाखौँको सङ्ख्यामा पाइने गिद्ध आज केही हजारमा सीमित छन् नेपालमा सन् २००२ देखि २०१० सम्मको अध्ययनअनुसार गिद्धको सङ्ख्या अप्राकृतिक रूपमा घटेकाले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले नेपालमा पाइने सानो खैरो, डङ्गर, लामो ठँुडे र सुन गिद्धलाई अतिसङ्कटापन्न र सेतो गिद्धलाई सङ्कटापन्न सूचीमा सूचीकृत गरेको छ। अतिसङ्कटापन्न प्रजाति आउने १० वर्षभित्र लोप हुने सम्भावना ५० प्रतिशत हुन्छ। रासस
March 26, 2019 11:27 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता