

अल्लोबाट उत्पादित कपडाको माग बढ्यो

खेमराज गौतम,गलकोट। बागलुङ जिल्लाकोे ताराखोला गाउँपालिकामा उत्पादन हुने अल्लोका कपडाको माग बढेपछि उद्यमीलाई भ्याइनभ्याइ भएको छ। गाउँघरमा पाइने चाल्ने सिस्नु (अल्लो) बाट यहाँका महिलाले कपडा, गलबन्दी, झोला, सुइटर, जुत्ता, भाङ्ग्रा बनाउँदै आएका छन्।
ताराखोला गाउँपालिका–७ करिमेलामा स्वर्णिम साझा सुविधा केन्द्र स्थापना गरी थालिएको उद्योगमा अहिले ११ जना महिलाले काम गर्दै आएका छन्। घरेलु तथा साना उद्योग विकास समिति बागलुङबाट २०६३ सालमा तीन महीने तालीम लिएपछि यहाँका महिलाले अल्लोबाट कपडा उत्पादन गर्न थालेका थिए।
ताराखोलाका अधिकांश क्षेत्रमा बढी मात्रामा पाइने अल्लोबाट नरम प्रकारको धागो उत्पादन गर्न सकिने भएपछि त्यसको प्रशोधन गरेर महिलाले आम्दानी गर्न थालेका हुन्। परम्परागत रुपमा पुर्खाले भाँगो, चाल्ने सिस्नुलगायतका वनस्पतिका लोक्ताबाट डोरी, नाम्ला तथा दाम्ला निर्माण गर्ने गरेकामा त्यसलाई कपडाको रुपमा विकास गरिँदै आएको उद्यमी महिलाहरु बताउँछन्।
अल्लोका कपडा लगाउँदा एलर्जी, मुटुसम्बन्धी रोग, उच्च रक्तचापका रोगीलाई राम्रो फाइदा हुने भन्ने विभिन्न अनुसन्धानहरुबाट पुष्टि भएकाले यसको माग बढेको उद्यमी गङ्गा घर्तीमगरले बताइन्। विगत छ वर्ष अल्लोको कडा उत्पादन गर्दै आउनुभएकी ४५ वर्षीया गङ्गा भन्छिन्, “बागलुङसँगै काठमाडौँ, पोखरालगायतका क्षेत्रबाट अल्लोका कपडा खोज्नका लागि आउने गरेका छन्।” मागअनुसारका कपडा बनाउन नसकेको उनको भनाइ छ।
जङ्गलबाट सङ्कलन गरेर ल्याएको काँचो अल्लो खरीद गरेर समूहले त्यसलाई सुकाउने, खरानी पानीमा पकाउने, कुट्ने, सफा तरिकाले धुने, कमेरो लगाएर घाममा सुकाउने र सुकेको अल्लोबाट भुवा निकालेर बनाइएको धागोको प्रयोग गरी कपडा बनाइने गरिन्छ।
उद्यमीहरुका अनुसार ६०/७० मिटरको तानमा बुनेको कपडालाई रु ३५ हजारसम्म बिक्री हुने गर्दछ। यस्तै हातले बुनेको झोला, गन्जी, भाङ्ग्रालाई रु तीन/तीन हजार, सललाई रु दुई हजारमा बेच्दै आएको उद्यमी मनकुमारी रोकाले बताइन्।
केही व्यक्तिले मन परेको कपडा भएमा मूल्य थप गरेर पनि दिने गरेका छन्। अल्लोको धागो निकाल्नका लागि गत वर्ष ताराखोला गउँपालिकाले रु सात लाख बराबरको उपकरण प्रदान गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए। धागो निकाल्नका लागि उपकरण आएपछि सहज भएको उद्यमीहरुको भनाइ रहेको छ।
“हातले गर्दा कयौँ दिन लाग्थ्यो”, रोकाले भने, “उपकरणका सहायताबाट काम गर्दा लागत कम उत्पादन धेरै भएको छ ।” अहिले यस केन्द्रमा झण्डै ३०० मिटर कपडा बिक्रीका लागि तयार पारिएको छ।
स्वर्णिम साझा सुविधा केन्द्रले अल्लोको कपडासँगै सिस्नोको पाउडरसमेत उत्पादन गर्दै आएको छ। स्थानीय तहले उद्यमीलाई आत्मनिर्भर गराउन निरन्तर सहयोग गर्नुपर्ने रोकाको भनाइ रहेको छ। “अहिले कपडाको माग ह्वात्तै बढेपछि अल्लोको धागोबाट कपडा बुन्न भ्याइनभ्याइ भएको छ”, रोकाले भने, “यस्तै माग बढेमा अल्लोको उत्पादनलाई औद्योगीकरण गर्न आवश्यक देखिन्छ। ”
चाल्ने सिस्नुको लोक्ताबाट तयार पारिने कपडा मूलायम, तापक्रम अनुकूल, हलुङ्गो तथा देख्नलाई पनि राम्रो हुने भएकाले बजारको माग धेरै रहेको छ। जङ्गल, खोल्साखोल्सीलगायतका क्षेत्रमा उम्रिने मसिना काँडैकाँडा भएको वनस्पतिको लोत्ताबाट मूल्यवान् कपडा उत्पादन गर्ने परम्परागत उपायलाई व्यवसायीकरण गर्दै आम्दानी गर्न सफल भएको उद्यमीको भनाइ रहेको छ। रासस
July 26, 2019 12:45 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

