Saturday 14th March 2026

कांग्रेस कार्यकर्ताले बिपी राजमार्ग बन्द गराए, टायर बालेर प्रदर्शन

7 years अगाडी

काठमाडौं, चैत ३० । बिपी राजमार्गसँगै जिल्लाभर आज बिहानैदेखि सवारी आवागमन ठप्प भएको छ। प्रहरीले दोषीलाई कारबाही नगरी छाडेको भन्दै नेपाली काङ्ग्रेस सिन्धुलीले सवारी आवागमन बन्द गराएको हो।

तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने प्रतिबद्धता जनाएकामा गएराति नै छाडेकाले दोषीलाई कारबाहीको माग गर्दै सवारी आवागमन अवरुद्ध पारिएको नेपाली काङ्ग्रेस सिन्धुलीका सचिव दीपककुमार घिमिरेले जानकारी दिए।

दोषीलाई कारबाहीको माग गर्दै काङ्ग्रेसका कार्यकर्ताहरु प्रर्दशनमा उत्रिएपछि बिपी राजमार्गअन्तर्गत भिमान, शान्तिनगरचोक, खुर्कोट, नेपालथोक र जिल्लाका भित्री सडक हरिहरपुरगढी गाउँपालिकाको झनझने, दुधौली, भिमस्थान, मध्यपहाडी लोकमार्गको ग्वालटारलगायतका दर्जनौं स्थानमा सवारी आवागमन अवरुद्ध भएको छ।

आज दिउँसो यस विषयमा जिल्ला कार्यसमितिको बैठक बस्ने र थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने सचिव घिमिरेको भनाइ छ। अहिले नेपाली काङ्ग्रेससम्बद्ध नेता तथा कार्यकर्ताले शान्तिनगरचोकमा टायर बालेर सवारी आवागमन ठप्प पारेका छन्।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले भने सवारी सञ्चालन गर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता मधु भनिने सिद्धिबहादुर कटुवालमाथि गाउँपालिकाका अध्यक्षलाई कार्यकक्षमै चैत २८ गते दिउँसो २ बजे हातपात गरेको आरोप लागेको छ।

सडक निर्माण समिति तीनपाटन–१ बेलघारीमा अनियमतिता भएको गुनासो आएको र अनुगमनपश्चात् समितिको पैसा निकासी हुने प्रक्रिया चलिरहँदा कटुवालले हातपात गरेको गाउँपालिका अध्यक्ष मगरले आरोप लगाएका छन्।कटुवाल उपभोक्ता समितिको सदस्यसमेत नरहेको र असम्बन्धित व्यक्तिले आफूमाथि आक्रमण गरेकाले कारबाही गर्न माग गर्दै उनले हिजो सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरेका थिए।

          April 13, 2019 10:31 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...