बझाङमा ठेकेदारलाई सम्मान : दुई सय दिनअघि काम पूरा गर्दा ४४ लाख पुरस्कार
दुई सय दिनअघि काम पूरा गर्दा ४४ लाख पुरस्कार, स्थानीयवासी र सरकारी कार्यालयद्वारा प्रशंसा
तोकिएको समयमा काम पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशनमा सूची तयार पारिएको छ । तर, बझाङमा भने यो सूचीसँगै ठेकेदारलाई सम्मान पनि गरिएको छ ।

बझाङका निर्माण व्यवसायी दल विष्ट तोकिएको समयअगावै काम पूरा गर्दा सम्मानित भएका हुन् । उनलाई स्थानीयवासीसँगै सरकारी कार्यालयले पनि सम्मान गरेका हुन् ।
निर्माण–व्यवसायी विष्टले बिकोई बिल्डर्स प्रालिमार्फत बझाङमा निर्माणको काम गरेका थिए । उनले बाउली गाड र सेतीनदीमा तटबन्ध निर्माणको काम तोकिएको समयभन्दा अगाडि नै पूरा गरेका हुन् । त्यस्तै, जिल्ला मालपोत कार्यालय र जिल्ला हुलाक कार्यालयको भवन पनि ठेक्काको म्यादअघि नै सम्पन्न गरेका छन् ।
३ वर्षयता बझाङमा निर्माणको काम राम्रोसँग र छिटो पूरा गरेकाले उनलाई सम्मानित गरिएको जनाइएको छ । ‘धेरै निर्माण–व्यवसायीले ठेक्का ओगट्ने र काम नगर्ने गरेका थिए, मैले समयभन्दा अगाडि नै काम सम्पन्न गरेँ,’ निर्माण–व्यवसायी विष्टले भने, ‘यो सम्मानले अरू योजनाको कामलाई पनि तीव्रता दिन हौसला मिलेको छ ।’
अहिले ठेक्का पाएका योजनाहरू पनि तोकिएको समयभन्दा अगाडि नै सम्पन्न हुने गरी काम भइरहेको उनको भनाइ छ । ‘सबै योजनाको ७० प्रतिशत काम सकिएको छ, बाँकी काम ५ महिनाभित्र सक्ने योजना छ,’ उनले भने ।
उनले चैनपुर रिङरोड, जिल्ला अदालतदेखि चौराहसम्मको सडक र जिपपार्कदेखि जिल्ला प्रहरी कार्यालयसम्मको सडकको कालोपत्रेको काम गरिरहेका छन् । यस्तै, बझाङकै मटेला स्वास्थ्य चौकी ठेक्का पनि बिकोइ बिल्डर्समार्फत उनले नै गरिरहेका छन् । यी सबै गरी ३ करोड ७६ लाखका योजना छन् ।
दुई सरकारी कार्यालय निर्माण गर्दा ४४ लाख पुरस्कार
निर्माण–व्यवसायी विष्टले सम्मानसँगै नगद पुरस्कार पनि पाएका छन् । दुइटा सरकारी कार्यालय भवन निर्माण गर्दा ४४ लाख पुरस्कार पाएका हुन् ।
तोकिएको समयभन्दा दुई सय दिन (झन्डै ६ महिना)अघि काम पूरा गर्ने निर्माण–व्यवसायीले पुरस्कारस्वरूप थप १० प्रतिशत रकम पाउने व्यवस्था छ । उनले जिल्ला मालपोत कार्यालय र जिल्ला हुलाक कार्यालयको भवन तोकिएको समयभन्दा दुई सय दिनअघि नै सम्पन्न गरेका हुन् ।
मालपोत कार्यालयको भवन हस्तान्तरण गर्दा १० प्रतिशत बराबर ३२ लाख र हुला कार्यालयको भवन हस्तान्तरण गर्दा १२ लाख पाएका हुन् । ‘छिटोछरितो गुणस्तरीय काम गरेको छु, अरू योजना पनि समयमै पूरा गर्नेछु,’ विष्टले भने ।नयाँपत्रीका
November 11, 2018 7:14 am | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन