Monday 10th November 2025

बजार नपाएपछि उपत्यकाका गोलभेंडा उत्पादक किसान आन्दोलित

7 years अगाडी

काठमाडौं,  साउन । बजार भाउ सस्तिएको र आफुले उत्पादन गरेको गोलभेंडा(टमाटर) बिक्री हुन छाडेपछि कृषकहरुले दबाबमूलक कार्यक्रम गर्दै विरोध जनाएका छन् । उपत्यकाभित्रका काठमाडौं, ललितपुर र भक्तपुरका टमाटर कृषकहरुले मूल्य नपाएपछि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको हाताभित्रै विरोध जनाएका हुन् । किसानहरुका लागि राज्यले कुनैपनि सहयोग नगरेको थानकोटका किसान पुष्कर खड्का बताउँछन् ।

किसानले आफ्नो वारीमा उत्पादन गरेको टमाटर प्रति किलोको मूल्य १५ रुपैयाँभन्दा बढी पाउन नसकेको बताउँछन् । आफुले उत्पादन गरेको टमाटर उपभोक्ताले ५० देखि ६० रुपैयाँसम्ममा किन्न बाध्य हुँदासम्म आफुहरु विचौलियाका कारण मर्कामा परेको उनी बताउँछन् । किसानहरुले यहाँ उत्पादित टमाटरको बजार खोजि दिनुपर्ने, भारत निर्यातमा आउने अवरोध हटाउन पहल गर्नुपर्ने मागसमेत गरेका छन् । आफुहरुको उत्पादन बढ्दा भारतबाट आयात उच्च भएकाले पनि बजार मूल्य पाउन नसकेको उनीहरुको गुनासो छ ।

अघिल्लो बर्ष यही सिजनमा टमाटरको राम्रो मूल्य पाएपनि यसपटक बजार नपाएको गुनासो उनीहरुको छ । सरकारले टमाटर भारत निर्यातका लागि समझदारी गर्न नसक्दा आफूहरु मारमा पर्नुका साथै आफ्नो क्षेत्रको अर्थतन्त्रमा धक्का लागेको कृषकहरु बताउँछन् ।टमाटरकै कारणले राज्यलाई पनि क्षति पुगिरहेकाले सरकारले चाँडोभन्दा चाँडो पहल गरेर भारत निर्यात खुलाउनुपर्ने कृषकहरुको माग छ । पटकपटक गुनासो पोख्दासमेत राज्यले चासो नदिएपछि आन्दोलन र संघर्षमा जानुपरेको किसान चौतारी नेपालका संयोजक टीका सुवेदी ‘अविरल’ले बताए ।

कृषिलाई आत्मनिर्भर बनाउन सरकारले कृषिसम्बन्धी विभिन्न कार्यक्रम तय गरेको भएपनि त्यसलाई वास्तविक किसानसम्म कार्यान्वयन गर्न नसकिएपछि किसान आन्दोलित बनेका हुन् । किसानहरुले नेपालमा उत्पादित वस्तुहरु भारत पठाउने व्यवस्था गर्नुपर्ने र त्यो हुन नसकेमा भारतबाट आयात हुने वस्तुहरु आयातमा प्रतिवन्ध लगाउनुपर्ने माग अघि सारेका छन् ।किसानले आफ्नै छुट्टै बैकल्पिक बजारको व्यवस्था गर्नुपर्ने, किसानले उत्पादन गरेको वस्तुको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने, कृषिमा प्रयोग गरिने कृषि वस्तुमा लाग्ने भन्सार छुट गर्नुपर्ने, किसान वर्गीकरण गरी किसान परिचय पत्रको व्यवस्था गर्नुपर्ने माग पनि अघि सारेका छन् ।

उनीहरुले बाली विमालाई सहज तथा वैज्ञानिक बनाउनुपर्ने, किसानलाई निःशुल्क स्वास्थ्य विमाको व्यवस्था गरिनुपर्ने, किसानलाई न्यून व्याजमा सरल कर्जा व्यावहारिकरुपमा लागु गर्नुपर्ने पनि बताएका छन् । यस्तै किसानले उत्दापन गरेको फलको आधारमा अनुदानको व्यवस्था गर्नुपर्ने र माटो तथा हावापानीलाई आधार बनाएर उत्पादन क्षेत्र तोक्नुपर्ने माग अगाडि सारिएको जानकारी अर्का किसान सञ्जयचन्द्र श्रेष्ठले बताए ।काठमाडौं उपत्यकामा हाल १ हजार ५०० किसानले करिब २० हजार रोपनी क्षेत्रफलमा टमाटर खेती गर्दै आइरहेका छन् । उनीहरुले वर्षेनी १० करोडको हाराहारीमा कारोवार गर्ने प्रारम्भिक तथ्याङ्क छ ।

          July 27, 2018 10:21 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...