Wednesday 24th April 2024

हातमा सीप र क्षमता छैन भने भिजिट भिसामा यूएई नआउनुहोस्

2 years अगाडी

पछिल्लो समय यूएई खाडीका देशहरूमा रोजगारीका लागि आकर्षक गन्तव्य मानिन्छ । खाडीका देशहरू मध्येमा यूएईलाई विकासदेखि स्वतन्त्रताको दृष्टिकोणबाट समेत आकर्षक गन्तव्य मानिन्छ ।

यही कारण पनि नेपालीहरूको आकर्षण बढ्दै गएको छ । यहाँ आउन त्यस्तो अप्ठेरो पनि छैन । घुम्न आउनेहरूलाई यूएईले अन्य देशका नागरिक सरह नै भिजिट भिसा नेपाली नागरिकलाई पनि उपलब्ध गराइरहेको छ । यदि आफूसँग दक्षता र क्षमता छ भने काम पाउन पनि त्यति अप्ठेरो छैन ।

तर के भयो भने यूएईले दिने भिजिट भिसाको दुरुपयोग भएको छ । नेपालसहित साउथ एसियाका विपन्न वर्गका मानिसका लागि यो भिसा दुरुपयोग भयो भन्दा फरक पर्दैन । यूएईले दिने भिजिट भिसा भनेको घुम्नका लागि दिने हो ।

नेपाली होस् या अरू कुनै देशको नागरिक उसले यहाँ आएर काम गरोस् भन्ने अभिप्रायले यूएईले भिसा दिँदैन । घुम्नका लागि लिइने भिसामा यूएई आएर काम गर्छु भन्नु हाम्रो नै मूर्खता हो ।  तर भयो के भने भिजिट भिसामा आउने र काम खोज्ने गर्न थालियो ।

कतिपयले त भिजिट भिसामै आएर पनि काम गरेका छन् र काम पाएका पनि छन् । तर जो मानिस दक्ष छ, जोसँग सीप छ उसले हो भिजिट भिसामा आएर काम पाएको भनेको । भिजिटमा आएर काम खोज्नै नहुने भन्ने पनि होइन । यूएई सरकारले पनि यो छुट् दिएको छ ।

आफूसँग सीप र क्षमता छ भने काम खोज्न सकिन्छ ।  तर केही सीप पनि छैन, भाषिक क्षमता पनि छैन भने यहाँ भिजिट भिसामा आएर काम पाउन त्यति सहज छैन ।  नेपालमा एउटा सामान्य रोजगारीमा पनि बिक्न नसकेको मानिसलाई भाषिक कठिनाइहरू हुन सक्छन् ।

तर यति हुँदा हुँदै पनि बुझेर होस् या नबुझी पनि कतिपय व्यक्तिहरू आइरहनुभएको छ । हातमा सीप पनि छैन, काम खोज्ने दरिलो माध्यम पनि छैन र भाषिक क्षमता पनि छैन भने के गर्ने त । यो यस्तो परिस्थितिमा अप्ठेरो पर्छ । बाध्यतामा परेकाहरूलाई म्यानपावर वा एजेण्टले पनि काम पाइन्छ या लगाइदिन्छु भन्न सक्छन् तर उनीहरूको भनाइ सधैँ चासो हुन्छ भन्ने छैन । त्यही कारणले नै यो परिस्थितिको सृजना हुने । त्यस कारण तपाईँ हामी आफैँ सचेत हुन पर्छ ।

यति हुँदा हुँदै पनि तपाईँ दक्ष मानिस हो र तपाईँमा सीप छ, भाषिक समस्या पनि छैन भने यूएईमा आएर हिजो पनि काम खोज्न सक्नुहुन्थ्यो र आज पनि सक्नुहुन्छ ।

कस्तो अवस्थामा भिजिटमा काम खोज्न यूएई नजाने 

हातमा कुनै पनि कामको सीप छैन भने भिजिट भिसामा आएर मैले सजिलै काम पाउँछु भनेर नसोच्नुहोस् । यहाँ पढाइको प्रमाणपत्र भन्दा पनि सीप चल्छ । यसको अर्थ पढाइ चाहिँ चाहिँदैन भनेको हैन तर शिक्षा सँगसँगै सीपलाई पनि मान्यता दिइन्छ । डिग्री नै गरेको छ भने पनि हातमा सीप छैन भने प्रमाणपत्र खोस्टो सरह हुन्छ ।

तपाईँले एसएलसी पास गर्नुभएको छ तर तपाईँको हातमा सीप छ भने तपाईँले अलिक सहज हिसाबले काम पाउन सक्नुहुन्छ । प्राविधिक ज्ञान छ भने पनि काम पाउन सहज छ । जस्तो तपाईँ एउटा कार्पेन्टर हो, इलेक्ट्रिसियन हुनुहुन्छ, इन्जिनियर आदी यस्ता खालका प्राविधिक ज्ञान भएको व्यक्ति हुनुहुन्छ भने अरूको तुलनामा तपाईँलाई काम पाउन सहज हुन्छ । तपाईँको पढाई पनि प्राविधिक हो र सीप पनि छ भने तपाईँलाई अप्ठेरो नपर्न सक्छ ।

