सरकार विरुद्ध उत्रियो कांग्रेस : राष्ट्रियसभा अवरोध, मण्डलामा प्रदर्शन
काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेस एकाएक सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको छ । विपक्षीको भूमिका खेल्न नसकेको भन्दै आलोचना भइरहेका बेला कांग्रेस सदन र सडकमा एकसाथ आक्रमक बनेको हो ।
कांग्रेसले चिकित्सा शिक्षा विधेयक, डा. गोविन्द केसीको अनसन र निषेधाज्ञालाई मुद्वा बनाएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ भने माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
संसदीय दलको बैठकको निर्णयअनुसार कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । बैठकमा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले सार्वजनिक स्थलमा प्रदर्शन गर्न रोकेर सरकार पूर्वराजा ज्ञानेन्द्र शाहकै बाटोमा लागेको आरोप लगाए ।
‘निषेधित क्षेत्र नतोडेको भए केपी ओली प्रधानमन्त्री हुनुहुन्थेन । अध्यक्ष महोदय पनि त्यो कुर्चीमा हुनुहुन्थेन’ उनले भने ‘यो सरकार किन ज्ञानेन्द्रपथतिर अघि बढ्दैछ ? बहुमतको दम्भमा जनताको आवाज कुण्ठित गर्ने कोशिस गरिएको छ ।’
डा. गोविन्द केसी चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा अनशन बस्न जाँदा धरपकड गरेको भन्दै आपत्ति जनाए । त्यस्तै छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनशनरत गंगामाया अधिकारीको माग पनि पूरा गर्न आग्रह गरे ।
किन आक्रमक बन्दैछ कांग्रेस ?
पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवामाथि पार्टी चलाउन नसकेको मात्र होइन, प्रमुख प्रतिपक्षीको भूमिका खेल्न नसकेको आरोप पार्टीभित्रैबाट लागेको छ ।
मिनेन्द्र रिजाल र गगन थापा लगायतका केही सांसदले लगातार संसदमा विभिन्न मुद्दाहरु उठाउँदै आएपनि कांग्रेस संगठित रुपमा प्रस्तुत भएको थिएन तर, मंगलबार पार्टीका शीर्ष नेताहरुको बैठक बस्यो, जसले पार्टीेको आन्तरिक विषयमा बहस गर्दैगर्दा सार्वजनिक फोरममा भने एक भएर प्रस्तुत हुने सहमति जुट्यो । लगतै बुधबार विहान संसदीय दलको बैठक बोलाइयो ।
बैठकमा प्रमुख सचेतक बालृकृष्ण खाँडले पछिल्लो परिस्थितिबारे जानकारी गराए भने मिनेन्द्र रिजाल सहितका सांसदहरुले आआफ्नो धारणा राखेका थिए । लगतै सभापति शेरबहादुर देउवाले नै सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने धारणा राखे ।
उनले डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न तीन सदस्यीय संसदीय प्रतिनिधि टोली जुम्ला पठाउने बताए । टोलीमा सांसदहरु प्रकाश रसाइली स्नेही, रंगमती शाही र प्रदेश सभा सदस्य दिनबन्धु श्रेष्ठ छन् ।
यस्तै गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न पार्वता डी.सी चौधरी, डा.अमरेशकुमार सिंह र देवप्रसाद तिमिल्सिना रहेको टोली खटाएको छ । टोलीले बुधबार नै वीर अस्पताल पुगेर अधिकारीलाई भेटेको छ ।
चिकित्सा शिक्षा अध्यादेशको स्वामित्व हाम्रो
बैठकमा नेताहरुले कांग्रेसले कुनै पनि मुद्दा उठाउने तर, टुंगोमा नपुर्याउँदा भूमिका प्रभावकारी नदेखिएको बताएका थिए । सभापति देउवाले अब आफू पनि नियमित रुपमा संसद बैठकमा उपस्थित हुने बताए । साथै चिकित्सा शिक्षा अध्यादेश आफ्नो नेतृत्वको सरकारले ल्याएको भन्दै यसको स्वामित्व लिइने बताए ।
अध्यादेशसँगै डा. केसीको अनशनलगायतका मुद्दालाई टुंगोमा पुर्याएरै छाड्ने देउवाले बताएको एक सांसदले बताए । कांग्रेसले निषेधाज्ञा फिर्ता लिन आग्रह गरेको छ । नभए जनताको तर्फबाट निषेधाज्ञा अवज्ञा गर्ने चेतावनी दिएको छ ।
July 5, 2018 4:04 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन