Friday 13th March 2026

टीकापुर घटनामा जोडिएका लक्ष्मण थारुको उद्घोषः ‘फेरि मर्न तयार भएर आन्दोलनमा जुट्दैछौ’

7 years अगाडी

काठमाडौं- थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले शान्तिपूर्ण थरुहट आन्दोलनका क्रममा बन्दी बनाइएकाहरुलाई आममाफी दिएर निःशर्त रिहाई गर्नुपर्ने माग गरेको छ । समितिले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो ।समितिले टीकापुर घट्नाबारे सत्य, तथ्य छानबिन गर्नका लागि तात्कालीन नेपाल सरकारले पूर्वन्यायाधीश गिरिशचन्द्र लाल दास नेतृत्वको न्यायिक समिति, सर्वदलीय संसदीय समिति र राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनहरु तुरुन्त सार्वजनिक गर्नुपर्ने पनि माग राखेको छ ।

कार्यक्रममा थरुहट नेता लक्ष्मण थारुले आफू ४२ महिना लामो जेल जीवनपछि पहिलोपटक मिडियामा आएको बताउँदै आफूहरु फेरि मर्न तयार भएर शान्तिपूर्ण आन्दोलनमा जुटेको बताए । उनले भने, ‘हामीलाई झुठा मुद्दा लगाएर ४२ महिनासम्म जेल राखियो, अझै पनि हाम्रा धेरै साथीहरु जेलमै छन् अब हामी फेरि मर्न तयार भएर शान्तिपूर्ण आन्दोलनमा जुटेका छौं ।’ उनले आफूहरुले न्याय र अधिकार नपाएको गुनासो पोखे । उनले भने, ‘हामीलाई राज्यबाट जहिले पनि हेप्ने काम भयो । सरकारले भ्रष्टाचारीलाई कारबाही गर्दैन्, तर झुठा मुद्दा लगाएर यो देशका २५ लाख थारुहरुलाई तर्साउने काम गरेको छ ।’

उनले आफूहरुको घर, पसलमा आगो लगाइएको र उल्टै राज्यबाट झुठा मुद्दा खेप्नुपरेको पीडा पनि पोखे । त्यस्तै, उनले टीकापुर घट्नाबारे लाल आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न माग गरे । उनले आफूहरुले कुनै पनि हालतमा ७ वटा प्रदेश नमान्ने घोषणा गरे । उनले थपे, ‘अखण्ड सुदुर पश्चिम माग्नेले त्यही पाए, मधेश प्रदेश माग्नेले पनि पाए, किराँतहरुले पाउँदैछन्, हामी थारुहरुले किन नपाउने ?’ आगामी भदौ ७ गतेबाट देशभरिका पाँच लाख थारुहरु उतारेर सम्मेलन गर्ने पनि उनले चेतावनी दिए ।

कार्यक्रममा थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक मिनराज चौधरीले नेपालमा रहेका सबै क्षेत्रका वर्ग, समूदायका मागहरु पूरा गर्नुपर्नेमा जोड दिए । उनले आफूहरुले उठाएका जायज मागहरु समयमै सम्बोधन गर्नुपर्ने पनि माग गरे । त्यस्तै, समितिले थरुहट आन्दोनलको क्रममा दुःखद् टीकापुर घट्नापश्चात् २०७२ भदौ ८ गते निशेधाज्ञा कफ्यू लागेकै समय थारुहरुको घर, पसल तथा व्यवसायिक केन्द्रहरुमा गरिएको आगजनी, लुटपाट, डाँकाचोरी गर्ने तथा संलग्न अपराधीहरुलाई तुरुन्त पक्राउ गरि कानूनबमोजिम कडाभन्दा कडा कारबाही गर्नुपर्नेपनि माग गरेको छ ।

          June 2, 2019 3:00 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...