तर हैन मसँग स्नातक पढेको प्रमाणपत्र छ भनेर आउनुभयो भने त्यसबाट तपाईँले काम नपाउने सम्भावना हुन्छ । यहाँ आएर कतिपयले काम खोजिदिन प¥यो भन्नुहुन्छ । अनि हामीले तपाईँसँग के सीप छ, के ज्ञान छ भन्दा मैले स्नातक पास गरेको छु भन्नुहुन्छ ।

सीप चाहिँ के छ त भन्दा त्यही पढाइको प्रमाणपत्र मात्र भन्नुहुन्छ । अनि काम पनि कस्तो चाहिएको छ त भन्दा भित्रको कुर्सीतिर बस्ने एसी भएको होस् भन्ने हुन्छ धेरैको चाहना । यसको अर्थ के हो भने हामीमा क्षमताभन्दा बढी अपेक्षा छ । त्यस कारण म चाहिँ के भन्छु भने जोसँग सीप छैन त्यो मानिस काम खोज्नका लागि भिजिट भिसामा नआउनुहोला ।

यूएईले रोजगारी खोज्न दिने नयाँ भिसा

यूएईले आउँदो अक्टोबरदेखि ‘जब सिकर भिसा’ दिने भन्ने कुरा खबरहरूमा आएको छ । त्यसको लागि न्यूनतम आधारभूत कुरा भनेको स्नातक तह पास गरेको हुनु पर्ने र त्यसलाई यहाँको परराष्ट्र मन्त्रालयमा प्रमाणीकरण गर्नु पर्ने भन्ने जस्ता कुराहरू आएको छ । तर धेरै विस्तृतमा बुझ्न पाएका छैनौँ । किनकि यो नियम लागू नभइसकेको हुँदा यूएई सरकारले पनि प्रस्ट रूपमा भनिसकेको छैन ।

यो भिसामा आउन स्नातक पास गर्नु पर्ने आधारभूत नियम भयो तर पढाइ मात्र हुनु नै सर्वेसर्वा होइन फेरि पनि । यसको अर्थ चाहिँ शिक्षा कम भएका र भाषिक समस्या भएकाहरू नआउन भन्ने हो । सँगसँगै तपाईँसँग क्षमता पनि हुनुपर्छ भन्ने हो ।

हामी प्रस्ट हुनु पर्ने कुरा चाहिँ के हो भने नेपालीहरू यूएईमा अलपत्र पर्नुमा यूएई सरकारको कुनै हात छैन । यूएईले भिजिट भिसा काम खोज्नका लागि दिएको होइन । यूएईले यो भिसा अन्य देशका नागरिकलाई जस्तै नेपालीलाई पनि घुम्नका लागि दिएको हो ।

हामी सदैभरि म्यानपावर र दलालहरूले ठगे भन्छौँ । म तिनीहरूलाई मात्र पनि दोष दिन्न । त्यसमा हामी आफैँ पनि दोषी हौँ । हो पहिला पहिला मानिसहरूलाई धेरै जानकारी थिएन, जानकारी लिने भरपर्दो माध्यम पनि थिएन । पासपोर्ट लगेर म्यानपावर र एजेण्टलाई बुझायो उसले जे जे भन्छ त्यही गर्न हामी बाध्य थियौँ । यस्तो हुँदा अप्ठेरोमा पर्ने सम्भावना पनि बढी हुन्थ्यो ।

तर अहिले अवस्था त्यस्तो छैन । अहिले त हामीसँग मोबाइलहरू छ । स्मार्ट फोन छ । जस्तो सुकै ठाउँ भए पनि अहिले सूचना लिन चाहने हो भने हामी सूचनाको पहुँचबाट टाढा छैनौँ । अहिले सबै जनाले मिडिया, पत्रकारदेखि यूएईमै बसोबास गरिरहेका नेपालीले पनि के कृपया भिजिट भिसामा नआउनुहोस् नै भनिरहेका छौँ । बरु दुई चार महिना कुर्नुहोस् तर गैरकानुनी माध्यमबाट नआउनुहोस् ।

श्रम स्वीकृति लिएर कानुनी च्यानलबाटै आउनुहोस् । भिजिटमा आएर काम खोज्न एकदमै गाह्रो छ । तर यति हुँदा हुँदै पनि भिजिट भिसामा आउनेहरूमा सबैभन्दा धेरै पढेलेखेका र जाने बुझेकैहरु देखिन्छन् । प्लस्टु गरेका वा स्नातक गरेकै हुनुहुन्छ ।

