

हामी कति निरिह उपभोक्ता

तपाईंको भान्सामा भएका जे-जति खानेकुरा छन्, ती पूर्णत अर्गानिक छन् ? स्वस्थ्यवर्द्धक छन् ? शुद्ध छन् ?तपाईंले निर्धक्कसाथ जवाफ दिन सक्नुहुन्न । किनभने भान्सामा भएका ती सबै खानेकुरा बजारबाट लिइएको हो । बजारमा उपलब्ध खानेकुराको गुणवत्ताप्रति हामी गम्भीर छैनौ । संवेदनशील छैनौ । त्यही कारण हाम्रो घर र भान्सा विषभण्डार बन्दैछ ।हामीले साँझ-बिहान पकाउने चामल पूर्णत अर्गानिक छैनन् । सागसब्जीको गुणस्तरमा पनि हामी ढुक्क छैनौँ । किनभने हामी बजारमा आएका सागसब्जीले छाक टार्छौँ । बजारमा आइपुग्ने सागसब्जी व्यवसायिक ढंगले उत्पादन गरिन्छ, जसको गुणस्तर नाप्ने संयन्त्र हामी कहाँ प्रभावकारी छैन । त्यही कारण सागसब्जी उमार्न, फलाउन, भण्डारण गर्न किटनासक, रासायनिक औषधी आदिको प्रयोग गरिन्छ ।
हरेक छाकमा प्रयोग हुने तेल, नुन, बेसार, दालको शुद्धतामा पनि हामी विश्वस्त हुन सक्दैनौ । यी सबैमा मिसावट हुने गरेका छन् ।अर्थात हरेक गाँसमा हामी अखाद्य तत्व पनि निल्दैछौँ । किनभने हामीले खाने कुनैपनि खानेकुराको गुणवत्तामा हामी ढुक्क छैनौँ । ती सबै बजारबाट आयात गरिन्छ । बजारबाट आयात गरिएका खानेकुराको शुद्धता नाप्ने परिपाटी हामीकहाँ छैन । हामी स्वास्थ्यका लागि दूध, दही, मोही, फलफूल अनिवार्य र उपयोगी हुन्छ भन्छौँ । तर, बजारमा उपलब्ध दूध, दहीदेखि फलफूलसम्मको शुद्धतामा प्रश्न उठाउनुपर्ने हुन्छ । अरुको के कुरा, पानी पनि शुद्ध छैन यहाँ ।
बजारमा उपलब्ध तयारी खानेकुरा पनि स्वस्थ्यवर्द्धक छैन । चाउचाउ, बिस्कुट, चकलेट, स्न्याक्स आदि स्वस्थ्यवर्द्धक नहुने पोषणविदहरुले बताउँदै आएका छन् ।अब रेष्टुरेन्टको कुरा गरौं । रेष्टुरेन्ट, होटलमा पकाइने खानेकुराको शुद्धतामा हामी कहिल्यै ढुक्क हुन सकेका छैनौँ । त्यही कारण सकेसम्म घर बाहिरको खानेकुरा खान हुँदैन भन्छौँ । जंकफुड, फास्टफुडको त कुरै नगरौं । आखिर हामी किन गाँस-गाँसमा विष निल्न बाध्य छौँ ? किन हामी हरेक छाकमा अस्वस्थ्यकर खानेकुरा खान बाध्य छौँ ?
मन्द विष : बजारमा उपलब्ध खानेकुरामा निर्भर हामी छाकैपिछे मन्द विष सेवन गरिरहेका छौं । यही कारण अहिले हामी रोगको चपेटामा पर्ने गरेका छौं । हामीले भोक मेट्न खाइरहेका छौँ वा स्वस्थ्य रहन ? सोच्नुपर्ने अवस्था छ ।किनभने बजारमा उपलब्ध जस्तोसुकै खानेकुरा खाइरहँदा त्यसले हामीलाई स्वस्थ्य होइन बरु रोगी र जीर्ण बनाउँदै लगेको छ खासमा खानेकुरा पोषिलो, स्वस्थ्यवर्द्धक एवं शुद्ध हुनुपर्ने हो । यस्तो खानेकुराले शरीरलाई निरोगी र बलियो बनाउनुपर्ने हो । तर, हामी खानेकुरा खाएरै रोगी हुँदैछौ । यो भनाइ त्यसै चलेको होइन, अहिले विश्वमा जति मान्छे खान नपाएर मर्छन्, त्यो भन्दा बढी खान नजानेर ।खान नजानेर भन्नुको अर्थ खानपान शैली ठीक एवं सही नहुनु मात्र होइन, खानेकुराको शुद्धता र गुणवत्ताप्रति सतर्क नहुनु पनि हो ।
हामी कति निरिह ? : खानेकुरासँग सोझै हाम्रो शरीरको सम्बन्ध छ । स्वास्थ्यको सम्बन्ध छ । हामीले उपभोग गर्ने कुराको शुद्धतामाथि प्रश्न उठाउनु हाम्रो अधिकार हो । उपभोक्ता अधिकार अन्तर्गत यसलाई सुरक्षित गरिएको छ ।हुन त हामीकहाँ उपभोक्ता अधिकार मञ्च पनि छन् । तर, उपभोक्ताको अधिकारबारे उठाइएका आवाज सुनिँदैन । व्यापारीको प्रभावमा ती आवाजलाई बेवास्ता गरिन्छ । बेला बखत शुद्धता जाँच गरिएको चर्चा हुन्छ । यद्यपि त्यस्ता अभियानले निरन्तरता पाउँदैन वा ठोस उपलब्धी हासिल हुँदैन । केबल औपचारिकता पूरा गरिन्छ ।
हामीले खानेकुरा कति शुद्ध छन् ? खान योग्य छन् वा छैनन् ? विषादी मिसाइएको छ वा छैन ? यसबारे उपभोक्ताले प्रश्न उठाउनु पाउनुपर्छ । तर, हामीकहाँ यस्ता आवाज निकै फितलो हुनेगर्छ, जसलाई सजिलै दबाउने पनि गरिन्छ । खानेकुरा अशुद्ध हुनु, विषादी मिसाइनु आफैँमा अपराध हो । यस्तो अपराध गर्ने छुट कसैलाई छैन । तर, हाम्रो बजारमा गएर नियाल्नुहोस् त, कुन खानेकुरा शुद्ध, अर्गानिक छन् ? कति खानेकुरा खानलायक छन् ?
कुनैपनि उपभोग्य बस्तु अशुद्ध, कमसल, विषाक्त हुनुहुँदैन । उन्नत मुलुकका नागरिकहरु उपभोक्ता अधिकारबारे सचेत हुन्छन् । राज्य उत्तिकै गंभीर र संवेदनशील हुन्छन् । त्यही कारण फुटपाथमा राखिएका खानेकुरा पनि उनीहरु निर्धक्क खान सक्छन्/पाउँछन् । तर, हामीकहाँ उपभोक्ताहरु निरिह छन् । जस्तोसुकै खानेकुरा पनि खान बाध्य छन् । किनभने यहाँ शुद्धता नाप्ने संयन्त्र छैन । भएपनि त्यो चुस्त र सक्रिय छैन । अर्कोतिर उपभोग्य बस्तुको शुद्धता मात्र होइन, मूल्यमा पनि एकरुपता छैन । जथाभावी र आफुखुसी मूल्य निर्धारण गरिएका छन् । कालोबजारी गरिएका छन् । यही कारण हामीकहाँ उपभोक्ता सधैँ निरिह बन्नुपरेको छ ।
May 22, 2019 4:49 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

