Sunday 19th May 2024

जागिरकाे लागि भन्दै फारम भराएर पैसा असुल्ने तर जागिर नदिने ९ जना पक्राउ, सचेत रहन आग्रह

2 years अगाडी

काठमाण्डाै – जागिर दिने भन्दै विज्ञापन खुलाउने, फारम शुल्क र जब ग्यारेन्टी शुल्क लिएर नागरिकलाई ठग्ने नौ जना काठमाण्डौबाट पक्राउ परेका छन् ।

काठमाण्डौका विभिन्न ठाउँमा जब सेन्टर खाेलेर जागिर दिने भन्दै विभिन्न सञ्चारमाध्यममा विज्ञापन दिने, आवेदकहरूबाट पाँच सय रुपैयाँसम्म फारम शुल्क लिने र ६ हजार रुपैयाँसम्म जब ग्यारेन्टी शुल्क लिनेहरू पक्राउ परेका महानगरीय अपराध महाशाखाले जनाएको छ ।

नयाँ बानेश्वरको सोसाइटी वेलफेयर म्यानेजमेन्टका सञ्चालक अर्घाखाँचीका अमर पाण्डे र तिलक पाण्डे, बालाजुको जब प्लेसमेन्टका सञ्चालक लमजुङका आनन्द मरहट्ठा, कोटेश्वरको एमएन मल्टिपर्पोसका सञ्चालक सिरहाका विवेक यादव र एबीएस जब ट्रेनिङ सेन्टरका सञ्चालक ओखलढुङ्गाका अश्विन राई पक्राउ परेका छन् । यस्तै कोटेश्वरमा सिन्धु रोजगारी सेवा सञ्चालन गर्ने सिन्धुलीका घनश्याम पहाडी, चावहिलमा प्राश्ना जब इन्टरनेशनल मल्टिप्रपोजका सञ्चालक रौतहटकी सृजना लामिछाने, कोटेश्वरको क्विकमाण्डु एमपी प्राइभेट लिमिटेडका सञ्चालक विराटनगरकी ज्ञानु न्यौपाने र कोटेश्वरमा अनमोल जब मल्टिपल प्राली सञ्चालन गर्ने रौतहटका रामवचनकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले फारम भर्ने व्यक्तिहरूलाई विज्ञापनमा उल्लेखित सर्त बमोजिमको काममा नलगाउने तथा जागिरमा लगाइ हाले पनि तोकिएअनुसार तलब र सुविधा नदिइ केही समयमा नै जागिर छोड्न बाध्य बनाउने गरेको पाइएको अपराध महाशाखाले जनाएको छ ।

यस्तै कुनै एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईँको जागिर पक्का भइसकेको छ भनी अर्को जब सेन्टरमा पठाएर त्यहाँसमेत फारम शुल्क असुल्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा जागिर लगाइदिने प्रलोभनमा ठगी भइरहेको पाइएकाले रोजगारदाता कम्पनीको पृष्ठभूमि अध्ययन गर्न सम्बन्धित सबैमा प्रहरीले अनुरोध पनि गरेको छ ।उज्यालो

          March 8, 2022 2:58 am | अपराध,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...