साढे ५ महिनामा १० अर्ब ३८ कराेड रुपैयाँकाे बिजुली भारत निर्यात
काठमाण्डाै – यस वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको बिजुली भारत निर्यात भएको छ । देशभित्र खपत गरी बाँकी भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट बिजुली नेपाल विद्युत प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरी १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँ कमाएकाे छ ।
प्रााधिकरणले देशभित्र खपत गरी बाँकी भएको वर्षायामको बिजुली गएकाे जेठ १९ गतेदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकोले यस अवधिमा बिजुली बिक्रीबाट ६ अर्ब ४९ करोड ३५ लाख भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई देशबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ ।
सुरुमा दुई वटा विद्युत् गृहको ३९ मेगावाट उत्पादित बिजुलीलाई स्रोत मानी दैनिकरूपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि जेठ २७ गतेदेखि दैनिकरूपमा छ वटा जलविद्युत् गृहबाट उत्पादित बिजुलीलाई स्रोत मानी दैनिकरूपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै थियो । गएकाे कात्तिक १८ र ३० गतेदेखि क्रमशः चिलिमे र सोलुखोलाको बिजुली निर्यात सुरु भएसँगै भारततर्फ निर्यात हुने बिजुलीकाे स्वीकृति क्षमता चार सय नाै मेगावाट पुगेको छ ।
खोलानालामा पानीको बहाब घट्दै गएकोले नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रहरूबाट बिजुली उत्पादन कम भएसँगै निर्यातको परिमाण पनि क्रमशः घट्दै गएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । ‘उद्योगहरूले अहिले स्वीकृति लोडअनुसार बिजुली नै लिएका छैनन्, यसले गर्दा देशभित्र औद्योगिक काेरिडोरमा बिजुलीकाे माग बढ्न सकिरहेको छैन, अहिलेकै अवस्थामा आन्तरिक खपत धानेर बढी भएको बिजुली आउँदाे पुसको पहिलो हप्तासम्म निर्यात गर्न सक्ने अनुमान गरिएको छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।
आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा बिजुलीको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरेको बिजुलीकाे औसत दर प्रतियुनिट आठ रुपैयाँ २३ पैसा रहेको छ ।
थप २३.५ मेगावाट निर्यात अनुमति
प्राधिकरणले देशभित्र खपत गरी बाँकी भएको वर्षायामको थप २३ दशमलव ५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत् केन्द्रको बिजुली निर्यातका लागि अनुमति पाएको छ । भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले गएकाे कात्तिक २५ गते सोलुखोलाबाट उत्पादित बिजुली आईएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि अनुमति दिएको हो । प्राधिकरणले अब आठ जलविद्युत् केन्द्रबाट उत्पादित चार सय नाै मेगावाट बिजुली भारतीय आईएक्सको डे–अहेड बजारमा बिक्रीका लागि अनुमति पाएको छ ।
प्राधिकरणले निजी क्षेत्रले निर्माण गरेका २९ दशमलव ०४ मेगावाटको लिखूखोला ए, २५ मेगावाटको काबेली बी–१, २२ मेगावाटको माईखोला, १४ दशमलव ९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१, ४२ मेगावाटको मिस्त्रीखोला, २४ दशमलव २ मेगावाटको लिखुखोला ‘ए’, २३ दशमलव ५ मेगावाटको सोलुखोला र २२ दशमलव १ मेगावाटको चिलिमेको विद्युत् गृहबाट उत्पादित बिजुली निर्यातको प्रस्ताव स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष पेस गरेको थियो । त्यसमध्ये चिलिमे र सोलुखोलाको बिजुली निर्यातका लागि अनुमति प्राप्त भएको हो । उज्यालो
November 18, 2022 3:15 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
