सुरु हुन सकेन पोखरा–विराटनगर हवाई उडान
मोरङ – विराटनगरबाट पोखरा जहाज उडानको विषय पछिल्लो समय चर्चाबाट नै हराएको छ । प्रदेश सरकारले काम सुरु गरेसँगै विराटनगरबाट पोखरा उडानको विषयले चर्चा पाएको थियो । गएको जेठ ११ गते विराटनगरमा भएको एउटा छलफलमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै सुरु हुने बताएका थिए ।यो बिषय छलफल भएको एक वर्ष पूरा भएको छ । तर त्यसयता विमान पोखरा उडान गर्ने बारेमा कुनै पनि छलफल अगाडि बढेको छैन । यो विषय अहिले ओझेलमा परेको छ ।
७२ सिटे जहाजले विराटनगरबाट पोखरा उडान गर्न सक्नेछ । भारतीय पर्यटकलाई हिमाल अवलोकन गर्ने कार्यलाई सहज र सरल बनाउने उद्धेश्यकासाथ विराटनगर पोखरा उडान गर्न सकिने पर्यटन व्यवसायीको तर्क छ तर पर्यटन ब्यवसायी पनि यस विषयमा गम्भीर देखिएका छैनन् ।
के मा समस्या आयो ? : एक बर्ष अगाडि प्रदेश सरकार, संघीय सरकारका मन्त्री, नागरिक उड्ययन प्राधिकरण तथा सरोकारवाला एजेन्सीबीचमा भएको छलफलले विराटनगर–पोखरा उडान गर्न सक्ने निष्कर्ष निकाल्यो । तर एक वर्ष बित्दा समेत यसले सार्थकता पाउन सकेन । विराटनगरबाट पोखरा उडान भर्ने विषय चर्चामा मात्र आएर सेलाएको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरण विराटनगरका प्रमुख टेकनाथ सिटौलाले कुनै पनि विमान कम्पनीले बिराटनगरबाट पोखरा उडान भर्नका लागि चासो नदिएको बताउनुभयो । संरचनामामा समस्या नभए पनि विमान कम्पनीहरु नै तयार नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘विमान कम्पनीले इच्छा देखाउनु प¥यो पूर्वाधार बढी चाहिँदैन, समय तालिका स्वीकृति गरेपछि पुग्छ ।’ विराटनगरबाट पोखरा उडानका लागि बंगलादेश, भारत लगायतका स्थानका यात्रु प्रशस्तै हुने छन् भने एनजीओ, आईएनजिओ तथा कर्मचारीहरु र घुमफिरको लागि पोखरा जानेहरुले विमानको सहजै सेवा लिन सक्ने प्राधिकरणको ठम्याइ छ । तर समस्या विमान कम्पनीहरु उडानका लागि कुनै पनि तयार छैनन् ।
उनीहरुको समस्या भने नियमित उडानका लागि यात्रु नै नपाइएला भन्ने नै छ । कति यात्रु प्रदेश १ का विभिन्न जिल्लाबाट पोखरा जान्छन्, उनीहरु विमानमा यात्रा गर्न सक्षम छन् की छैनन् भन्ने तथ्यांक नै नहुँदा विराटनगर–पोखरा उडान सुरु हुन नसकेको बुद्ध एयर विराटनगरका म्यानेजर कौशल भण्डारीले बताउनुभयो ।भण्डारीका अनुसार, अहिले बिराटनगरबाट पोखरा उडान गर्न सक्ने भनेका यती र बुद्ध एयर मात्र हुन् । तर तत्कालको लागि विराटनगरबाट पोखरा उडानको सम्भावना छैन ।’
बुद्ध एयर नयाँ जहाज खरिद पछि मात्र चल्न सक्ने बताउँछ । बुद्ध एयरको एयर क्राफ्ट ७२ सिटे विमान आएपछि त्यसको ‘नाइट स्टे’ विराटनगर हुने र त्यसपछि पोखरा उडान हुनसक्ने भण्डारीको भनाइ छ । ‘अहिले तत्काल संभावना छैन’ भण्डारीले भन्नुभयो । पर्यटन व्यवसायी, ट्राभल्स एजेन्सीहरुले चासो दिएपछि पोखरा उडानको विषय चर्चामा आएको हो । तर अहिले पर्यटन व्यवसायी तथा ट्राभल्स एजेन्सीहरु पनि यस विषयलाई लिएर चासो दिइरहेका छैनन् ।
हार खाएका पर्यटन व्यवसायी : विराटनगरका पर्यटन व्यवसायीहरु भने कसैले सहयोग नगरेपछि हार खाएर बसेका छन् । पर्यटन व्यवसायीहरु मिलेर सुरु गरेको माउण्टेन फ्लाइट समेत नियमित हुन सकेन । ४ पटक माउण्टेन फ्लाइट उडाएका स्थानीय पर्यटन व्यवसायीले त्यसपछि खर्च धान्न सकेनन् र बन्द भयो ।
पर्यटन ब्यवसायी भविश श्रेष्ठले माउण्टेन फ्लाइट सुरु गरे पनि कसैले सहयोग नगरेको गुनासो गर्नुभयो । पोखरा उडानको विषय हल्लाको विषयमात्र बनाइयो । श्रेष्ठले भन्नुभयो ‘यो विषयलाई कसैले पनि चासो दिएनन् ।’ पहिला उत्पादन बजारमा ल्याएपछि त्यसको बजार खोज्ने काममा आफूहरु लाग्ने पर्यटन व्यवसायी बताउँछन् । अहिले तत्काललाई विराटनगरबाट पोखरा हप्तामा एउटा शुक्रबार मात्र उडान गर्ने हो भने शुक्रबार गएर शनिबार बसेर आइतबार फर्कने यात्रुहरु प्रसस्तै रहेको श्रेष्ठले तर्क गर्नुभयो ।
उडान हुन नसकेको पहाडी रुट : प्रदेश १ का धेरै विमानस्थलहरु अहिले घाँसे मैदान बन्ने तयारीमा छन् । विराटनगरबाट पहाडी रुटका तुम्लिङटार बाहेक कतै पनि उडान हुँदैन । बुद्धले संखुवासभाको तुम्लिङटार उडान गर्ने गरेको भए पनि त्यो बाहेक ११ वटा विमानस्थलहरुमा विराटनगरबाट उडानै हुँदैन ।सुकेटार, लामीडाँडा, रुम्जाटार, फाप्लु, थामखर्क, खानीडाँडा, लुक्लालगायतका कुनै पनि विमानस्थलहरुमा विराटनगरबाट उडान हुँदैन । सोलु, खोटाङ, ताप्लेजुङ, भोजपुर तथा ओखलढुङ्गाका विमानस्थलहरुमा पनि विराटनगरबाट उडान हुन सकेको छैन ।
May 15, 2019 10:06 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड