५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला ५ वर्षमा भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायर गर्ने दर उल्लेख्य रूपमा बढाएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा जम्मा ४६ वटा मुद्दा दायर भएकामा आर्थिक वर्ष २०८१/८२ मा त्यो सङ्ख्या बढेर १३७ पुगेको छ । यो ५ वर्षमा प्रतिवादी सङ्ख्या पनि २३० बाट बढेर ७५३ पुगेको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार ५ वर्षको अवधिमा १ लाख ६६ हजारभन्दा धेरै उजुरी परेकामा ७९८ मुद्दा दायर भई ४ हजार ६६२ जनालाई प्रतिवादी बनाइएको छ । यी मुद्दामा ३१ अर्ब ५२ करोड रुपैयाँभन्दा धेरै बिगो दाबी भएको छ ।
उजुरी परिणामका हिसाबले हेर्दा बागमती प्रदेशमा सङ्घीय निकाय वा पदाधिकारीसम्बन्धी उजुरीको सङ्ख्या सबैभन्दा धेरै रहेको आयोगको ३५औँ वार्षिक प्रतिवेदनले देखाएको छ । दायर भएका मुद्दामा विशेष अदालतबाट झन्डै ५५ प्रतिशत कसुर स्थापित भएको छ ।
प्रतिवादी बनाइएकामा उच्च राजनीतिक पदाधिकारीदेखि वरिष्ठ कर्मचारीसम्म छन् । पतञ्जली योगपीठ जग्गा साटफेर प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, वाइडबडी जहाज खरिदमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितताको आरोपमा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतसहित थुप्रै मन्त्री तथा सचिवविरुद्ध मुद्दा दायर भएको छ । यस्तै भन्सार छलेर सुन ल्याएको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध पनि आयोगले मुद्दा चलाएको छ ।
यसैगरी पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अन्तःशुल्क स्टिकरमा मुद्दा दायर भई किनारा लागिसकेको छ भने नेपाल सरकारका तत्कालीन सचिवहरू रामकुमार श्रेष्ठविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन, शङ्करप्रसाद अधिकारीविरुद्ध वाइडबडी खरिद, सञ्जय शर्माविरुद्ध नेशनल पेमेन्ट गेटवे, छविराज पन्तविरुद्ध पतञ्जली योगपीठ जग्गा साटफेरमा मुद्दा दायर भएको छ ।
तत्कालीन सचिवहरू सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा र भेषराज शर्माविरुद्ध विमानस्थल निर्माणमा लागत बढाइएको विषयमा मुद्दा दायर भएको छ ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ मा भएको अहिलेकाे संशोधित व्यवस्थाअनुसार आयोगले भ्रष्टाचारजन्य कसुरको अनुसन्धान गर्ने क्रममा सम्पत्ति शुद्धीकरण कसुरका तत्त्व देखिएमा त्यसकाे समेत अनुसन्धान गर्ने व्यवस्था रहेको छ । उज्यालो
April 18, 2026 4:51 pm | आर्थिक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार