Saturday 14th March 2026

चालू आर्थिक वर्षको हालसम्म वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु

7 years अगाडी

चितवन। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ। चालू आर्थिक वर्षको हालसम्म वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु भएको छ। निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट पाँचको मृत्यु भएको थियो।

घिमिरेका अनुसार गैँडाको आक्रमणबाट तीन, बाघको आक्रमणबाट तीन र हात्तीको आक्रमणबाट छको मृत्यु भएको हो। तीमध्ये १० मध्यवर्ती क्षेत्रमा र दुई निकुञ्ज क्षेत्रमा भएका घटना हुन्। मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट आक्रमण भएमा क्षतिपूर्ति दिने व्यवस्था रहेको छ भने निकुञ्जभित्रै भएका घटनाको क्षतिपूर्ति दिइँदैन।

निकुञ्जका अनुसार चालू आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट ३० घाइते भएका छन्। गत आर्थिक वर्षको यसै अवधिमा ३१ घाइते भएका थिए। सरकारले निकुञ्ज बाहिर वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको परिवारलाई रु १० लाख र घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्दै आएको छ। त्यसैगरी बालीनाली क्षति भएमा अधिकतम रु १० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था छ।

घिमिरेका अनुसार विगत वर्षको समेत गरी चालू आर्थिक वर्षमा रु एक करोड २८ लाख क्षतिपूर्ति रकम वितरण गरिसकिएको छ। मृत्यु भएकाको एक महीनाभित्रमा क्षतिपूर्ति दिने व्यवस्था मिलाइएको उनले बताए। विगतका वर्षमा क्षतिपूर्ति पाउन छ महीनाभन्दा बढी समय लाग्ने गर्दथ्यो।

मध्यवर्तीका बासिन्दा घाँस, दाउरा, खर, निगुरोलगायतका वस्तु लिन जङ्गल जाने गर्दछन् भने नदीमा माछा मार्न जाने गर्दछन्। सोही क्रममा एक्कासी जम्काभेट हुँदा वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन्। वन्यजन्तु निकुञ्जबाट मध्यवर्ती क्षेत्रमा आउने क्रम बढ्नु र स्थानीय पनि जङ्गल जाने क्रम बढ्नुले आक्रमणको घटना बढी भएको घिमिरेले बताए।

          May 1, 2019 11:51 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...