Saturday 23rd November 2024

ओलीजी ! तुजुक होइन, गरिमा देखाउनुहोस्

6 years अगाडी

म अत्यन्त सामान्य प्रसंगमा कुरा गर्दैछु । केही दिनअघि समाचारमा आयो, संस्कृति विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरियो । आफूलाई फर्काएर ल्याएको अपमानबोधमा उनले मानवअधिकार आयोगमा एउटा निवेदन दिएका छन् । त्यो निवेदनमा उनले अरु केही लेखेका छैनन् । मेरो अपमान भयो मात्र लेखेका छन् । न कुनै मुद्दा छ, न कुनै आरोप छ ।

तिमीलाई प्रधानमन्त्रीले खोज्नुभयो भनेको छ । एउटा डिएसपीले लिएर आएको छ । उनी प्रधानमन्त्रीको प्रतिक्षारत छन् । यो एकदम साधारण कुरा हो । यो समाचारको लायक कुरा पनि छैन । आयोगले पनि यसमा धेरै गर्ला भन्ने छैन । तर, यही साधारण कुराका पछाडि गमेर हेर्नुभयो भने यो साधारण कुराभित्र लोकतन्त्रको परिभाषा अन्तरनिहित छ । लोकतन्त्र एउटा त्यस्तो व्यवस्था हो, जुन व्यवस्थामा जनतासँग सरकार डराउँछ । तानाशाही एउटा यस्तो व्यवस्था हो, जहाँ सरकारसँग जनता डराउँछ । म दोहोर्‍याएर भन्न चाहन्छु, त्यस गिरफ्तारीले, त्यस धरपकडले केही गरेन । कतै हिंड्न आँटेको, कतै उड्न आँटेको एउटा साधारण नागरिक, जो उपकुलपति पनि थिए, लाई प्रधानमन्त्रीले बोलाएको भनेर ल्याईयो । अरु केही गरिएन् । एकछिन राखियो, अनि छाडियो ।

यो के हो ? आजभन्दा दुई दिनअगाडि यहाँ गोविन्द केसीको बारेमा छलफल भइरहेको थियो । म बाहिर निस्कँदै थिएँ । एकजना वर्तमान सरकारका वरिष्ठ मन्त्री, हिजोको नेकपा माओवादी पार्टीकै मित्र अर्थात् तपाईं हामी सबैका मित्रले भन्नुभयो- अहो, आज संसदमा कस्तो राम्रो दृश्य देखियो । साँच्चै नै दुईतिरको दृष्टिकोण देखियो । म गोविन्द केसको बारेमा धेरै कुरा भन्न चाहन्नँ पनि । गोविन्द केसीले उठाएका सारा कुरा सही हुँदाहुँदै पनि मैले भन्ने मौका पाउँदा बोल्ने थप कुराहरु छन् । तर, त्यसदिन संसद बिलकुलै विभाजित देखियो । कुनै सदस्य बोल्न उठ्नासाथ थाहा हुन्थ्यो, यसले के बोल्छ ।यो संसद पार्टीको ह्वीप अनुसार गोविन्द केसीको पक्षमा र विपक्षमा बाँडिएको दृश्य देखियो ।

म दुईटा कुरा भन्न चाहन्छु । एउटा कुरा, संसदका सदस्यहरु अर्थात् हामी प्रतिनिधिसभाका सदस्यहरु पार्टीका सदस्य मात्र होइनौं । सिंगो जनताको विश्वास लिएर यहाँ आएका छौं । हामी त्यो क्षेत्रको सांसद मात्र पनि होइनौं । देशको सांसद हौं ।विचार गर्नुपर्ने कुरा के छ भने, कुलप्रसाद कोइरालाको त्यो समस्या, एउटा नागरिकको अपमानको समस्या, अकारण विश्वविद्यालयको उपकुलपतिलाई बेइज्जत गरेको समस्या मैले माथि उठाएको प्रश्नको जवाफ हो । सरकार जनतासँग डराउँछ । जनता सरकारसँग डराउँछ । कुनै उद्देश्य छैन त्यसको । कुनै जमानामा अध्यक्ष प्रचण्डले पशुपतिलाई स्पर्श गर्दा बरु केही उद्देश्य थियो होला । पशुपतिको पुजारी बदल्नुको उद्देश्य थियो होला । तर, यो (उपकुलपति पक्राउ) मात्र जनतालाई तर्साउने कुरामा सीमित छ । जनता तर्सिऊन् ।

तर, जनता तर्सिँदैनन् । अहिले तर्साईहाल्ने बेला पनि सम्माननीय, आदरणीय प्रधानमन्त्रीज्यूको छैन । लामो समयसम्म संघर्ष गर्नुभएको हो । जेल बस्नुभएको हो । उहाँसँग मेरो पहिलो भेट भद्रगोल जेलमा भएको हो । उहाँले बिर्सनुभयो होला । मैले बिर्सिएको छैन । उहाँले के बुझ्नुपर्छ भने उहाँ आज दक्षिण एसियाकै सर्वाधिक शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ । दुनियाँले उहाँलाई हेर्दैछ ।

कांग्रेस पराजित छ । काँग्रेसले दृष्ठता गरे हुन्छ । पराजयमा दृष्ठता गर्नु भनेर हामीलाई संसदीय परम्पराले सिकाएको छ । इन्डिफिट डिफाइन्ड भनेर संसदीय व्यवस्थाको मर्मज्ञ चर्चिलले भनेका थिए । तर, विजयमा गरिमा हुनुपर्छ । म छातीमा हात राखेर भन्छु, प्रधानमन्त्री ओलीको मेरोजस्तो निस्वार्थ शुभाकांक्षा उहाँको यहाँ छैन । यो प्रधानमन्त्री ओलीलाई याद होला । तर, यो प्रधानमन्त्रीले गरिमा देखाउने बेला हो । कुलप्रसाद कोइरालाजस्तो साधारण मानिसलाई तागत र तुजुक देखाउने बेला होइन । अब यदि प्रधानमन्त्रीले कुनै कारणवश, उहाँको स्वास्थ्य ठिक नभएकोले, उहाँको कार्यव्यवस्ताको कारणले, अन्य कारणले अन्जानवश यो घटना घट्न गएको छ भने उहाँले कम्तिमा सम्बन्धित व्यक्तिलाई एकपटक फोन गरेर ‘मलाई दुःख छ, अपशोच छ, मैले नजानीकन यो काम गरेँ’ भनेर भन्नुपर्छ उहाँले ।

होइन भने यो सदनले र सदनका प्रत्येक सदस्यले यो कुरा बुझ्नुपर्छ, ‘बुढी मरी भन्ने पीर होइन, बाघ पल्कियो भन्ने पीर हो ।’ अकारण एउटा एयरपोर्टबाट उड्न लागेको मानिसलाई फर्काएर ल्याएर ‘ए, प्रधानमन्त्री व्यस्त हुनुहुन्छ, तपाईं आफ्नो बाटो जानुस् भन्न पाइन्न ।’ उनलाई कुनै आरोप दिइएको छैन । उनको कुनै प्रशासनिक काममा बाधा गरेको छैन ।गुटबन्दी छ । हिजो हामीले विश्वविद्यालय चलाउँदा, (मैले हिजो भनेपनि यद्यपि आज पनि त्यही परिपाटी छ) कसरी विश्वविद्यालय बाँढेका थियौं ? थाहा छ । हामीले कलेज बाँढेनौं कि विश्वविद्यालय बाँढेनौं कि अस्पताल बाँढेनौं कि तपाई हामी सबै निर्णयकर्ता थियौं । मन्त्री हुनुहुन्थ्यो । त्यहाँ गुटबन्दी पनि होला । त्यहाँ माले पनि होलान्, अहिलेको नेकपा पनि होला, एमाले पनि होला, काँग्रेस पनि होला । यदि तिनीहरुको बहकाउमा लाग्नुभएको हो भने यसकिसिमको कदम उचित छैन ।म यहाँ भन्दैछु, व्यक्तिगत इज्जत, गरिमा र स्वतन्त्रताको कुरा गर्दैछु । अभिव्यक्तिको अधिकार प्रजातन्त्रमा प्रधानमन्त्रीको अधिकार सरह हुन्छ कानुनले अन्यथा नभनेबापत । एक व्यक्तिको भोटले संसद विजयी हुन्छ । प्रदीप गिरी

          July 13, 2018 1:17 pm | विचार/ब्लग


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...