अब छोरीलाई छोरा सरह अंश, बिहे गरेका छोरीले पनि अंश पाउने
काठमाडौं – अब छोरीले पनि छोरा सरह अंश पाउने भएका छन् । भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता ऐनले अब छोरीलाई पनि अंशबण्डाको समान हकदार बनाएको हो ।
संहिताको परिच्छेद १० को अंशवण्डा सम्बन्धी व्यवस्थाको दफा २०५ मा सगोलको सम्पत्ति अंशबण्डा गर्ने प्रयोजनको लागि पति, पत्नी, बाबु, आमा, छोरा, छोरी सबै अंशियार मानिने उल्लेख छ । साथै दफा २०६ ले सबै अंशियारको हक समान रहने छ भनेर स्पष्ट उल्लेख गरेको छ ।
यसअघि २०६३ सालको अन्तरिम संविधानमै पैतृक सम्पत्तिबाट छोरीले पनि अंश पाउने व्यवस्था गरेको थियो । तर त्यसको कार्यान्वयनमा अन्य कानुनहरु उदार बन्न नसक्दा छोरीहरुले अंश पाउन सकेका थिएनन् ।
दाइजो दिन जति नै सम्पत्ति खर्च गरे पनि समाजले छोरीलाई अंश दिने विषय अझै पनि सहज ठान्न सकेको छैन । ०६३ को अन्तरिम संविधानले छोरीले पनि अंश पाउने उल्लेख गरेको भए पनि त्यस बमोजिमको हक दावी गर्दै अंश लिने छोरीहरु भने कम देखिए ।
अहिलेसम्म पनि एकाध बाहेक कुनै पनि बाबुआमाले छोरीलाई अंश दिने चलन छैन । उजुरी नै दिएपनि छोरीलाई अंश दिलाउने कानुनहरु यस अघि पर्याप्त थिएन ।
२०६३ सालको अन्तरिम संविधानले पैतृक सम्पत्तिमा छोराछोरीको बराबर हक लाग्ने व्यवस्था गर्यो । तर त्यसका लागि आवश्यक प्रचलित कानुनहरु संशाेधन नहुँदा छोरीले छोरा सरह अंश पाउने स्थिति अहिलेसम्म हुन सकेन ।
भदौ १ देखि लागू भएको मुलुकी देवानी संहिताले पुराना कानुनमा भएका बाधाहरुलाई सल्टाएको छ । संहिताले अंशमा छोरीहरुको पनि समान हैसियत कायम गरिदिएको छ । छोरा र छोरीलाई कुनै विभेद नगरी पैतृक सम्पत्तिमा बराबर अंश दिनुपर्ने व्यवस्था संहिताले गरेको हो ।
लैङि्गक समानता कायम गर्न तथा लैङिगक हिंसा अन्त्य गर्न यस्तो व्यवस्था मुलुकी ऐनमै गरिएको महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता एवं प्रवक्ता संजिवराज रेग्मीले बताउनुभयो । यो ऐनले विवाहिता छोरीले पनि छोरा सरह अंश पाउने व्यवस्था गरेको हो ।
अहिले ऐनमा छोरालाई मात्रै अधिकार दिने व्यवस्था गरेका ठाउँमा छोरी शब्द पनि थपेको छ । साथै अविवाहिता छोरी भन्ने शब्द हटाएर सगोलकी छोरी (अंशियार) भन्ने शब्द राखेको छ । २०४७ सालपछि छोरीलाई पनि समान अंश दिनुपर्छ भनेर आवाज उठ्दै आएको थियो ।
सर्वोच्च अदालतले छोरीलाई पनि अंश दिन मिल्ने गरी कानुन बनाउन यसअघि पटकपटक निर्देशन तथा फैसला गर्दै आएको थियो ।
यो ऐन कार्यान्वयनमा आएसँगै अब छोरीलाई दोहोरो अंश मिल्ने देखिन्छ । बिहे गरेको छोरीलाई पनि अंश दिने भनेसँगै जन्म घर अर्थात माइती पक्षबाट अंश पाउने निश्चित छ नै सँगै सोही ऐनमा श्रीमानकाे तर्फबाट पनि अंशियार रहने देखाएको छ । यसले छोरीलाई माइती पक्ष र श्रीमान पक्ष दुवैतर्फबाट अंश पाउने निश्चित गरिदिएको हो ।
त्यस्तै संहिताले अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा र उनले जन्माउने शिशु अंशियार हुने भएमा त्यसरी जन्मने शिशुलाई समेत समान अंशियार मानेर अंश भाग छुट्याउनु पर्ने व्यवस्था गरेको छ ।
त्यस्तै वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पतीबाट जन्मेका छोरा, छोरीले पनि अंश पाउने संहिताले व्यवस्था गरेको छ । संहिताको दफा २०७ मा भनिएको छ, ‘कानून बमोजिम विवाह हुन नसक्ने, विवाह भएको नमानिने वा वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पतीबाट जन्मिएका छोरा छोरीले त्यस्ता बाबु आमाबाट अंश पाउनेछन् ।’ उज्यालो
September 4, 2018 7:22 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)