यसको मतलब उहाँहरुलाई सूचना जानकारी छैन भन्ने होइन । दुई तीन लाख तिर्न सक्ने, हात हातमा आई फोन हुने, प्लस्टु, ब्याचलर पढेका मानिसहरूलाई ज्ञान नभएर आएर कसैले फसाएको भन्न मात्र पनि मिल्दैन । हामी आफैँ पनि दोषी छौँ ।

अब अहिले त यूएई सरकारले जागिर खोज्न आउनेहरूका लागि सहज बनाइदिने भएको छ । तर यसो भन्दैमा स्नातक गरेको प्रमाणपत्र हुँदैमा यूएईले बेस्सरी काम दिइहाल्छ, स्वागत गरिहाल्छ भन्ने त होइन । तपाईँ रोजगारी खोज्ने भिसामा आउँदैमा यहाँ जागिर पाइहालिन्छ, यूएईले जागिर दिइहाल्छ भन्ने सोच्नुहुन्छ भने फेरि पनि तपाईँको मूर्खता हुन्छ । तपाईँसँग सीप छ भने तपाईँ फस्नुहुन्न ।

पैसा कमाउन बस्नेहरूले त तपाईँलाई फसाउन वा कमाउन हरेक उपायहरू अपनाउन सक्छन् । तर तपाईँ कति फस्ने भन्ने कुरो चाहिँ तपाईँको हातको भयो । तपाईँ सजग हुनुभयो भने दुरुपयोग हुन्न नत्र समस्या उस्तै नै रहन्छ ।

तपाईँ दक्ष हुनुहुन्छ भने विदेशबाट विभिन्न प्रक्रिया अपनाएर श्रमिक ल्याउनुभन्दा यूएईमा आइसकेकाहरूलाई रोजगारी दिन यहाँका रोजगारदातालाई पनि सहज हुन्छ । एउटा श्रमिक ल्याउन रोजगारदाताले  भिसा, टिकटदेखि धेरै प्रक्रिया गर्नुपर्ने हुन्छ ।

जो यहाँ आइसकेको छ भने कम लगानीमा कामदार राख्न सक्छ । यदि दक्ष छ भने रोजगारदाताले भिजिटमा आउनेहरूलाई पहिलो प्राथमिकता दिन्छन् काममा राख्न । म आफैँ पनि सानो व्यवसाय गरिरहेको मान्छे मेरो अनुभव के छ भने मैले यो बीचमा जति पनि स्टाफ राखे उनीहरू सबै भिजिटमा आएका नै हुन् । एक दुई जना मात्र नेपालबाट ल्याएको हो ।

यहाँ आइसकेकाहरूलाई काममा राख्दा मात्र भिसा परिवर्तन गर्दा हुन्छ । त्यस कारण तपाईँ यूएई आउने सोच्दै हुनुहुन्छ भने दक्ष भएर आउनुहोस् ।

अनलाइनमार्फत नै अहिले त धेरै कुराहरू बुझ्न सकिन्छ । त्यस कारण कम्पनी कस्तो हो, . कति नेपाली कार्यरत छन्, तलब कतिको समयमा दिन्छ, सेवा सुविधा कस्तो छन् भन्ने कुरा पहिले नै बुझ्नुहोस् । यहाँ आएपछि पछुताउनुभन्दा पहिला नै बुझ्दा फाइदा हुन्छ । नेपालबाटै पनि यहाँका कम्पनीहरूमा रोजगारीका लागि अप्लाइ गरेर आउन सक्नुहुन्छ ।

तर तपाईँसँग दक्षता छैन भने नआउनुहोस् । यहाँ आएपछि खान बस्न समस्या हुन सक् काम नपाउँदासम्म । त्यस कारण कि त आफ्नो साथीभाइ आफन्त को छन् उनीहरूसँग समन्वय र सल्लाह गरेर आउनुहोस् र उनीहरूको मै केही समय बस्नुहोस् । नत्र होटलमा बस्न र खान पुग्ने पैसा लिएर आउनुको अर्को विकल्प हुँदैन ।

आफ्नो रुचिको क्षेत्र पहिचान गर्नुहोस् । जुन क्षेत्रमा आफू काम गर्न जाने हो त्यससँग सम्बन्धित सीप चाहिँ सिक्नुहोस् । जस्तो तपाईँ होटलका लागि आउन लाग्नुभएको हो भने तालिम लिनुहोस् । विषयको सामान्य ज्ञाता भएर आउन मेरो तपाईँहरूलाई सुझाव छ ।

नआउनुहोस्, विदेश आउन हुन्न म भन्दिन । खोक्रो आदर्शले मात्र पनि घरको चुलो बल्दैन र जीवन चल्दैन । अहिलेको युगमा हामी जहाँ गएर पनि आफ्नो क्षमता अनुसारको काम गर्न सक्छौँ । तर तपाईँ दक्ष भएर आउनुहोस् । उज्यालो

(व्यवसायी जे सागरसँग कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित । )

          September 15, 2022 5:11 pm | बेरोजगार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...