कसैले नबजाई आफैं घण्ट बज्ने दुनियाँकै शक्तिशाली पिठ “अकलादेवी”
दमौली । तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित निकै पुरानो धार्मिक स्थल अकलादेवी मन्दिरलाई उजिल्याउन स्थानीयवासी जुटेका छन् । यस ठाउँलाई धार्मिक पर्यटनको गन्तव्य स्थल बनाउन सकिने भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको भन्दै स्थानीयवासी यस ठाउँको प्रचारप्रसारका लागि जुर्मुराएका हुन् ।
अकलादेवी मन्दिर व्यवस्थापन समितिले मन्दिरको विकासका लागि गुरुयोजना निर्माण गरेर अगाडि बढेको व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बराई मगरले बताउनुभयो । मन्दिरको सर्वाङ्गीण विकासका लागि डिपिआरसमेत तयार भएको छ । मगरका अनुसार डिपिआर बमोजिम मन्दिर क्षेत्रमा पूर्वाधार निर्माणका लागि रु चार करोड बजेट आवश्यक पर्ने देखिएको छ । “प्रशस्त सम्भावना भएर पनि प्रचारप्रसारको अभावमा यो मन्दिर ओझेलमा पर्दै आएको महशुस गर्र्यौ,” अध्यक्ष मगर भन्नुभयो, “सरोकारवाला निकायको सहयोगमा यस ठाउँको विकास र प्रचारप्रसारका लागि जुटेका छौं ।”
मन्दिरको आफ्नै विशेषता छ, त्यो हो–मन्दिरमा रहेका घण्ट आफैं हल्लिनु । धेरैलाई यो सुन्दा आश्चर्य लाग्ला । कसैले नहल्लाइकन पनि घण्ट आफैं हल्लिन्छ र रु तर, मन्दिरमा रहेका घण्ट आफैं हल्लिएको देख्दा यहाँका स्थानीयवासी मात्र होइन मन्दिरमा पूजाअर्चना गर्न जाने भक्तजन समेत चकित पर्ने गरेका छन् ।
अकलादेवी खुशी भएका बेला मन्दिरभित्र रहेको घण्ट आफैं हल्लिने र बज्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ । देवी प्रशन्न भएको अवस्थामा रातको समयमा घण्ट बज्ने गरेको स्थानीयवासी बालहरि घिमिरे बताउनुहुन्छ । “यज्ञयज्ञादि, धार्मिक अनुष्ठान र पञ्चबलि दिएका बेला देवी प्रशन्न भएर घण्ट बज्ने र हल्लने गरेको छ,” उहाँले भन्नुभयो – “यो दैवीशक्तिको चमत्कार हो ।”
विसं २०४२ देखि मन्दिरमा शङ्ख र घण्ट बजेको सुनिन थालेको स्थानीयवासी बताउँछन् । त्यो बेला तत्कालीन प्रज्ञा पण्डित गङ्गाधर घिमिरेलगायत स्थानीयवासीले यस बारेमा जानकारी गराएपछि ‘यो दैवीशक्ति हो र यसको संरक्षणका लागि केही काम गर्नुपर्छ’ भनेर संरक्षणको काम शुरु गरिएको व्यवस्थापन समितिका अध्यक्ष मगर बताउनुहुन्छ ।
“घण्ट हल्लने कुरा वास्तविक हो, यो हल्ला होइन । मन्दिरमा पञ्चबलि लिएर आएको समयमा घण्ट हल्लन्छ,” उहाँले भन्नुभयो – “किनकि त्यो बेला देवी खुशी हुनुहुन्छ ।” आफूले समेत दुई पटकसम्म पञ्चबलि दिएको र त्यो बेला प्रत्यक्ष रुपमा घण्ट हल्लिएको देखेको मगरले बताउनुभयो ।
मन्दिरमा नौ वर्षदेखि पूजारीको रुपमा कार्यरत टोपबहादुर सारुले देवीको शक्तिका कारण मन्दिरमा रहेका घण्ट आफैं हल्लिने गरेको बताउनुभयो । उहाँका अनुसार मन्दिरमा दैनिक ५०÷६० जना भक्तजन पूजाआजाका लागि आउने गरेका छन् ।
केही दिनअघि मात्रै मन्दिरको अवलोकन लागि पुग्नुभएका जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले विशिष्ट प्रकृतिको यस मन्दिरको प्रचारप्रसार र विकासका लागि स्थानीयवासी सक्रिय भएर लाग्नुपर्ने सुझाव दिनुभएको थियो । विसं २०५५ सालमा मन्दिरमा योगी नरहरिनाथले ८५ औें कोटी होम लगाउनुभएको थियो । यस क्षेत्रमा धार्मिक शक्ति भएको कारण नरहरिनाथले यहाँ कोटीहोम लगाएको स्थानीयवासी बताउँछन् ।
जीर्ण अवस्थामा रहेको मन्दिरको पुनःनिर्माण शुरु भएको छ । समितिको आन्तरिक कोषको रकमबाट जेठ १८ गतेदेखि मन्दिरको पुनःनिर्माणको काम शुरु गरिएको छ । रु ६३ लाख ५० हजारको लागतमा शुरु भएको पुनःनिर्माणको काम आगामी कात्तिकसम्ममा सम्पन्न हुने निर्माण समितिका संयोजक रामभक्त घिमिरेले जानकारी दिनुभयो ।
मन्दिर पुनःनिर्माणका लागि भनेर समितिले केही समय अगाडि महायज्ञको आयोजना गरेको थियो । उक्त महायज्ञमा करीब रु एक करोड दान सङ्कलन भएको थियो । मन्दिर व्यवस्थापन समितिले मन्दिरको डिपिआर तयार गरी भजनकीर्तन भवन, पाटीहरु गोलाकार शैलीमा निर्माण गर्ने योजना बनाएको छ ।
अकला मन्दिरको बाहिर पुरानो आदिकालदेखिको सिंह र नन्दिनी अर्थात् साढेको स्तम्भ छ । उक्त प्रतिमा निकै पुरानो रहेको अनुमान लगाइन्छ । मन्दिर नजिकै पञ्चबलि दिने स्थान र हवनकुण्ड पनि छ । अकलादेवी मन्दिरको दक्षिण पश्चिममा रुद्रदेवीको मन्दिर छ । अकलादेवी र रुद्रदेवीको महिमा गानका लागि वर्षमा चार वटा रुद्री लगाउने गरिन्छ । यस ठाउँमा हरेक वर्ष वैशाख, साउन, कात्तिक र माघमा रुद्री लगाउने प्रचलन रहिआएको छ ।
July 28, 2019 1:12 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला