सेयर गर्नुहोस ,गाईले पत्ता लगाएको महादेव ! दर्शन गर्नेको भिड
ब्याउन लागेको गाई गोठबाटै हरायो । अहिलेको गुप्तेश्वर महादेवपारिपट्टि खेतमा गाईगोठ थियो । गाई खोज्दाखोज्दै महिनौं बित्यो । फेलापरेन । गाईधनीले गाई माया मारिसकेका थिए । मनमा तोड परे पनि गाई माया मार्नुको विकल्प थिएन ।सपना सपना नै हो, विपना हुन सक्दैन भनिन्छ । यससम्बन्धमा गाईधनीसमेत जानकार थिए । उनले गोठनजिकको खेतमा गाईले धान खाइरहेको सपना देखे । उज्यालो भएपछि त्यहाँ पुग्दा गाईले धान खाइरहेको देख्दा तीनछक परे । सपनामा देखेको गाईले विपनामा धान खाइरहेको देख्दा अचम्म लाग्नु अस्वाभाविक होइन । उनी धान खाइरहेको गाईनजिक पुग्दा गाई हराउँथ्योे ।
गाईधनीले दुई÷चार दिन त्यसरी धान खाइरहेको गाईको पछि लागे । नजिकै पुग्दा हराउँथ्यो । गाईनजिक पुग्नेक्रममा हराएपछि कता–कता गाई कराएको आवाज सुनियो । आवाज पहिल्याउँदै जाँदा धान खाइरहेको देखेको गाई गुप्तेश्वर महादेव गुफामा देखियो । मानिस पस्न र निस्कन अप्ठ्यारो गुफाबाट गाई निकाल्न त्यति सजिलो थिएन ।त्यति अप्ठ्यारो गुफामा गाई कसरी पस्यो होला ? जोकोहीले आश्चर्य मान्छन् । गाईधनी एक्लैले गाई निकाल्न नसक्ने भएपछि गाउँलेसँग हारगुहार मागे । उनी सहयोगी लिएर पुनः त्यही गुफा पुगे । जम्मा भएकामध्ये आधा गुफाभित्र पसे । बाँकी बाहिरै रहे ।
गुफाभित्रकाले गाई धकले । बाहिरकाले दाम्लोको सहाराले ताने । तर, गाई निकाल्न सकिएन । गाई निकाल्न सहयोग गर्न पुग्नेले भने, ‘गाई निकाल्न सकिँदैन । माया मारौं ।’ त्यसो भन्दै सहयोगी घर फर्के । गाईधनी त्यहीं बसे । आफ्नो गाईको माया लाग्नु स्वाभाविकै थियो । गाईधनीले मनमनै सोचे– मलाई भगवान्ले छल त गरेन । उनले मनमनै आराधना गरे । पूजाआजामात्रै होइन, भाकलसमेत गर्न भ्याए । त्यत्ति गरेपछि गुफाबाट गाई सजिलै बाहिरियो ।त्यत्रा सहयोगीसहित प्रयास गर्दा निकाल्न नसकिएको गाई गाईधनी एक्लैले निकाले । त्यसपछि गाउँभरि चर्चा–परिचर्चा भयो । त्यसपछि यस गुफालाई ‘गुप्तेश्वर महादेव’ भन्न थालियो । गाईले पत्ता लगाएको भएकाले गुप्तेश्वर गुफा भनिएको स्थानीय बताउँछन् ।
गुप्तेश्वर महादेव पुगेकालाई पुजारी हीराधन राईले उल्लिखित किंवदन्ती सुनाउने गर्छन् । गुप्तेश्वर महादेव दर्शन गर्न सुतेरै पस्न र निस्कनुपर्छ । गुफाभित्र सातजनाजति अटाउन सकिन्छ । काला चट्टानले बनेका गुफा थुप्रै शिला देख्न सकिन्छ । ती सबैको नामकरण गरिएका छन् । गुप्तेश्वर महादेवभित्र महादेव, चन्द्रमा, गणेश, शिवजी, सप्ऋषि, महादेवको शिर र कछुवालगायत थुप्रै आकृति देख्न सकिन्छ । त्यसमध्ये डेढ फुट उचाइको शिलालाई गुप्तेश्वर महादेव भन्ने गरिन्छ । शिलाबाट तपतप पानी चुहिरन्छ । गुफा पस्ने र निस्कने ठाउँमा गाई आकारको शिला प्रस्टै देख्न सकिन्छ ।
अर्खौलेको दुक्सिलीमा रहेको गुप्तेश्वर महादेव संवत् १७२६ मा पत्ता लागेको हो भन्ने गरिन्छ । त्यति पुरानो मानिए पनि पाँच वर्षअघि देखि आन्तरिक तथा वाह्य पर्यटक गुप्तेश्वर महादेव बाक्लै पुग्ने गरेका छन् । त्यसअघि औंलामा गन्न सकिनेमात्रै पुग्थे । हलेसी पुगेका बौद्ध धर्मावलम्बी गुप्तेश्वर नपुगे यात्रा अधुरो भएको सम्झन्छन् । भारत, भुटान, श्रीलंका, ताइवान, कोरिया, सिंगापुर, हंगेरी, हल्यान्डका बौद्ध धर्मावलम्बी गुप्तेश्वर महादेव टेकिसकेको पुजारी राईले जानकारी गराए ।
हलेसी–तुवाचुङ नगरपालिका–८ धितुङका अर्जुन दर्नाल गुप्तेश्वरमा भेटिए । पछिल्लो समय हलेसी–तुवाचुङ नगरपालिका–१० अर्खौलेमा बसोवास गर्ने दर्नाल पहिलोपटक गुप्तेश्वर पुगेका थिए । उनको भनाइ थियो, ‘गुप्तेश्वर महादेवको प्राकृतिक बनोट हेर्दा असाध्यै सुन्दर लाग्यो । त्यत्तिकै आनन्द लाग्यो ।यस्तो गुफा जीवनमा पहिलोपटक देखेको हुँ ।’ अर्खौलेकै यादव श्रेष्ठसमेत गुप्तेश्वरमै भेटिए । ‘यसपटकसहित तेस्रोपटक गुप्तेश्वर महादेवको दर्शन गरें,’ श्रेष्ठले थपे, ‘बाहिरतिर त आइरहन्छु ।’
गुप्तेश्वर महादेव पर्यटकीस्थल बन्दै गएको छ । अर्खौलेमा सुत्केरी ढुंगा, गुप्तेश्वर महादेवलगायत अन्य पर्यटकीयस्थलसमेत रहेका छन् । जसको प्रचार–प्रसार हुन सकेको छैन । हलेसी–तुवाचुङ नगरपालिका–१० वडाध्यक्ष ज्ञानु पुरी भन्छन्, ‘गुप्तेश्वर महादेव वडाको प्रमुख पर्यटकीयस्थल हो । नगरसँग समन्वय गरेर यसलाई नमुना पर्यटकीयस्थल बनाउन लागिपरेको छु । गुप्तेश्वर महादेवलाई सडकसँग जोड्न धेरै छैन । त्योसँगै यहाँको पर्यटकीयस्थलको भौतिक पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको छु ।’गुप्तेश्वर महादेव आसपासमै पार्वतीथान र सिकारीथान रहेका छन् । छेउमै बगेको कलकल पानीले गुप्तेश्वर पुगेकालाई आनन्दित तुल्याउँछ गाउँको पुछारमा रहेकाले शान्त वातावरण छ । खोलाछेउमात्रै होइन, जंगलबीचमा भएकाले गुप्तेश्वर पुगेकाले शीतल अनुभूति गर्छन् । त्यहाँसम्म पुगेका आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि केही पसल खोलिएका छन् ।
पर्यटकलाई जानकारी गराउन कोही न कोही पथप्रदर्शक भेटिन्छन् । गुप्तेश्वर महादेव पुगेकाले स्थानीयले ‘सिजनल बिजनेस’ गर्दै आएका छन् । बर्खाभन्दा हिउँदमा पर्यटक धेरै आउने गरेको हीराधन राईले सुनाए । पर्यटक बाक्लिएपछि स्थानीय लाभान्वित हुने नै भए ।अर्खौले बजारबाट पाँच किमि दूरीमा रहेको गुप्तेश्वर पुग्न ओह्रालो र फर्कंदा उकालो बाटो छ । गुप्तेश्वरको केही माथिसम्म यातायात साधन पुग्छ । त्यहाँबाट १० मिनेट पैदल हिँड्नुपर्छ । गाईले पत्ता लगाए पनि त्यो गाई कसको थियो होला भनेर जिज्ञासा लाग्न सक्छ ।गाई स्थानीय सुवोध राई थियो । राईको गाई गुप्तेश्वर महादेवमा अड्किएको हो । स्थानीय बूढापाकाको भनाइअनुसार गाई र गाईधनीले १७२६ मा गुप्तेश्वर महादेव पत्ता लगाएका थिए ।
August 26, 2018 4:38 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन