मलेसियामा बेपत्ता भएका गोपाल १८ वर्षपछि घरमा
झापा – वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुग्नुभएको छ । अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोजी तथा उद्धार गरेर नेपाल पठाएको हो ।
उहाँकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोपालको खोजी भएको थियो । शुक्रवार क्लालाम्पुरबाट काठमाण्डाै आउनुभएका गोपाल शनिवार घर आइपुग्नुभएको सांसद एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
मलेसियामा खोज्न र उद्धार गरेर नेपालसम्म ल्याउन पहल गर्नुभएका सांसद शर्माले आमा सानीको कारुणिक अपिलपछि मलेसियामा रहेको नेपाली जनसम्पर्क समितिको सक्रियता र त्यहाँको नेपाली राजदूतावासको सहयोगमा गोपालको सकुशल उद्धार सम्भव भएको बताउनुभयो ।
‘गोपाल भाइ मलेसियामा भेटिनुभयो मात्र होइन उहाँकी आमाले हराइरहेको छोरालाई आज आफ्नै अँगालोमा पाउनुभयो’, सांसद शर्माले उद्धारप्रति खुसी व्यक्त गर्दै भन्नुभयो, ‘यो नै सबैभन्दा ठूलो खुसी हो ।’
गैरकानुनीरूपमा मलेसियामा रहेका गोपाललाई स्वदेश फर्काउन हवाई टिकट र जरिबाना गरेर नेपाली एक लाख चार हजार एक सय ६० रुपैयाँ तिर्नुपरेको नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाराज पङ्गेनीले जानकारी दिनुभयो ।
विसं २०६१ चैत ८ गते प्रोडक्सन अपरेटर कामका लागि श्रम अनुमतिपत्र पाएर १९ वर्षकाे उमेरमा गोपाल मलेसिया जानुभएको थियो । घर फर्किँदा उहाँ ३७ वर्षको हुनुभएकाे छ । मलेसिया पुगेको एक हप्तापछि उहाँमाथि गैरकानुनी कामदार भएको आरोप लागेको थियो । यसपछि उहाँको वास्तविक अवस्थाबारे नेपालमा रहेको परिवार बेखबर थियो ।
विदेशमा हराएको छोरा फर्केर घर आएकामा घिमिरेकी आमा सानीले खुसी व्यक्त गर्नुभएको छ । उहाँले छोरा खोजिदिन पहल गरिदिनुहुने सबैप्रति आभार प्रकट गर्दै अब दुःखजिलो गरेर स्वदेशमै गरिखाने बाटोमा लाग्न छोरालाई आग्रह गर्नुभएको छ ।
गोपालले मलेसियामा रहँदा ज्यादै दुःख र सास्ती व्यहोर्नुपरेको बताउनुभयो । ‘गैरकानुनी कामदार भएपछि बस्न र खानै मुस्किल परेको थियो’, उहाँले आमासँग आफ्नै घरमा भेट भएपछि भन्नुभयो, ‘यतिका वर्ष विदेश बस्दा सुको कमाएर घर पठाउन सकिनँ । आमाको आशीर्वादले बाँचेर आउन पाएँ, यसैमा म खुसी छु ।’
घरमा गोपालको एक छोरा पनि छन् । उहाँकी आमा सानी नेत्रहीनको समूहलाई सडक गायनमा डोहोर्याएर गुजारा चलाउँदै आउनुभएको छ । घरको आर्थिक स्रोतले खान लगाउन नपुग्ने बताउँदै उहाँले छोरालाई वैदेशिक रोजगारीमा पठाउन ऋण काढ्दा घर पनि बैंकको धितोमा राखेकाे बताउनु भयाे । उज्यालो
November 26, 2023 1:44 pm | देश परदेश समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक