Thursday 28th March 2024

कसैले नबजाई आफैं घण्ट बज्ने दुनियाँकै शक्तिशाली पिठ “अकलादेवी”

5 years अगाडी

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित निकै पुरानो धार्मिक स्थल अकलादेवी मन्दिरलाई उजिल्याउन स्थानीयवासी जुटेका छन् । यस ठाउँलाई धार्मिक पर्यटनको गन्तव्य स्थल बनाउन सकिने भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको भन्दै स्थानीयवासी यस ठाउँको प्रचारप्रसारका लागि जुर्मुराएका हुन् ।

अकलादेवी मन्दिर व्यवस्थापन समितिले मन्दिरको विकासका लागि गुरुयोजना निर्माण गरेर अगाडि बढेको व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बराई मगरले बताउनुभयो । मन्दिरको सर्वाङ्गीण विकासका लागि डिपिआरसमेत तयार भएको छ । मगरका अनुसार डिपिआर बमोजिम मन्दिर क्षेत्रमा पूर्वाधार निर्माणका लागि रु चार करोड बजेट आवश्यक पर्ने देखिएको छ । “प्रशस्त सम्भावना भएर पनि प्रचारप्रसारको अभावमा यो मन्दिर ओझेलमा पर्दै आएको महशुस गर्र्यौ,” अध्यक्ष मगर भन्नुभयो, “सरोकारवाला निकायको सहयोगमा यस ठाउँको विकास र प्रचारप्रसारका लागि जुटेका छौं ।”

मन्दिरको आफ्नै विशेषता छ, त्यो हो–मन्दिरमा रहेका घण्ट आफैं हल्लिनु । धेरैलाई यो सुन्दा आश्चर्य लाग्ला । कसैले नहल्लाइकन पनि घण्ट आफैं हल्लिन्छ र रु तर, मन्दिरमा रहेका घण्ट आफैं हल्लिएको देख्दा यहाँका स्थानीयवासी मात्र होइन मन्दिरमा पूजाअर्चना गर्न जाने भक्तजन समेत चकित पर्ने गरेका छन् ।

अकलादेवी खुशी भएका बेला मन्दिरभित्र रहेको घण्ट आफैं हल्लिने र बज्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ । देवी प्रशन्न भएको अवस्थामा रातको समयमा घण्ट बज्ने गरेको स्थानीयवासी बालहरि घिमिरे बताउनुहुन्छ । “यज्ञयज्ञादि, धार्मिक अनुष्ठान र पञ्चबलि दिएका बेला देवी प्रशन्न भएर घण्ट बज्ने र हल्लने गरेको छ,” उहाँले भन्नुभयो – “यो दैवीशक्तिको चमत्कार हो ।”

विसं २०४२ देखि मन्दिरमा शङ्ख र घण्ट बजेको सुनिन थालेको स्थानीयवासी बताउँछन् । त्यो बेला तत्कालीन प्रज्ञा पण्डित गङ्गाधर घिमिरेलगायत स्थानीयवासीले यस बारेमा जानकारी गराएपछि ‘यो दैवीशक्ति हो र यसको संरक्षणका लागि केही काम गर्नुपर्छ’ भनेर संरक्षणको काम शुरु गरिएको व्यवस्थापन समितिका अध्यक्ष मगर बताउनुहुन्छ ।

“घण्ट हल्लने कुरा वास्तविक हो, यो हल्ला होइन । मन्दिरमा पञ्चबलि लिएर आएको समयमा घण्ट हल्लन्छ,” उहाँले भन्नुभयो – “किनकि त्यो बेला देवी खुशी हुनुहुन्छ ।” आफूले समेत दुई पटकसम्म पञ्चबलि दिएको र त्यो बेला प्रत्यक्ष रुपमा घण्ट हल्लिएको देखेको मगरले बताउनुभयो ।

मन्दिरमा नौ वर्षदेखि पूजारीको रुपमा कार्यरत टोपबहादुर सारुले देवीको शक्तिका कारण मन्दिरमा रहेका घण्ट आफैं हल्लिने गरेको बताउनुभयो । उहाँका अनुसार मन्दिरमा दैनिक ५०÷६० जना भक्तजन पूजाआजाका लागि आउने गरेका छन् ।

केही दिनअघि मात्रै मन्दिरको अवलोकन लागि पुग्नुभएका जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले विशिष्ट प्रकृतिको यस मन्दिरको प्रचारप्रसार र विकासका लागि स्थानीयवासी सक्रिय भएर लाग्नुपर्ने सुझाव दिनुभएको थियो । विसं २०५५ सालमा मन्दिरमा योगी नरहरिनाथले ८५ औें कोटी होम लगाउनुभएको थियो । यस क्षेत्रमा धार्मिक शक्ति भएको कारण नरहरिनाथले यहाँ कोटीहोम लगाएको स्थानीयवासी बताउँछन् ।

जीर्ण अवस्थामा रहेको मन्दिरको पुनःनिर्माण शुरु भएको छ । समितिको आन्तरिक कोषको रकमबाट जेठ १८ गतेदेखि मन्दिरको पुनःनिर्माणको काम शुरु गरिएको छ । रु ६३ लाख ५० हजारको लागतमा शुरु भएको पुनःनिर्माणको काम आगामी कात्तिकसम्ममा सम्पन्न हुने निर्माण समितिका संयोजक रामभक्त घिमिरेले जानकारी दिनुभयो ।

मन्दिर पुनःनिर्माणका लागि भनेर समितिले केही समय अगाडि महायज्ञको आयोजना गरेको थियो । उक्त महायज्ञमा करीब रु एक करोड दान सङ्कलन भएको थियो । मन्दिर व्यवस्थापन समितिले मन्दिरको डिपिआर तयार गरी भजनकीर्तन भवन, पाटीहरु गोलाकार शैलीमा निर्माण गर्ने योजना बनाएको छ ।

अकला मन्दिरको बाहिर पुरानो आदिकालदेखिको सिंह र नन्दिनी अर्थात् साढेको स्तम्भ छ । उक्त प्रतिमा निकै पुरानो रहेको अनुमान लगाइन्छ । मन्दिर नजिकै पञ्चबलि दिने स्थान र हवनकुण्ड पनि छ । अकलादेवी मन्दिरको दक्षिण पश्चिममा रुद्रदेवीको मन्दिर छ । अकलादेवी र रुद्रदेवीको महिमा गानका लागि वर्षमा चार वटा रुद्री लगाउने गरिन्छ । यस ठाउँमा हरेक वर्ष वैशाख, साउन, कात्तिक र माघमा रुद्री लगाउने प्रचलन रहिआएको छ ।

          July 28, 2019 1:12 pm | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...