Wednesday 27th May 2026

पशुपति मन्दिरको अर्बौंको सम्पत्ति सार्वजनिक, नगदसहित जिन्सी जग्गा जमिनको यस्तो छ तथ्याङ्क

7 years अगाडी

काठमाडौं । पशुपति मन्दिरको खर्बौँ रुपैयाँ बराबरको चलअचल सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । पशुपति क्षेत्र विकास कोषले मन्दिरको सम्पत्ति तथा गुठी जग्गाको विवरण पत्ता लगाउत गठन गरेको छानबिन समितिले सो कुरा बाहिर ल्याएको हो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तथा छानबिन समितिका संयोजक मिलन कुमार थापाले पशुपति मन्दिरको नाममा एक अर्ब २९ करोड ३८ लाख ३१ हजार २१५ रुपैयाँ ५२ पैसा नगद सहित एक हजार ४४ दशमलभ ६४ ग्राम अर्थात् ८९ दशमलभ ५६ तोला सुन र एक लाख ४१ हजार एक सय २८ दशमलभ ७५ ग्राम(१२ हजार ९९ दशमलभ ७१ तोला) चाँदी जिन्सी सम्पत्ति रहेको विवरणसहितको प्रतिवेदन सार्वजनिक गरे । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले पशुपति मन्दिरको अचल सम्पत्तिको रुपमा विभिन्न क्षेत्रमा गरि करिब ६ हजार ७ सय रोपनीको हाराहारीमा जग्गा रहेको पनि जानकारी दिए ।

हालसम्म कोषमा दाखिला दर्ता रहेको मन्दिरको संरक्षण तथा गुठीको जग्गा ३ हजार ६ सय ६७ रोपनी, ४ आना ३ दाम(३६६७–४–३–०) रहेको र २ सय ३१ रोपनी १० आना एक पैसा(२३१–१०–०–१) दर्ता हुन बाँकी रहेको प्रतिवेदनले देखाएको छ । यसको अलवा पशुपति विकास कोषकै एक हजार एकसय ६१ रोपनी १४ आना ३ दाम क्षेत्रफलको जग्गा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र गल्फ कोर्षलाई ९९ वर्षका लागि भाडामा दिएको बताइएको छ । त्यस्तै कोषको करिब १७ रोपनी जग्गा भने मोहीको रुपमा तारागाउँ रिजेन्सी होटलले भोगचलन गरिरहेको समेत प्रतिवेदनमा खुलाइएको छ ।

यी बाहेक अझै मन्दिरको सम्पत्ति लुकेको हुन सक्ने र व्यक्ति विशेषले आफुखुशी भोगचलन गरिरहेको हुनसक्ने जनाउँदै कोषले त्यस्ता सम्पत्तिहरुको खोजीकार्य जारी राखिएको पत्रकार सम्मेलनमा बताएको छ । यसै अवसरमा कोषले पशुपति मन्दिरको मुख्य ढुकुटी अझैसम्म नखोलिएको र उक्त ढुकुटीमा अर्बौ÷खर्बौको सम्पत्ति हुन सक्ने जनाएको छ । कोषले नेपाल सरकारको सहयोग तथा आफ्नै कोषको सम्पत्ति परिचालनमा पशुपति मन्दिरको विकास निर्माण, मर्मत सम्भार तथा विविध मेला, जात्राहरुको व्यवस्थापन गर्दै आएको जनाएको छ । कोषले वि.स २०७४ कात्र्तिक ६ गतेको निर्णय अनुसार कात्र्तिक १६ गतेबाट सम्पत्ति अध्ययन तथा छानविन कार्य शुरु गरेको थियो । समितिका अनुसार सो विवरण विक्रम संवत २०१९ सालदेखि २०७५ सालसम्मको हो । थापाले विक्रम संवत २०१९ सालभन्दा अघिको विवरण भने प्राप्त हुन नसकेको बताए ।

          June 6, 2019 1:10 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...