Wednesday 24th April 2024

देउवाले सानो मन्त्रिमण्डल बनाउने, भोलि शपथ

3 years अगाडी

May be an image of 4 people, people sitting and people standingनेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भोलि सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन् । सर्वोच्चको फैसला लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकपछि प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले प्रारम्भमा सानो मन्त्रीमण्डल गठन गर्ने र दलहरुकोबीचमा सहमति र सहकार्यलाई अगाडि बढाउँदै लैजाने विषयमा छलफल भएको जानकारी दिए ।
सोमबार विपक्षी गठबन्धनको बैठक बसिरहेका बेला शीतल निवासबाट भोलि मंगलबार सपथ ग्रहणका लागि खबर आएको काँग्रेस नेताहरुले बैठकमा जानकारी गराएका थिए । त्यसपछि नेताहरुले सरकार कस्तो बनाउने भन्नेबारे छलफल गरेका थिए ।
काँग्रेस नेता खाँणले बैठकमा संविधान, लोकतन्त्र र संसद्को रक्षाका लागि सर्वोच्चले गरेको आदेश ऐतिहासिक भएको भन्दै स्वागत गरिएको र यसमा सहयोग पुर्याउनेलाई धन्यवाद पनि दिएको बताए । त्यसैगरी पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने र सबै दलहरू मिलेर अघि बढ्ने बारे छलफल भएको बताए । उनले भने, ‘सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभाको पुनर्वहाली पनि गरेको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश पनि जारी गरेको छ । सर्वोच्च अदालतले ऐतिहासिक र महत्त्वपूर्ण फैसला गरेको छ । त्यस कारणले हामी पाँचै दलले सर्वोच्च अदालतलाई हार्दिक धन्यवाद पनि दिएका छौं ।’
खाँणले अगाडि भने, ‘यो निर्णय स्वागतयोग्य छ । यसले संविधानको रक्षा, लोकतान्त्रिक मूल्य मान्यता, र राष्ट्रियता र नागरिकको हक अधिकारलाई पनि यसले सुदृढ गराउने काम गरेको छ । ट्र्याक बाहिर गएको लोकतान्त्रिक मूल्यमान्यता माथि प्रहार भएकोमा अहिले ट्र्याकमा आएको छ । सरकार निर्माण गर्ने कुरामा, प्रारम्भमा सानो मन्त्रिमण्डल गठन गर्ने र दलहरुकोबीचमा सहमति र सहकार्यलाई अगाडि बढाउँदै लैजाने र मिलेरै सरकार बनाउनुपर्ने र मिलेरै सरकार चलाउनुपर्ने अहिलेको सान्दर्भिकताका बारेमा छलफल भएको छ । सरकारमा जाने हकमा सानो आकारको मन्त्रिमण्डल बन्छ र भोलि बिहान फेरि पार्टीका शीर्ष नेताहरू बैठक बस्नुहुनेछ ।’
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले बैठकमा दलीय प्रणालीका आधारमा सहमति र सहकार्य गर्दै संविधानले मार्गचित्र गरे अनुसार अगाडि बढ्ने बारेमा छलफल भएको बताए । लोकतन्त्रको रक्षा, संविधानको रक्षा, गणतन्त्र र नागरिक अधिकारको रक्षाका लागि आएको फैसलाको स्वागत गर्दै सबैलाई आभार प्रकट गरिएको बताए । सरकार गठन एकलौटी ढङ्गले नचलाइ सबै राजनीतिक दलहरूसँग सल्लाह गरेर फराकिलो ढङ्गले सरकार बनाई एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भन्नेमा नै सबैले जोड दिएको बताए ।
नेता नेपाल पक्षका नेता रघुजी पन्तले सर्वोच्चको आदेश सँगै नयाँ परिस्थिति सृजना भएको भन्दै परिवर्तित अवस्था बुझ्न नेताहरूलाई आग्रह गरेको जानकारी दिए । एकलौटी र एकपक्षीय ढङ्गले चल्ने कुराको सधैँ विपक्षमा रहँदै आएको भन्दै सबैलाई समेटेर अगाडि बढ्न र एकलौटी ढङ्गले नचल्न आग्रह गरेको जानकारी दिए ।
उनले भने “एकलौटी ढङ्गले नचल्नुहोस् । हाम्रो पार्टी नेकपा एमाले लगायत सबै राजनीतिक दलहरूसँग सरसल्लाह गरेर, उनीहरूलाई पनि साथमा लिएर अलि फराकिलो ढङ्गले सरकार बनाउने प्रयत्न गर्नुहोस् । लोकतन्त्र, गणतन्त्र संविधान र सङ्घीयताको रक्षाका लागि दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता अहिले पनि छ । गठबन्धनमा हाम्रो निरन्तरता नरहन सक्छ । पहिला पार्टीलाई एकताबद्ध बनाउँछौ र त्यसपछि सिङ्गो मुलुकको राजनीतिमा । गठबन्धनलाई पार्टीले अलपत्र पारेको छैन । हस्ताक्षर फिर्ता नलिने कुरा सर्वोच्च अदालतको फैसला नहुन्जेल सम्मका लागि मात्रै हो । अब पार्टीले जे भन्छ त्यही गर्छौँ । सिङ्गो एमालेलाई एकताबद्ध बनाउने हाम्रो प्रयास हो । ”
जनता समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईले सर्वोच्चले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई सही बाटोमा ल्याउने काम गरेको बताए । उनले देउवाको नेतृत्वमा सरकार बनाउन लागि पर्ने र गठबन्धनको सरकारलाई प्रभावकारी कसरी बनाउने भन्नेबारेमा पनि तयारी गरेर सहमति कायम गरि अघि बढ्ने बारे गठबन्धनमा छलफल भएको बताए ।
विपक्षी गठबन्धनले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक र महत्त्वपूर्ण फैसला भएको भन्दै सर्वोच्च अदालतलाई धन्यवाद दिएको छ । कोटेश्वर​मा बसेको ५ दलीय विपक्षी गठबन्धनको बैठकले लोकतन्त्र, संविधान र संसद्को रक्षा गर्ने सवालमा अदालतको फैसला ऐतिहासिक र महत्त्वपूर्ण भएको भन्दै स्वागत गरेको छ । फैसलाले संविधानको रक्षा गरेकाले अदालतको ऐतिहासिक निर्णय सबै नागरिकको विजय भएको निष्कर्ष पनि गठबन्धनले निकालेको छ ।
याे पनि एमालेसहितको सरकार बनाउन देउवालाई माधव नेपालको सुझाव।
साभार रातो पाटी
          July 13, 2021 9:29 am | टप,राजनीति,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...