Monday 13th May 2024

अतिथि , बेतिथि र कुरिति

5 years अगाडी

राज मल्ल –

अतिथि देवो भव: अर्थात अतिथि देवता समान हुन । त्यसैले अतिथि सत्कार एउटा पवित्र धर्म हो। जसलाई सबै देश,जात धर्मले परापूर्वकालदेखि मान्दै आएको पाइन्छ । अन्य सन्दर्भमा अतिथिको अर्थ र अवस्था फरक परेपनि प्राय: सामाजीक सभा समारोहमा “ अतिथी “ लाई उच्च सम्मानका साथ अग्रपङतीमा राख्ने चलन छ। सोही परम्परा अनुशरण गर्दै कुवेतमा कृयाशिल संघ संस्था लगायतले आयोजना गर्ने सभा समारोहमा अतिथीलाई बिशेष सम्मान सहित अग्रपङतीमा राख्ने गरेका छन ।

दूतावास सगै समाजसेवी,सामाजीक संघ सस्थाका अध्यक्ष , पदाधिकारी, बुद्धिजीवी , पत्रकार , कलाकार खेलाडीहरु नै प्राय: कुवेतमा आयोजना हुने नेपाली कार्यक्रममा अतिथिको बागडोर सम्हाल्ने पात्र हुन । सिधा अर्थमा भन्नु पर्दा पद ,पैशा र पगरि गुथ्नेहरुनै अतिथी हुन जस्लाइ सांस्कृतिक कार्यक्रमको V.I.P. पास उपलब्ध गराइन्छ भने अन्य समारोहका लागि खाम । छातीमा ब्याज भिर्दै मञ्चको अग्रपङतीमा बस्नेहरु कति अनुशासित, मर्यादीत र निष्ठावान हुनु पर्छ सायद त्यस्को ब्याख्या गरि रहनु नपर्ला । ब्यक्ति विशेषको योग्यतामा पनि भर पर्ने हुनसक्छ ।

कम्तिमा २-४ महिना पहिलादेखि तयारी गरिने कुवेतका प्राय: कार्यक्रमहरु सुरु भने २-४ बजेनै हुने गर्छन । नेपाली समयले नेपाल भन्दा पनि कुवेतमा बढ़ी ज़रा गाडेको छ । कार्यक्रम समारोहको समापन र अतिथी आगमन एउटै समयमा हुने गरेको धेरै उदाहरणहरु हामी माझ छन । संघ संस्था धेरै भएर पनि होला एक दिनमा ३-४ वटा शुक्रवारे कार्यक्रम भएकै हुन्छन । यस्तोमा अतिथीलाई भ्याइ-नभ्याइ पनि भएकै होला ।
तर समयको सहि सदुपयोग गरि निर्धारित समयमा कार्यक्रम सुरु यदी भएमा केही हद सम्म सहज हुने थियो ।

वर्तमान समयमा कुवेतमा आयोजना हुने सबै कार्यक्रमलाई आयोजकले भन्दा पनि अरुले आफु अनुकूल बनाउन थालेको भान हुन्छ । चिठ्ठि वितरण , लाइभ प्रसारण ,फोटोसुट, सगै कानेखुसि, मात्रै हो र अतिथि आवत जावत , बड़ों बिचित्रको माहोल देख्न पाइन्छ । भाबी कार्यक्रम चिट्ठी वितरणको ओहोरदोहोर, पत्रकारभन्दा पनि अतिथी लगायत अन्यको लाइभ प्रसारण , भलै हेर्ने चै कोही नहोस , सबैको हातमा क्यामेरा , सामान्य कार्यक्रमको ५०० पिस फोटोसुट , अनि एक आपसको कानेखुसि , यथार्थमा भन्नु पर्दा आयोजक भन्दा ब्यस्त अतिथीहरुलाईनै कार्यक्रम आयोजना गरिनुको ख़ास अर्थ बुझेको जस्तो लाग्दैन ।

गाना बजाना र खाना । सांगीतिक कार्यक्रममा मात्र होइन अबत हरेक कार्यक्रममा कलाकारहरुको धमाका हुने गरेको छ । स्थानीय कलाकारले स्थान पाउनु राम्रो कुरा हो । तर पाएको स्थानको मर्यादा क़ायम नगर्नु कदापि राम्रो होइन । कमेडि नृत्यको रुपमा उछृँखल भाउभाउ सहित स्टेज चेढ्नेहरुलाई कहिले सम्म तालि ठोक्ने ? सामाजीक रुपमा गरिने नृत्य समाजले पचाउने खालको हुनु पर्दैन ? अर्को कुरा पत्रकार अतिथिहरु जो फोटो र लाइभमा बेस्त हुन्छौ । के हाम्रो पेसाको अस्तित्व छैन ? महत्व छैन ? किन हामी आफै सस्तीदै छौ ? समाजले हिजो हामीलाई हेर्ने नज़र र आज हेर्ने नज़र फरक पारीसक्यो । हामी फेसबुकेसम्म भै सक्यौं। यस्मा समाजको मात्र होइन हाम्रो पनि उत्तिकै दोष छ । हामी हाम्रो ठाउमा बसेर हाम्रो सिद्धान्त अनुसार चलौ । सामाजीक सञ्जालको सस्तो लोकप्रियताको पछि नलागौ । कुन कार्यक्रम कतिको प्रभावकारी छ , समाजमा कस्तो असर पार्छ बुझेर , क़लम , क्यामेरा , लाइभ चलाउ ।

समाज हाम्रो हो । यस्लाइ कुन दिशातिर लैजाने तपाई हाम्रै काधमा छ । समाजमा ब्याप्त ब्यतिथी र कुरितिलाई सबैले आ-आफ्नो क्षेत्रबाट हटाउने प्रयास गरौं। कुनै पनि समाजको निती त्यसै समाजका सचेत वर्गका मानिसहरूले निर्माण गर्ने हो। सामाजीक नितीलाई सही बाटोमा हिंडाउनका लागि सामाजीक कार्यकर्ता अर्थात सामाजीक क्षेत्रमा काम गर्ने र समाज सुधारको अपेक्षा गर्ने जो सुकैले ती विषयका बारेमा गहन अध्ययन, मनन र चिन्तन गर्नुपर्ने हुदा सबैले एक पटक सोचौं ।

          January 30, 2019 1:51 pm | विचार/ब्लग


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...