Monday 29th April 2024

जाडोमा घाम ताप्दै बदाम खान मन पर्छ ? यस्ता छन् फाइदा

5 years अगाडी

जाडो याममा पारिलो घाम ताप्दै भुटेको बदाम खान कसलाई मन नपर्ला र ? अझै मिल्ने साथीहरुसँग बसेर गफगाफ गर्दै बदाम खानुको मजा त झनै बेग्लै छ ।स्वादिलो र पौष्टिक दुवै हुने बदाम नेपालमा धेरै लोकपि्रय खानेकुराको रुपमा चिनिन्छ । तिहार पर्वमा विशेषगरि दिदीबहिनीले आफ्नो दाजुभाईलाई भाइमसालाको रुपमा बदाम दिने गर्छन् ।जाडोमा बदाम खाँदा यसले धेरै फाइदा गर्ने भएकाले जाडोयाम सुरु भएसँगै आउने तिहारमा दिदीबहिनीले आफ्नो दाजुभाईलाई बदाम लगाएत अन्य ड्राइफ्रुट्स भाइमसालाको रुपमा दिने चलन विकास भएको मानिन्छ ।

बदाम लगाएतका ड्राइफ्रुट्सले शरीरमा गर्माहट बढाउँछन् । त्यसैले जाडोमा बदाम खाँदा हाम्रो शरीरलाई धेरै फाइदा हुन्छ । अन्य ड्राइफ्रुट्स भन्दा बदाम सस्तो पनि हुने र हाम्रै गाँउठाँउमा खेती हुने भएकाले बदाम धेरै लोकपि्रय पनि छ ।

स्वाद र पौष्टिकताले भरपुर बदामले दिमाग तेज बनाउने मात्रै नभई मुटुलाई पनि तन्दुरुस्त राख्छ । यसको तेल पनि स्वास्थ्यको लागि धेरै फाइदाकारी छ
यसमा मिनरल्स, एन्टीअक्सिडेन्ट्स, भिटामिन बी कम्लेक्स, रिवोफ्लोबिन, थियामिन, भिटामिन बी६ र भिटामिन बी९ पनि भरपुर मात्रामा पाइन्छ ।

यस्ता छन् बदाम खानुका ८ फाइदाः

१. मधुमेहलाई नियन्त्रणमा राख्छ : नियमित रुपमा दैनिक बदाम खानाले मधुमेह हुने सम्भावना २१ प्रतिशतले कम हुन्छ । बदाममा पाइने म्यागनिज नामक तत्वले ब्लड सुगर लेभललाई नियन्त्रित गर्छ । यसको सेवनले शरीरमा क्याल्सियमको अवशोषणमा मद्धत गर्छ र मेटाबोलिज्म बढाउँछ ।

२. मांसपेसी बढ्छ : यदि तपाइर्ंको शरीर कमजोर छ र बांगोटिंगो मांसपेसीले तपाईको लुक खराब गरिरहेको जस्तो लाग्छ भने दैनिक रुपमा भिजाइएको बदाम दुधसँग खानुहोस् विस्तारै विस्तारै तपाईंको मांसपेसी बढ्न थाल्छ र शरीर सुडौल देखिन्छ ।

३. क्यान्सरबाट बचाउँछ : बदाममा पाइने एन्टिअक्सिडेन्ट, आइरन, फोलेट क्याल्सियम र जिंकले शरीरलाई क्यान्सरसेलबाट लड्नको लागि मद्धत गर्छ । यसैले बदाम खानाले स्वस्थ हुने मात्रै नभई क्यान्सरबाट बँच्न सकिन्छ ।

४. रक्त सञ्चार सही राख्छ : जाडोमा चिसोको कारण हाम्रो ब्लड सर्कुलेसनमा पनि समस्या हुन्छ । जाडोमा बदामको सेवनले शरीरमा गर्माहट ल्याउँछ जुन कारणले ब्लड सर्कुलेसन राम्रो हुन्छ र मुटु स्वस्थ हुन्छ । बदामको नियमित सेवनले हार्ट अट्याक र मुटु सम्बन्धी रोगहरुको खतरा कम हुन्छ ।

५. गर्भवती महिलाहरुको लागि लाभदायक : गर्भवती महिलाहरुको लागि बदाम खानु फाइदाकारी हुन्छ । यसले गर्भमा बढीरहेको बच्चाको विकासको लागि फाइदाकारी हुन्छ ।

६. तौल घटाउँछ : बदाममा फाइबरको भरपुर मात्रा हुन्छ । यो इनर्जीको राम्रो स्रोत पनि हो यसैले बदाम खाँदा खाँदा छिटै भोक लाग्दैन । त्यसैले तौल व्यवस्थापनको लागि बदाम खानुपर्छ ।

७. तनावबाट राहत : डिप्रेशनबाट बँच्न र यसको उपचारमा बदामको सेवन राम्रो मानिन्छ । बदाममा टि्रपटोफान नामक एमिनोएसिड हुन्छ जसले मुड सुधार्ने हार्मोन सेरोटोनिनको स्राव बढाउँछ । यसले मुड राम्रो हुन्छ र मन शान्त हुन्छ ।

८. स्मरणशक्ति बढाउँछ : बदाममा पाइने भिटामिन बि३ले दिमागी प्रक्रियालाई तिव्र बनाउँछ । स्मरणशक्ति बढाउँछ । यसको सेवनले दिमाग स्वस्थ र तेज हुन्छ ।

          November 22, 2018 4:17 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...